झापा- परिवर्तन थिएटरले असोज २० देखि २८ सम्म ‘खदामा’ नामक नाटक मञ्चन गर्ने भएको छ।
अरबमा काम गर्ने नेपाली घरेलु महिलाको दुःखको कथा हो, उक्त नाटक। त्यसमा हजारौं नेपाली महिला कामदारहरूको कथा समेटिएको छ। वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक पुगेका महिला कामदारहरू दलाल र मालिकहरूबाट कसरी शोषणमा पर्छन् भन्ने विषय नाटकमा समेटिएको छ।
उक्त नाटक पत्रकार पर्वत पोर्तेलले लेखेका हुन्। निर्देशन भने युवा रंगकर्मी गणेश बस्नेतले गरेका छन्। नाटकमा निर्देशक बस्नेतसहित अनुजा अधिकारी, कविता नेपाल, लीला बिष्ट, दिनेश राजवंशी, पूजा आचार्य, लोमश पौडेल, विमला चिमरिया, दिवेश लामिछाने, अभिशेष गड्तौला र प्रतीक्षा आचार्यको अभिनय रहनेछ।
संस्थाका अध्यक्ष कविता नेपालका अनुसार करिब एक घण्टा लामो यो नाटक दैनिक २ वटा सो देखाइनेछ। सीमावर्ती शहरमा नाटक हेर्ने संस्कार र संस्कृतिको अभाव लामो समयदेखि खड्किएको थियो। त्यही खाँचोलाई पूर्ति गर्ने उद्देश्यले परिवर्तन थिएटर जन्मिएको हो। ‘नाटक हेर्ने संस्कारको विकास गर्ने हाम्रो उद्देश्य हो,’ अध्यक्ष नेपालले भनिन्।
परिवर्तनले विगत सात महिनादेखि अस्थायी नाटक घर निर्माण गरेर नाटक हेर्ने संस्कार शुरु गरेको छ। यो अवधिमा सुनामी, राजाको नयाँ लुगा, उन्यू, बस स्टपजस्ता नाटकहरू प्रदर्शन भइसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४