नेपाल र भारतबीचको सीमा जति कमजोर छ, सीमाका दुवै छेउमा बसोबास गर्ने जनताबीचको सम्बन्ध त्योभन्दा कैयौं गुणा बलियो छ। तर यो सम्बन्धको धरातल कमजोर बन्दै गएको छ। यसको कारण खोज्न मैले नेपाल र बिहारको सिमानामा रहेका क्षेत्रहरुको भ्रमण गरें।
नेपाल–भारत सम्बन्धको सबैभन्दा न्यानो केन्द्र बनेको वीरगन्ज र रक्सौलबीचको दूरी अहिले बढ्दै गएको छ। यो सम्बन्ध दिल्ली-काठमाडौंतिर मोडिएको छ। कामबाट फर्किने मजदुरको साइकलमा लादिएका मलका बोरा वीरगन्ज सीमामा कडाइका साथ चेकजाँच भइरहेको भेटिन्छ। तरकारीको झोलामा सुरक्षाकर्मीहरु अफिम खोजिरहेका भेटिन्छन्। साइकलमा सवार दुवैतर्फका मजदुर आफ्नै ठाउँमा एकअर्कासँग अनजान देखिन थालेका छन्।
भनिन्छ, प्रतिकूल परिस्थितिमै प्रेम फस्टाउँछ। बन्देजहरूले मागी विवाहमा गहिरो प्रभाव पारेको छ। तर प्रेम विवाह त प्रतिबन्धकै बीचमा भइरहेको हुन्छ। नेपाल र भारतबीचको रोटी–बेटी सम्बध्न जति आम छ, त्यति नै खास पनि। लेखा दिव्येश्वरी अर्थात् ग्वालियर राजपरिवारका महाराजा जिवाजीराव सिन्धियाकी पत्नी विजयराजे सिन्धिया हुन् वा जम्मू कश्मीरका राजा हरि सिंहका छोरा करण सिंहकी पत्नी यशोराज्य लक्ष्मी वा माधवराव सिन्धियाकी पत्नी नै हुन्। सबैको नेपालसँग सम्बन्ध छ। नेपाल र भारतबीचको हृदयदेखि हृदयको सम्बन्ध (हर्ट टु हर्ट कनेक्सन) भगवानदेखि राजा–सम्राट अनि त्यसपछि मजदुर–किसानसम्म जान्छ।
बिहेपछि नेपाल बस्ने भारतीय छोरी
मधुबनीकी सीतादेवी यादव १५ वर्षकी थिइन् जब उनका बुबाले उनको नेपालको सिरहामा विवाह गरे। त्यतिबेला सीता यादव कक्षा ११ मा पढ्दै थिइन्।
सीताका श्रीमान् चन्द्रकान्त यादव नेपाली कांग्रेसका नेता थिए। सन् २००० मा उनको हत्या भएको भयो।
सीतादेवी अहिले ६६ वर्षकी भइन् र सिरहामा बस्छिन्। श्रीमानको हत्यापछि सीता नेपालको राजनीतिमा आइन् र सांसद हुँदै मन्त्री पनि बनिन्। उनी नेपाली कांग्रेसको कोषाध्यक्षसम्म भइन्।
सीता यादवलाई मैले सोधें, तपाईंको बिहे नेपालमा गर्ने निर्णय किन भयो? सीता भन्छिन्, 'पहिले भारत र नेपाल फरक छ भन्ने कुनै अनुभूति नै थिएन। मेरो माइती र घरको दूरी ६ किलोमिटर मात्र छ। मेरो बुबालाई घर र केटा मन पर्यो। त्यसैले उहाँले बिहे गरिदिने निर्णय गर्नुभयो। बिहे कोसँग गर्ने भनेर कहाँ सोधिन्थ्यो र छोरीलाई ?
सीता थप्छिन्, ‘अब भारत र नेपालमा पनि त्यस्तो अवस्था छैन। अब भारतीय बाबुआमा आफ्नो छोरीको बिहे नेपालमा गर्न चाहँदैनन्। किनकी नागरिकतालाई लिएर हैरानी हुन्छ। जन्ती आउँदा सीमामा रोकतोक हुन्छ। यहाँ विवाह गरेको सात वर्षपछि नागरिकता दिने प्रावधान ल्याइएको छ। मानौं त्यो सात वर्षअघि नै दुर्भाग्यवश केटीको श्रीमानको मृत्यु भयो र उनी पनि आमा भइन् भने के गर्ने?
अहिलेसम्म भारतबाट नेपाल आएका युवतीले अंगीकृत नागरिकता लिने गरेका छन्। अंगीकृत नागरिकलाई वंशजलाई भन्दा कम धेरै अधिकारहरू छन्। नेपालको नयाँ नागरिकता विधेयकको दफा ५ (१) बमोजिम विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेमा सात वर्षसम्म नेपालमा बसेपछि मात्रै नागरिकता पाउने व्यवस्था छ। सात वर्षको अवधिलाई ‘कुलिङ पिरियड’ भनिन्छ। तर, यो विधेयक अहिलेसम्म पारित भएको छैन।
भारतमा पनि नेपाली युवतीले सात वर्षको कुलिङ पिरियडपछि मात्रै नागरिकता पाउने गरेका छन्। तर, नेपाली युवती विवाह गरेर भारत आएमा वैवाहिक सम्बन्धका आधारमा मतदाता नामावलीमा नाम समावेश गरी आधार कार्ड पनि बनाइन्छ। भारतमा धेरै आधारभूत कामहरू आधार कार्डको सहायताले मात्र गरिन्छ।
कुलिङ पिरियडवाला विधेयक पास भएमा भारतीय युवतीले नेपालमा धेरै कठिनाइको सामना गर्नुपर्ने यादवले बताइन्। उनी भन्छिन्, 'नेपालमा जे पनि गर्न नागरिकता चाहिन्छ। आधार कार्डबाट सबै कुरा हुन्छ भन्ने भारतजस्तो होइन। म नेपालको राजनीतिमा एउटा ठाउँमा पुगेकी छु। सांसद, मन्त्रीसम्म भएँ। तर नागरिकता कानुनका कारण प्रदेशको मुख्यमन्त्री बन्न पाउँदिन। राष्ट्रपति बन्न पाउँदिन, प्रधानमन्त्री बन्न पाउँदिन। कहिलेकाहीँ त लाग्छ मैले दोस्रो दर्जाको नागरिकता पाएकी छु।
सीता थप्छिन्, 'मेरो माइती अर्थात् भारतका धेरै मानिसले ममाथि भेदभाव भएको महसुस गर्छन्। म उनीहरूलाई एउटा कुरा भन्न चाहन्छु- यदि भारतमा पनि सोनिया गान्धीलाई प्रधानमन्त्री बन्न दिइएको भए नेपालमा त्यसको सकारात्मक प्रभाव पर्थ्यो। जसले सोनिया गान्धीलाई भारतको प्रधानमन्त्री बन्न दिएनन् उनीहरु नै म नेपालको प्रधानमन्त्री बनुँ भन्ने चाहन्छन्। सोनिया गान्धीलाई अनेक हंगामा गरेर रोकियो। नेपालका सबैले हेरिरहेका छन् यो कुरा। त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ। मानिसहरू मेरो उदाहरण दिँदै भन्छन्- भारतीय चेली नेपालमा यहाँसम्म पुगेका छन्। भारतमा बिहे गरेर गएका नेपाली चेलीचाहिँ कहाँसम्म पुगे त?
भारतबाट नेपालसम्म कसरी आइपुग्छ जन्ती ?
भारतमा बिहे नगरेको नेपालको तराई क्षेत्रमा सायदै कुनै घर होला। नेपालसँग सीमा जोडिएका भारतका सीमावर्ती सहरका हरेकजसो घरमा सुख होस् वा शोक, दुवैतिर महसुस हुन्छ। वीरगन्जलाई नेपालको मुम्बई पनि भनिन्छ। नेपालको ६५ प्रतिशतभन्दा बढी आर्थिक गतिविधि वीरगन्जको सुख्खा बन्दरगाहबाट हुने गरेको छ। वीरगन्ज अवरुद्ध भयो भने सिंगो नेपाल ठप्प हुन्छ।
वीरगन्ज नेपालको दक्षिणी सीमाना सहर हो र यो बिहारको रक्सौलसँग जोडिएको छ। वीरगन्ज र रक्सौलमा एउटा मात्र गेटको फरक छ। यही गेटबाट दुई देशबीच हुने आवतजावतमा नेपालका सुरक्षा बल र भन्सार अधिकारीले निगरानी राख्छन्।
साँझको सात बजेको छ। बिहारको मोतिहारीबाट आएको जन्ती बस यही गेटमा रोकिएको छ। अगाडि बेहुलाको गाडी र पछाडि बिहेको बस छ। २४ वर्षीय दुलहा दीपक गाडीमा बसेका छन् र उनका बुवा राजुप्रसाद भन्सार विभागमा कागजी काम गरिरहेका छन्। जन्ती नेपालको बारा जिल्लाको बरियारपुर जाँदैछ। आधा घण्टा गेटमा रोकिएपछि बल्ल जन्ती अगाडि बढ्छ। सीमाको ब्युरोक्रेसी देखेर राजुप्रसाद अलि रिसाएका देखिन्छन्। उनी भन्छन्, 'अहिले झन् जटिल बन्दै गएको छ। नेपाल जानका लागि हामीले जति प्रक्रिया पूरा गर्नुपर्छ त्यति नेपालीले भारत जान गर्नु पर्दैन। निश्चय पनि भारत र नेपाल दुई छुट्टाछुट्टै देश हुन् तर सीमामा बस्ने जनता त्यसरी सोच्दैनन्।'
मैले बेहुला दीपकलाई सोधें, विदेशमा बिहे गर्दै हुनुहुन्छ कस्तो महसुस भइरहेको छ? दीपक भन्छन्, 'विदेश भन्ने कुरा कहाँ अनुभूति हुन्छ र? यो हाम्रो आफ्नै हो। मेरो घरमा नेपालमा धेरै बिहे भइसकेका छन्। काकाको पनि नेपालमा बिहे भएको छ। भारत-नेपाल एउटै हो। सबै भोजपुरी बोल्छन्, हिन्दी बोल्छन्।'
सीमामा बढ्दो सतर्कता
नीरज पटेल वीरगन्जबाट एक किलोमिटर टाढा रहेको सिर्सिया गाउँका बासिन्दा हुन्। उनकी भान्जी निर्मला पटेलको बिहेको जन्ती बिहारको रक्सौलबाट आउनेवाला छ। नीरज विवाहको तयारीमा व्यस्त छन्। यसका लागि उनले साना–ठूला सबै सामान किनिरहेका छन्।
धेरै ऋण लिनु नपरोस् भनेर उनी सुपथ मूल्यमा सामान खोजिरहेका छन्। यसका सस्तो सामानका लागि सीमापारि रक्सौल जानुपर्छ।
चामल र अन्य अत्यावश्यक वस्तु लिन उनी रक्सौल गए तर नेपाली भन्सार अधिकारीले रोकिदिए। अर्थात् उनले भन्सार तिर्नुपर्ने भयो। भन्सा र तिरेपछि त सामानको मूल्य नेपालमै जति परिहाल्यो नि। भारतबाट सामान ल्याउन नपाएपछि भान्जीको बिहेमा उनलाई डेढ लाख नोक्सान हुने भएको छ।
नीरज भन्छन्, 'भारतसँग हाम्रो सबै सम्बन्ध छ, यताउता आवतजावत भइरहन्छ। हामी तस्कर त होइनौं। हामीले नेपालका सुरक्षाकर्मीलाई घरमा बिहे छ, सामान ल्याउन दिनुस् भनेर अनुरोध गरेका थियौं, तर अनुमति दिएनन्। हामीले विवाहको कार्ड पनि देखायौं। तर भन्सार अधिकारीले अनुमति दिन नमिल्ने जिकिर गरे। हामीले तस्करीका लागि त बनाएका होइनौं विवाहको कार्ड। हामी गरिब छौं। एक-एक रुपैयाँ जम्मा गरेर विवाह गर्नुपर्छ। तर यो कुरा उनीहरुले बुझे पो।
यस्तै समस्याका कारण नेपाल-भारत बिहे कम हुन थालेको नीरजले बताए। यसबारे भन्सारका अधिकारीलाई सोध्दाा उनको जवाफ थियो- सबै सामान भारतबाट ल्याउन छुट दिने हो भने नेपाल कसरी चल्छ? यहाँको अर्थतन्त्र कर र रेमिट्यान्सबाट चल्ने भएकाले कतिपय कुरा चाहेर पनि गर्न नसकिने उनको भनाइ छ।
नेपाल भूपरिवेष्ठित देश हो। यसलाई तीनतिरबाट भारतले घेरेको छ भने उत्तरमा तिब्बत अर्थात् चीन छ। चीनसँग सिमाना भए पनि कनेक्टिभिटी सहज छैन किनभने त्यहाँ अग्ला पहाड र गहिरा खाल्डाहरू छन्। त्यसैले नेपालको निर्भरता भारतसँग बढी छ।
नेपालले आफ्नो कुल व्यापारको ६५ प्रतिशतभन्दा बढी भारतसँग गर्छ। नेपाल र भारतबीच करिब १८ सय किलोमिटर सीमाना छ। जसमध्ये १२५० किलोमिटर भू–सिमाना छ।
विवाहको घट्दो संख्या
नेपालमा भारतबाट वर्षेनी कति विवाह भइरहेका छन् भन्ने तथ्यांक संकलन गर्ने एउटै प्रणाली छैन। तर बिहेको आधारमा नेपालको नागरिकता लिनेहरुबाट एउटा तस्बिर भने आउँछ।
भावेश झा नेपालको सिरहा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत हुन्। उनी वैवाहिक सम्बन्धका आधारमा अंगीकृत नागरिकता जारी गर्छन्। उनका अनुसार २०७४ सालदेखि नेपालका सबै जिल्ला प्रशासन कार्यालयको डाटा कम्प्युटराइज गरिएको छ। त्यसैले ०७४ पछिको तथ्यांक सजिलै उपलब्ध छ। सिरहाको तथ्यांक हेर्ने हो भने ०७४ देखि अहिलेसम्म वैवाहिक सम्बन्धका आधारमा ३ हजार ९१३ भारतीय युवतीले नेपाली नागरिकता लिएका छन्। उनका अनुसार पछिल्लो ६ वर्षको तथ्यांक स्थिर छ जबकि यो बढ्दो क्रममा हुनुपर्ने हो। तथ्यांकमा स्थिर देखिए पनि भारतबाट नेपालमा हुने विवाह घट्दो क्रममा रहेको भावेश बताउँछन्।
भावेश भन्छन्, ‘नेपालको सिरहा होस् वा वीरगन्ज, अथवा बाँकी मैथिली र भोजपुरी क्षेत्र। यहाँ जनसंख्या जति बढेको छ, त्यसको तुलनामा भारतमा हुने विवाह घटेको छ। यी क्षेत्रमा युवाको जनसंख्या अरु उमेर समूहको तुलनामा बढी छ। यसको आधारमा त विवाह पनि बढ्नुपर्ने हो। धनुषा जिल्लामा पनि विगत पाँच वर्षमा वैवाहिक सम्बन्धका आधारमा नागरिकता लिएको तथ्यांक हेर्दा त्यसमा स्पष्ट गिरावट आएको देख्न सकिन्छ।
विजयकान्त कर्ण डेनमार्कका लागि नेपाली पूर्वराजदूत हुन्। उनी काठमाडौंमा ‘सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेडेरेलिज्म आईएसएफ' नामक थिंक ट्यांक चलाउँछन्। उनको संस्थाले गत वर्ष नेपाल र भारतबीचको सीमावर्ती सम्बन्धका बारेमा एउटा शोधपत्र प्रकाशित गरेको थियो। यस अनुसन्धानमा उनले सीमापार विवाहको पनि एउटा अध्याय राखेका थिए।
सीआईएसएफले आफ्नो अनुसन्धानमा भारत र नेपालबीचको विवाह निरन्तर घट्दै गएको देखाएको छ। कर्ण भन्छन्, ‘विवाह घट्दै गएको छ, यो कुरा हामीले व्यक्तिगत रूपमा पनि महसुस गरिरहेका छौं। मेरो बुबाहरु तीन भाइ हुनुहुन्थ्यो। आमालगायत सबै काकीहरु भारतबाटै आउनुभएको हो। मेरा दुई भाइको पनि भारतमा नै बिहे भयो तर अर्को पुस्ताले नेपालमै बिहे गरे। मेरी आमा बिहारको दरभंगाबाट हुनुहुन्थ्यो।
विवाह गरेको ४० वर्षपछि मात्र उहाँले नेपालको नागरिकता पाउनुभयो। पहिले नागरिकता नभए पनि मतदान गर्ने अधिकार थियो, तर नेपाली राष्ट्रवादको नयाँ स्वरुपमा यसलाई खारेज गरिएको छ। तथाकथित उच्च जातिबीचको भारत-नेपाल विवाह लगभग समाप्त भइसकेको छ। ओबीसी, दलित र अल्पसंख्यकहरूबीच विवाह भइरहेका छन्, तर पहिलेको तुलनामा निकै कम।
कर्ण भन्छन्, 'नेपालको समतल क्षेत्रमा धेरै जातजातिहरू छन्, जसको संख्या एकदमै कम छ। यस्तो अवस्थामा केटा वा केटीको खोजीमा उनीहरु यूपी-बिहार जान्छन्। जो सामाजिक र आर्थिक रूपमा धेरै पछि परेका छन्, उनीहरुमा रोटी-बेटी सम्बन्ध बढी छ। सीईआईएसएफले आफ्नो शोधपत्रमा लेखेको छ, 'उच्च जातिकाहरू यूपी-बिहारबाट भारतका अन्य ठूला सहरहरूमा द्रुत रूपमा बसाइँ सरिरहेका छन्। यसका कारण नेपालसँग जोडिएका बिहार र उत्तर प्रदेशका सीमावर्ती क्षेत्रबाट नेपालमा विवाह घट्दै गएको छ।'
विजयकान्त भन्छन्, ‘पहिले नेपाल–भारत सम्बन्ध सिमानाबाट हुन्थ्यो तर अब दिल्ली र काठमाडौंबाट चलिरहेको छ। यसअघि नेपाल–भारत सम्बन्ध रक्सौल र वीरगञ्जसँग, गोरखपुर र बहरावासँग, फर्बिसगञ्ज र विराटनगरसँग थियो। यो सम्बन्ध अहिले दिल्लीमा सरेको छ। ०५० को दशकसम्म त सिमाना पनि देखिँदैनथ्यो। यताबाट धान लग्यो, उताबाट सामान किनेर आयो। वीरगन्जमा मल छैन भने रक्सौलबाट साइकलमा लिएर आयो। तर अब त्यस्तो रहेन। सम्बन्ध अब बजारमा परिणत भएको छ। सीमामा राज्यको उपस्थिति बढ्दै गएपछि प्राकृतिक सम्बन्ध कमजोर हुँदै गएको छ।
सीमामा राज्यको उपस्थिति बढ्नुमा धेरै कारण छन्। नेपालमा माओवादीको ‘जनयुद्ध’ सुरु भएपछि जताततै परिचयपत्र खोजिन थाल्यो।
त्यसपछि हवाई उडानका लागि राहदानी अनिवार्य भयो। सांस्कृतिक सम्बन्ध विवाह र धर्मसँग जोडिन्थ्यो तर अहिले आर्थिक समृद्धिसँग जोडिएको छ। विजयकान्त भन्छन्, 'नेपालको सुरक्षाको अवधारणा पनि परिवर्तन हुन थाल्यो। नेपालको शासक वर्गले मधेसी र भारतलाई सुरक्षा खतराका रूपमा हेर्न थाले। तराईवासीका लागि नागरिकता ठूलो विषय बन्न थाल्यो। पहिलेको नागरिकता कानुनमा नेपाली नजान्नेले नागरिकता नपाउने नियम राखिएको थियो। तराईमा थोरै मानिस थिए जसलाई नेपाली भाषा आउँथ्यो। तराईका मानिस त भोजपुरी, मैथिली, अवधी र हिन्दी बोल्थे।'
तीन किसिमको नागरिकता
सिके राउत मधेस प्रदेशको सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्। उनी नेतृत्वको जनमत पार्टी प्रचण्ड नेतृत्वको सरकारमा पनि संलग्न छ।
राउतका अनुसार नेपालमा तीन प्रकारको नागरिकता छ। एउटा वंशज, दोस्रो जन्मका आधारमा र तेस्रो वैवाहिक सम्बन्धका आधारमा। संविधानले नै नागरिकलाई विभेद गरेको छ। मधेसीलाई खतराका रूपमा हेरेर यो तिकडम गरिएको हो। यस्तो अवस्थामा भारतबाट कुनै युवती बिहे गरेर नेपाल आएमा नागरिकताका लागि लड्नुपर्ने हुन्छ। सबै नागरिक समान हुनुपर्छ, तर संविधानमै विभेदकारी व्यवस्था गरिएको छ।
सीके राउतले बिहारको पूर्णियामा विवाह गरेका छन्। राउत भन्छन्, 'सिमाना एकदमै कडा बनाइएको छ। कुनै केटी आफ्नो माइत जाँदा भारतीय पैसा चाहिन्छ तर पाउँदैनन्। सीमामा मानिसहरू धेरै अपमानजनक कुरा गर्छन्। भारतसँगको सीमा सम्बन्ध कठिन हुँदै गइरहेको छ। नेपालका सुरक्षाकर्मीले भारतबाट सामान ल्याउन दिँदैनन्। अहिले नेपालीहरु भारतमा बिहे गर्न चाहँदैनन्। भारतमा बिहे गर्दा शासक वर्गले पहिचानलाई भारतसँग जोडेर हेर्छन्।
दोस्रो दर्जाको नागरिकता
नेपालका पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मैले सोधें- नेपालमा बिहे गर्ने भारतीय युवतीलाई संविधानमा किन भेदभाव भइरहेको छ? ज्ञवाली भन्छन्, 'हरेक देशको संविधान आ-आफ्नो हिसाबले बनाइएको हुन्छ। प्रधानमन्त्री वा राष्ट्रपति बन्नका लागि कुनै पनि भारतीय युवतीले नेपालमा बिहे गर्लान् भन्ने मलाई लाग्दैन। तर पनि भारतबाट यहाँ बिहे गरेका कतिपय महिला राजनीतिको उच्च स्थानमा पुगेका छन्। तर भारतमा नेपाली महिलाले त्यस्तो कुनै स्थान हासिल गर्न सकेका छैनन्। यसबारे पनि भारतका जनताले सोच्नुपर्छ।'
नेपालमा पहाडी र तराई मूलका नेताहरुको मत नागरिकताका विषयमा विभाजित छ। प्रदीप ज्ञवाली पहाडी नेता भएकाले संविधानमा नागरिकताको प्रावधानको विरोध गर्दैनन्। ज्ञवालीको तर्कबारे पत्रकार तथा विश्लेषक सिके लाल भन्छन्- भारतबाट विवाह गरेर आएकी युवती नेपालको राष्ट्रपति, प्रधानमन्त्री वा अन्य महत्वपूर्ण पदमा पुग्न सक्ने क्षमता राख्छिन् कि राख्दिनन् त्यो बेग्लै कुरा हो। तर त्यो पदमा उनी कहिल्यै पुग्न सक्दिनन् भन्नुचाहिँ उल्टो कुरा भयो। कुरा नागरिक समानताको हो। यहाँ समानता छैन नागरिकमा। समाज त अगाडि बढ्नुपर्ने हो, खुलापन हुँदै जानुपर्ने हो तर नेपाल भने पछाडि गइरहेको छ।
सिके लालले नेपाल र भारतबीच तीन प्रकारको सम्बन्ध रहेको बताए। एउटा रोटीको जुन समाप्त भइसकेको छ। किनभने सहभोजका लागि हुने सीमाना आउजाउ रोकिएको छ। अर्को बेटी अर्थात् छोरीको सम्बन्ध जुन समाप्त हुँदैछ। तेस्रो सम्बन्ध छ जागिर अर्थात् श्रमको जुन अझै बाँकी छ। उनका अनुसार कुनै समय सीमापारका जनताबीचको सम्बन्धमा निकै न्यानोपन थियो तर ९० को दशकपछि बेटीको सम्बन्ध पनि कमजोर हुन थाल्यो। उनी भन्छन्, 'सन् १९८० को दशकसम्म हाम्रो अर्थतन्त्र बराबर थियो। तुलनात्मक रूपमा नेपालको मध्यमवर्ग केही राम्रो थियो। भनिन्छ, बिहारमा कि सुक्खा हुन्छ कि बाढी आउँछ। प्राकृतिक प्रकोप सधैं भइरहन्छ। बिहारका मानिस भन्थे- छोरीले सिमाना पार गरी अर्थात् नेपाल गई भने भोकै बस्नु पर्दैन।
१९९० पछि भारतको अर्थतन्त्रमा खुलापन आयो। बिहारका मानिसहरू बाहिर काम गर्न जान थाले। शिक्षाको दर र दायरा बढ्यो। आर्थिक उदारीकरणपछि भारतीय अभिभावकलाई लाग्यो- अब सLमापारि छोरी दिनु पर्दैन। नेपालको सीमा उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र उत्तराखण्डसँग जोडिएको छ। सीके लाल भन्छन्, ‘नेपालीहरु भारतमा पढ्न जाने गर्थे। पढ्न जाँदा भारतमा रहेका आफन्तले नेपालको कुन केटा पढाइमा राम्रो छ भन्ने थाहा पाउँथे र पढाइसँगै विवाहको कुरा पनि हुन्थ्यो। अब नेपाली विद्यार्थीलाई भारतमा पढ्न सस्तो रहेन।
नेपालीलाई पनि विदेशी विद्यार्थीसरह फि लिन थालियो। यस्तो अवस्थामा भारतमा नेपालबाट जाने विद्यार्थीको सङ्ख्या घट्दै गयो र यसले छोरी र रोटीको सम्बन्धमा पनि प्रत्यक्ष असर गर्यो। अर्को कुरा नेपाल हिन्दू राष्ट्र भएकाले भारतका उच्च जाति आकर्षित थिए। नेपालबाट राजतन्त्र र हिन्दू राष्ट्रको अन्त्य यूपी, बिहार, उत्तराखण्डका उच्च जातिका लागि झट्का नै भयो। यस्तो अवस्थामा नेपालमा छोरी दिनु माथिल्लो जातका लागि अनुकूल रहेन।
नेपालमा माओवादी सशस्त्र विद्रोह सुरु भएपछि बिहारका जनतामा पनि डर पैदा भयो। बिहारले नक्सल आन्दोलन देखेको थियो। यस्तो अवस्थामा छोरीको बिहे नेपालमा गर्न मानिसहरु डराउन थाले। नेपालमा गणतन्त्र आएपछि समस्या अर्कै रुपले देखिन थाल्यो। नयाँ परिस्थितिमा छोरी नेपाल गइन् भने दोस्रो दर्जाको नागरिक हुन्छिन् भन्ने बिहारका जनतालाई लाग्न थाल्यो। नेपालको संविधानको नयाँ प्रावधानमाथि पनि प्रश्न उठेको छ र नागरिकमाथि भेदभाव गरेको आरोप लागेको छ।
भारतसँग नेपालको विकर्षण
पहिले नेपालले सारा विश्वलाई भारतको दृष्टिकोणबाट हेर्ने गर्थ्यो तर अहिले परिस्थिति फेरिएको छ भन्ने धेरै नेपालीको विश्वास छ। अहिले नेपालीहरु विश्वभर पुगेर काम गरिरहेका छन् र यसले भारतसँगको सम्बन्धमा पनि असर गरेको छ।
अर्कोतर्फ दुई देशबीच यस्ता धेरै कुराहरु भएका छन्, जसका कारण आपसी विश्वास टुटेको छ। २०७२ मा मधेसीहरूले नेपालको संविधानविरुद्ध आन्दोलन सुरु गरेका थिए। यो आन्दोलनका क्रममा भारतबाट अघोषित नाकाबन्दी भएको थियो। यसबाट नेपाली जनाले ठूलो सास्ती खेप्नुपरेको थियो।
नेपाल आफ्नो पहिचान र राष्ट्रियताको खोजीमा छ
नेपालको शासक वर्ग आफ्नो पहिचानको खोजीमा छ र यही पहिचानको खोजीमा भारतसँगको छोरी–रोटीको सम्बन्धलाई बाधकको रुपमा हेरिरहेको पनि बताइएको छ। नेपाली कांग्रेसकी नेतृ कञ्चन झा भन्छिन्- नेपालको ५१ प्रतिशत जनसङ्ख्या मधेस क्षेत्रमा बसोबास गरे पनि नेपालका शासक वर्गले यो सिंगो जनसङ्ख्यालाई शंकाको दृष्टिले हेरेको छ। मधेसीलाई भारत परास्त भनिन्छ।
नेपालमा मुख्यतया तीन प्रकारका जातहरू छन्– खस आर्य, जनजाति र मधेसी। खस आर्यमा पहाडका ब्राह्मण र क्षेत्रीय छन्। जनजातिमा शेर्पा, मगर, राई, तामाङ, थारु आदि रहेका छन्। मधेसी भनेको तराईका सबै जातिलाई बुझिन्छ।
कञ्चन झा भन्छिन्, 'दुर्भाग्यवश खस आर्य, जनजाति र मधेसीलाई एकताबद्ध गर्ने कुनै राष्ट्रवादी आन्दोलन अहिलेसम्म हुन सकेको छैन। अहिलेको नेपाली राष्ट्रवादमा एउटै जात खस आर्यको महत्वाकांक्षा पूरा भइरहेको छ। भारतसँगको रोटी–बेटी सम्बन्ध नेपाली राष्ट्रवादका लागि शत्रुजस्तै भएको छ। नेपालको शासक वर्गको राष्ट्रवादमा मधेस र भारत शत्रु हुन्। मधेसविरोधी कहिले भारत विरोधी हुन्छ त्यो पनि थाहा हुँदैन।'
पत्रकार प्रशान्त झाले जुन २९, २०१५ मा हिन्दुस्तान टाइम्समा लेखेका थिए, ‘म नेपाली हुँ र दिल्लीमा बस्छु, यहीँ काम गर्छु। म काठमाडौंमा हुर्किएँ र मेरा आमाबुबा अझै त्यहीँ बस्छन्। नेपालमा के भैरहेको छ नियालिरहेको छु। वर्षमा केही पटक नेपाल जान्छु। मेरो अझै बच्चा छैन। भए पनि नेपाली नागरिक बन्न सक्दैनन्। यो किनभने मैले भारतीय महिलासँग विवाह गरेको छु। नयाँ संविधानअनुसार जसका आमाबुबा नेपाली नागरिक छन् तिनका सन्तानले मात्रै नागरिकता लिन पाउँछन्। कतिपय विश्लेषकलाई लाग्छ- नेपाल र भारतमा बेटी-रोटीको सम्बन्ध कमजोर भएमा नेपालमा भारतको प्रभाव कम हुँदै जान्छ।
नेपालका पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने रोटी-बेटी सम्बन्ध कमजोर हुँदैमा दुई देशबीचको सम्बन्धमा असर पर्ने कुरामा विश्वास गर्दैनन्। ज्ञवाली भन्छन्, ‘कुनै पनि प्रवृत्ति सधैं स्थिर रहँदैन, समयसँगै परिवर्तन आउँछ।
बिदाइको बिहानी
नीरज पटेलकी भान्जी निर्मलाको जन्ती बिहारको रक्सौलबाट वीरगन्ज आइपुगेको छ। जन्ती दुलहीको घरतर्फ बढिरहेको छ। जन्तीहरु लोकप्रिय भोजपुरी गीतमा नाचिरहेका छन्। दुलहा द्वारपूजामा बसेका छन्। गाउँका महिलाहरू गीत गाउँदैछन्। अर्कोतर्फ पुरुषहरू खानाको लाइनमा लागिसकेका छन्। जताततै उत्सवको माहोल छ, हल्लाखल्ला छ। आधा रात बितिसकेको छ। सिमाना सुनसान छ। सुरक्षाकर्मी सुतेका छन्। बिहान हुनेबित्तिकै नेपालकी निर्मला भारतकी बुहारी बनेर बिदा भएकी छन्। यही पल कोही भारतीय छोरी नेपालकी बुहारी बनेर बिदा हुँदै होलिन्।