काठमाडौं-आधी आवाधी एनभीए महिला भलिबल प्रतियोगिताको उपाधिका लागि चितवन टाईगर्स र एपीएफ भिड्ने भएका छन् । त्रिपूरेश्वर स्थित दशरथ रंगशालाको कवर्डहलमा मंगलबार सम्पन्न सेमिफाइनलमा चितवनले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । अर्को सेमिफाइनलमा एपीएफले न्यू डायमण्ड क्लबलाई पराजित गर्यो ।
पहिलो सेमिफाइनल खेलमा चितवनले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो । पहिलो र दोस्रो सेटमा २५-११ र २५-१४ को पराजय भोगेको पुलिसले तेस्रो सेटमा भने चितवनलाई कडा टक्कर दिएको थियो ।
प्रतिष्पर्धात्मक रहेको तेस्रो सेटमा पुलिसले १९-१५ को अग्रता लिएको थियो । तर चितवनले उत्कृष्ट पुनरागमन गर्दै २४-१९ को स्थितीमा खेल उल्टायो । त्यसपछि पुलिसले पुनः सेट पोइन्ट २३ सम्म पुर्याएपनि खेल २५-२३ ले गुमाउन पुग्यो ।
अर्को सेमिफाइनलमा एपीएफले न्यू डायमण्डलाई ३-० कै सेटमा हरायो । यो खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । पहिलो सेटमा २५-२२ को जित निकालेको एपीएफले दोस्रो सेट २६-२४ ले जित्यो । तेस्रो सेटमा २५-२३ को जित निकाल्दै एपीएफले चितवनसँगको भिडन्त पक्का गर्यो ।
भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राखीको एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४