काठमाडौं–उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले प्रतिकिलो चिनीको मूल्य ७० रुपैयाँ तोक्ने निर्णयको तयारी गरिरहँदा यता सार्वजनिक लेखा समितिले ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएको छ।
सर्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकले सरकार र चिनी उद्योगीहरुसँगको सम्झौतामा चिनी प्रतिकिलो ६३ रुपैयाँमा बिक्री गर्ने भएको भन्दै सोही मूल्य कायम गर्न सरकारलाई निर्देशन दिएको छ। बैठकले गरेको निर्णय समितिका सभापति भरतकुमार शाहले पढेर सुनाएका थिए ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालका मन्त्री, सचिव लगायतको वैठकबाट चिनीको मूल्य ७० रुपैयाँ निर्धारण गरिएको भन्दै आलोचना समेत गरिएको थियो ।
चिनी उद्योगीहरुसँग चिनीको आयातमा परिमाणात्मक बन्देज लगाइरहँदा चिनी उद्योगीहरुले ६३ रुपैयाँमा उपभोक्तालाई उपलब्ध गराउने सम्झौता गरेको सांसदहरुको भनाइ छ। त्यसैले सोही मूल्य कामय गर्न पर्ने बैठकले ठहर गरेको छ ।
चिनी किलाेमा सय रुपैयाँसम्म पुग्याे
बजारमा चिनीको मूल्य छोइनसक्ने गरी बढेको सांसद पार्वती कँडेलले बताइन् । उनकाअनुसार बजारमा चिनीको मूल्य प्रतिकिलो सय रुपैयाँसम्म पुगेको छ । ‘राजधानीमै चिनीको मूल्य ८८ रुपैयाँसम्म पुगेको छ,’ उनले भने ‘सुर्खेतमा ९० र दैलेखमा एक केजी चिनीको मूल्य सय रुपैयाँसम्म पुगेको छ ।’
बजारमा चिनीको मूल्य सय रुपैयाँसम्म पुग्दा मन्त्रालयले भने प्रतिकिलो ७० रुपैयाँ तोक्ने निर्णयको तयारी गरेकोप्रति सांसदहरुले आलोजना गरेका थिए । मन्त्रालयका प्रवक्ता नवराज ढकालले मन्त्रालयले आधिकारीक रुपमा चिनीको मूल्य तोकिनसकेको नेपालसमयलाई जानकारी गराए । ‘चिनी प्रतिकिलो ७० रुपैयाँ कायम गर्र्ने सम्बन्धमा छलफ भएता पनि निर्णय भने भइसकेको छैन,’ उनले भने ‘निर्णय आउन बाँकी नै छ ।’
प्रतिकिलो ६५/७० रुपैयाँ पर्ने गरेको चिनी पछिल्लो समय एकाएक आकाशिएपछि चौतर्फी विरोध भइरहेको छ ।
दशैंको मुखमा मुख्य गरी चिनी लगायत दैनिक अत्यावश्यक उपभोग्य वस्तु तथा सामाग्रीहरुको मूल्य वृद्धि पत्ता लगाउन सार्वजनिक लेखा समितिले बिहीबार उपसमिति समेत बनाएको छ ।
सांसद लेखराज भट्टको संयोजकत्वमा वनेको उक्त उपसमितिमा पाँच जना सदस्य छन् । सांसद प्रेमबहादुर आले, चन्दा चौधरी लगायत सदस्य रहेको उक्त समितिले अगामी ७ दिनभित्र मूल्य वृद्धिको कारण छानविन गरि समितिमा प्रतिवेदन पेश गर्ने भएको निर्णय भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४