काठमाडौं- बससेवा ट्राभल एण्ड टुर प्रालि अन्तर्गतका सेवाग्राहीहरूले आफूले प्रयोग गरेको यात्राको सेवा शूल्क अबदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ।
बससेवा ट्राभल एण्ड टुरमार्फत सम्पर्कमा आएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’ बाट सेवा शूल्क संकलन तथा भुक्तान गर्न सक्नेछन्। यस व्यवस्थासँगै नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दशैँमा आवतजावत गर्ने यात्रुहरुलाई सहज हुने विश्वास राखिएको छ।
सम्झौता पत्रमा ‘आइएमई पे’का तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र बससेवा ट्राभल एण्ड टुरका तर्फबाट अध्यक्ष पर्शुराम खनालले हस्ताक्षर गरेका छन्।
तेहृ हजारभन्दाबढी एजेण्ट आउटलेट संजाल भएको आइएमई पे आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो। नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२” बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ।
आईएमई डिजिटलले “आईएमई पे” ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्। यसले व्यक्ति-व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ।
आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिंङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४