मंगलबार, असार ४, २०८१

नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर संघर्ष

मजदुर आन्दोलनले नेपालमा खास अर्थ राखेको छ। यो आन्दोलन सुरु नभएको भए राणाशासन ढाल्न निकै गाह्रो कुरा थियो। त्यो बेला गिरिजाप्रसाद कोइरालासित निकट रहेर मजदुर आन्दोलनमा सहभागी भएका स्वतन्त्रता सेनानी भीमराज नौलखाले 'कालापानी माथिको विजय' नामक पुस्तकमा लेखेका छन्।
 |  शनिबार, फागुन ६, २०७९

शंकर खरेल

शंकर खरेल

शनिबार, फागुन ६, २०७९

विराटनगर- राणाशासनको बेलामा सिन्धुली दुम्जाका कालिदास कोइराला काठमाडौँमा सुब्बा थिए। एक घटनामा सत्यको पक्ष लिँदै गरेको फैसलाको प्रत्यक्ष असर राणाशासकलाई नै पर्‍यो।

triton college

कालिदासले जे फैसला गरेका थिए, त्यसको असर श्री ३ महाराजधिराज निकट एक व्यक्तिलाई परेछ। कालिदासविरुद्ध झोसपोल लगाइयो र उनलाई दरबार झिकाइयो। कालिदासले कानुनअनुसार फैसला गरेको बताए। 

तत्कालीन श्री ३ महाराजले कानुन देखाउँदै भनेछन्, 'मुर्ख ब्राह्मण, तिमीले जुन कानुन टेकेर फैसला गर्यौं त्यसमा त पहिल्यै हरिताल लागेको छ।' दिउँसै रात पार्न खोजेपछि कालिदासले केही बोल्न सकेनन्। उनलाई भनियो, 'तिमी ब्राह्मण भएर मात्र हाम्रा अगाडि उभिन पाएका छौ, यही फैसला अरूले गरेको भए फाँसीको सजाय हुने थियो।'

फगत राणाशासकले कालिदासलाई कालापानी भनिएको मोरङ रङ्गेली सरुवा गर्‍यो। त्यो बेला रङ्गेली र हरैंचा आर्थिक केन्द्र थिए। कालिदास कोइरालालाई रङ्गेली नजान परिवारभित्रबाट दबाब थियो तर उनी भने यहाँ आउन चाहन्थे। 

कालापानी अर्थात् कालज्वरको भय भएकाले पनि परिवारबाट स्वीकृत थिएन। तर, कालिदास कुनै पनि हालतमा सङ्घर्षको मैदानबाट भाग्न चाहेनन्। 

corrent noodles
Metro Mart

अन्ततः कालिदास रङ्गेली पुगे। रङ्गेली त्यो बेला आर्थिक रुपले गुलजार थियो। सिमान्त नाकामा भएकाले आर्थिक कारोबार धेरै हुन्थ्यो। विराटनगरको जग बसिसकेको थिएन। 

कालिदास रङ्गेली आफूमात्र गएनन् साथमा लगे भाइ कृष्णप्रसाद कोइरालालाई। कालिदास रङ्गेली पुगेर काम गर्न थाले र कृष्णप्रसाद कोइराला भने यहाँ बसेर के गर्न सकिन्छ भन्नेतर्फ लागे। यो १९औँ शताब्दीको ५० र ६० को दशकको कुरा हो।

त्यो बेलामा दुई सम्भावना थिए। एक–सनपाटको व्यापार अर्को भन्सार ठेक्का। भारतको राजस्थानबाट छिटपुट रुपमा मारवाडी व्यापारी यहाँ आएर सनपाटको व्यापार गर्थे। 

कालज्वरका कारण मानव बस्ती पातलो थियो। दिनभर आयो काम गर्‍यो अनि फारविसगञ्ज जाने दैनिकी थियो। थारू, राजवंशीलगायत आदिवासीको मात्र बसोबास थियो ऊ बेला। घनाहा जङ्गलले ढाकिएको थियो विराटनगर नै पनि। मोरङलाई जङ्गलको खानी भनिन्थ्यो।

खास गरेर भारत र बङ्गलादेशतर्फ कच्चा जुटको व्यापार धेरै नै मौलाएको थियो। १९औँ शताब्दीको ९० को दशकमा विराटनगर जुट मिल्स स्थापना भइसकेको थियो र यो जुट मिल्सले त्यो बेला किसान मात्र होइन, मजदुरलाई पनि काम दिएको थियो।

सनपाट (जुट) को सामान्य व्यापार गर्दै कृष्णप्रसाद कोइरालाले भन्सारको ठेक्का लिइसकेका थिए। आधुनिक समाजको जग सुरु भएको त्यो बेलामा रेडियो, सिगरेट, घडीलगायतका वस्तुप्रति आम सर्वसाधारणको चासो थियो। रेडियो खरिद गर्दा लाइसेन्स लिनु पर्दथ्यो। साइकल चलाउँदा गाउँ पञ्चायत, जिल्ला पञ्चायतबाट स्वीकृत पत्र लिनुपर्ने प्रावधान थियो। 

कृष्णप्रसाद कोइरालाले छोटो समयमै मनग्ये आर्जन गरे र उनमा पनि बिस्तारै विद्रोह पैदा भयो। कालिदास पछि सरुवा भएर काठमाडौँ जाने बेला भयो, कृष्णप्रसाद भने मोरङमै रम्न चाहे। उनी गएनन्। उनी यहाँबाट नजानु पनि प्रजातन्त्रको जग स्थापित हुनु थियो। कृष्णप्रसाद कोइरालाले राणाशासकलाई गिज्याउँदै पठाएको धुत्रो कपडाको पार्सलले पनि प्रजातान्त्रिक आन्दोलनलाई अर्कै मोडतर्फ लग्यो।

प्रजातान्त्रिक आन्दोलनको जग यहीँबाट सुरु भयो। कृष्णप्रसादका छोरा मातृका, विपी, केशवप्रसाद, तारिणी, गिरिजाप्रसाद कोइरालाहरू समाजका विभिन्न क्षेत्रमा काम गर्न थालिसकेका थिए। विपी कोइराला बनारस गएर पढिरहेका थिए। विराटनगरमै पनि कृष्णप्रसाद कोइरालाले आदर्श स्कुल, अन्य उद्योग कारखाना, काली मन्दिर, कोसी अस्पतालजस्ता विकासका पूर्वाधार तयार गर्न थालिसकेका थिए।

मूलतः विराटनगर जुट मिल्सको स्थापना र यहाँ भएको मजदुर आन्दोलनबाटै प्रजातन्त्रको आधार खडा भयो। विसं २००३ मा सुरु भएको मजदुर आन्दोलनले मजदुरको हक र अधिकार मात्र अघि बढाएनन् प्रजातन्त्रको माग पनि गर्न थाल्यो। राणाशासन ढाल्ने रणनीति पनि बनाउन थाल्यो। मजदुर आन्दोलनकै बलमा राणाशासनको अन्त्य हुने आधार खडा भयो।

मजदुर आन्दोलनको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए। हक्की स्वभावका कोइराला मजदुरी नै गर्थे। मजदुरी एक बहाना थियो, परिवारको समुन्नत आर्थिक अवस्थाका कारण उनलाई मजदुरी गर्नु पर्थेन तर, उनले यसलाई भरपुर प्रयोग गरे। मजदुर आन्दोलनलाई अघि मात्र बढाएनन् ट्रेड युनियन आन्दोलनको सूत्रपात पनि गरे। मजदुर आन्दोलनकै बलमा नेपाल ट्रेड युनियन कांग्रेस स्थापना भयो।

त्यो समय २००३ तिर आम जनमानसलाई प्रजातन्त्रको आन्दोलनमा होम्नु सहज थिएन। सोझोपन, सरलपनको समाज थियो। श्री ३ महाराजालाई त्यो बेला शक्तिका रुपमा हेरिएको थियो र, हम्मेसी कसैले प्रतिकार गर्ने अवस्था थिएन। गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीहरूले यो कुरा राम्ररी बुझेका थिए। उनीहरूले मजदुरमार्फत आन्दोलन अघि बढाएर पहिले मजदुरको समस्या अघि सार्ने अनि प्रजातन्त्र ल्याउने परिकल्पना गरेका थिए।

मजदुर आन्दोलनले नेपालमा खास अर्थ राखेको छ। यो आन्दोलन सुरु नभएको भए राणाशासन ढाल्न निकै गाह्रो कुरा थियो। त्यो बेला गिरिजाप्रसाद कोइरालासित निकट रहेर मजदुर आन्दोलनमा सहभागी भएका स्वतन्त्रता सेनानी भीमराज नौलखाले 'कालापानी माथिको विजय' नामक पुस्तकमा लेखेका छन्, 'कृष्णप्रसाद कोइरालालाई तत्कालीन राणाशासकले बन्दी बनाइसकेको थियो, प्रजातन्त्रको आवाज दबाउन हरप्रकारको प्रयत्न गरिएका थिए, विराटनगरमा रहेको बडाहाकिमको कार्यालयले निरन्तर प्रजातन्त्रवादीलाई पक्राउ गर्ने, मार्ने, देश निकाला गर्ने गरिरहेको थियो। यस्तोमा गिरिजाप्रसाद कोइरालाहरू अडिग भएर निरन्तर लाग्नुभयो, यातना, दबाब, धम्कीको प्रवाह नगरीकन आन्दोलनमा होमिनुभयो, अन्ततः मजदुर आन्दोलन दबाउन नसकिने रहेछ भन्ने लाग्यो र, केही बुँदामा सम्झौता भयो, सम्झौता भएपछि प्रजातन्त्रवादी झनै उत्साहित भए, मजदुरको समस्या थाती राखेर अनि सुरु भयो प्रजातन्त्रको माग, बन्दी रिहाइको आवाज उठ्यो, यसका लागि कोइराला निवास र निवास निकट रहेका धेरै युवाले कठोर मेहनत गरेका थिए।'

मजदुर आन्दोलनलाई अघि बढाउन मजदुर मात्र सहभागी थिएनन्। भारतबाट व्यापार गर्न आएका जुट, चामल, खाद्यान्न व्यापारीले पनि सहयोग गरे। विभिन्न विचारधारा भएका सबै एक ठाउँमा गोलबद्ध भएका थिए। विराटनगर जुट मिल्स १९औँ शताब्दीको ९० को दशकमा स्थापना गर्दा राणाशासक हच्किएको थियो। उद्योग खोल्दा अधिकारको कुरा आउँछ, आम सर्वसाधारण गोलबद्ध भएर शासकलाई प्रहार गर्न सक्छन् भनेर रोक्ने प्रयत्न पनि भएको थियो। सिकार खेल्न हरैंचा आएको बेलामा तत्कालीन श्री ३ महाराजलाई गएर बिन्ती गरिएको थियो–यो उद्योगले नेपालको अर्थतन्त्र माथि उठाउनेछ।

उद्योग खोल्ने पक्षले त्यो बेलामा आकर्षक 'प्याकेज' राणाशासकलाई नदिएको भए उनीहरू तयार हुन्थेनन्। राणाशासक पक्षलाई त्यो बेला ५१ प्रतिशत शेयर दिइएको थियो। केही भारतीय व्यापारीहरूले अरू हिस्सा लिएका थिए। आफूहरूमाथि परेको खुसीमा राणा प्रधानमन्त्रीले 'ओके' गरेका हुन्।

नेपालको मजदुर आन्दोलनको महत्व त्यसै फरक र बेग्लै भएको होइन। यो एक सामान्य आन्दोलन मात्र थिएन। विपी कोइरालाले भनेका छन्, 'हामीले पहिले न्यूनतम मजदुरका आन्दोलनका कुरा गर्‍यौं, पछि शासक झुकेपछि प्रजातन्त्रको अधिकारको कुरा उठाएका हौँ, हामीले धेरै रणनीति बनाएर मजदुर आन्दोलन सुरु गरेका थियौँ र यसैका बलमा हामी राणाशासन अन्त्य गर्न पनि सफल भयौँ।'

आज सिमान्त रानीमा रहेको त्यो जुट मिल्स रुग्ण भएको छ। अवशेष मात्र बाँकी छन्। देशलाई यो आन्दोलनले अधिकार दियो तर अधिकार पाएपछि त्यो इतिहासको जगेर्ना गर्न सकिएन।

मजदुर आन्दोलनको इतिहाससित निकट भएका प्रायः सबैको मृत्यु भइसकेको छ तर इतिहास रक्षा, संरक्षण गर्नेतर्फ कसैको ध्यान गएन। सात सालको प्रजातन्त्रको जग खडा गर्ने त्यो आन्दोलनलाई आम रुपमा विर्सने काम भएको छ।

यो केवल एक सामान्य आन्दोलन थिएन। जनताद्वारा जनताका लागि जनताको सरकार बनाउने आन्दोलनको नेतृत्वदायी भूमिकाको सूत्रपात थियो। र पनि हामी यो इतिहासलाई बिर्सन खोज्छौँ, त्यो इतिहासको जगेर्ना गर्न सक्दैनौँ। इतिहासको सम्मान गर्न जानिएन भने भविष्यले पनि इतिहासको सम्मान गर्न सक्दैन। यो कुरालाई अहिलेको पुस्ताले समेत मनन गरेको देखिएन। 

विराटनगर जुट मिल्स र अन्य उद्योग व्यवसायलाई इतिहासको अक्षरमा मात्र सीमित गर्ने प्रयास भएको देखियो। आज त्यो बेलाको धेरै इतिहासको अन्त्य भएको छ। खोजेर पनि कतिपय इतिहास हामीभन्दा धेरै टाढा पुगिसकेका छन्। 

-रासस

प्रकाशित: Feb 18, 2023| 08:53 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...