अहिले नेटो र यूरोपियन युनियन विश्वलाई खतरामा पार्न सक्ने हाइब्रिड युद्धका विषयमा अध्ययन गरिरहेका छन्। यसको खतरा महसुस उनीहरुले गरिसकेका छन्। सोही युद्धको नयाँ तरिका हाइब्रिड युद्धबारे बीबीसीले केही समयअघि मात्रै लडाइँको नयाँ तरिकामा काम गरिरहेको एक केन्द्रको भ्रमण गरेको थियो। उक्त भ्रमण केन्द्रपछि बीबीसीले हाइब्रिड युद्धका सम्बन्धमा लेख प्रकाशन गरेको छ। विश्वलाई हाइब्रिड युद्धको खतरा विषयमा फ्रैंक गार्डनरले लेखेको उक्त लेखको भावानुवाद।
आखिर हाइब्रिड युद्ध भनेको के हो? युरोपियन सेन्टर अफ एक्सिलेन्स फर काउन्टरिङ हाइब्रिड थ्रेट्स (हाइब्रिड सीओई) का निर्देशक तिजा तिलकाइनेन भन्छन्, "हाइब्रिड युद्ध वास्तवमा सूचना स्पेसको हेरफेर हो।" अर्थात् महत्वपूर्ण पूर्वाधारमाथिको आक्रमण हो। चार वर्षअघि हेलसिन्की यो केन्द्र स्थापना भएको थियो।
"हाइब्रिड युद्धको खतरा एकदमै अस्पष्ट छ," तिलिकेनन भन्छन्, "जसकारण जुन देशमा यस्तो आक्रमण हुन्छ, उनीहरूले आफूलाई बचाउन र त्यसको जवाफ दिन निकै कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ,।"
तर हाइब्रिड युद्धको खतराले अहिले वास्तविक रूप लिएको छ, जसका कारण धेरै देशको चिन्ता बढेको छ ।
गत सेप्टेम्बरमा बाल्टिक सागरमा पानीमुनि विस्फोट भयो। जसले नर्ड स्ट्रिम ग्यास पाइपलाइनको प्वाल च्यातियो। डेनमार्क र स्वीडेनको तटबीचको यो पाइपलाइनमा ठूलो क्षति भयो। रुसबाट जर्मनीसम्म ग्यास ढुवानी गर्न यो पाइपलाइन निर्माण गरिएको थियो। विस्फोटपछि रुसले यस विस्फोटमा आफ्नो हात नभएको स्पष्ट पारेको छ। तर पश्चिमी देशहरूले युक्रेनलाई सहयोग गर्ने ग्यास आपूर्ति बन्द गरेर जर्मनीलाई कारवाही गर्न रुसले यो विस्फोट गराएको हुनसक्ने आशंका गरेका छन्।
चुनावमा हस्तक्षेप
हाइब्रिड युद्ध अन्तर्गत चुनावमा पनि हस्तक्षेप गर्न सकिन्छ। सन् २०१६ को अमेरिकी चुनावपछि रुसले त्यहाँको चुनावी प्रक्रियामा लगातार हस्तक्षेप गरेको थियो। हिलारी क्लिन्टनलाई अमेरिकी राष्ट्रपति बन्न नदिन रुसी अभियानले डोनाल्ड ट्रम्पको समर्थनमा यस्तो अभियान चलाएको थियो । यद्यपि रुसले यसलाई अस्वीकार गर्दै आएको छ। पुटिन समर्थक सरकारका साइबर कार्यकर्ताहरूद्वारा नियन्त्रित खाताहरू मार्फत अनलाइन बट (रोबोट) प्रयोग गरेर धेरै विकृति फैलाएको दाबी गरिएको छ। यो पनि भनिन्छ कि 'ट्रोल फ्याक्ट्री'ले दिनरात सेन्ट पिटर्सबर्गमा काम गरेका थिए।
हाइब्रिड युद्धको अर्को महत्त्वपूर्ण विधि भनेको गलत सूचना हो। यस अन्तर्गत जनसंख्याको एक वर्गलाई अनुकूल गर्न वैकल्पिक र गलत कुराको प्रचार गरिन्छ। रुसले युक्रेनमा गरेको हमलापछि यस्ता दुष्प्रचार झनै बढेका छन्।
रुसले युक्रेनमाथिको आक्रमण आत्मरक्षाका लागि गरेको रुसको तर्कलाई रुस मात्रै होइन पश्चिमी विश्वका केही देशले पनि स्वीकार गर्न थालेका छन् । नेटो र युरोपेली संघले फिनल्याण्डमा हाइब्रिड युद्धको खतरा पहिचान गर्न र बच्न मद्दत गर्न हाइब्रिड सीओई बनाएको छ। यस सन्दर्भमा फिनल्याण्डको चयन रोचक छ। सन् १९४० मा रुस र फिनल्याण्डबीच केही समय युद्ध भएको थियो। उक्त युद्धमा फिनल्याण्डले हार व्यहोर्नुपर्यो, त्यसयता फिनल्याण्ड तटस्थ बसेको छ। तर रुस र फिनल्याण्डबीच १३ सय किलोमिटर लामो सीमा छ। यसबाट प्रष्ट हुन्छ कि फिनल्याण्ड डराएको छ, जसकारण पश्चिमी देशको सहारा उसले खोजिरहेको छ। त्यसअनुसार सम्बन्ध विस्तारमा पनि उसले लगानी गरिरहेको छ। गत वर्ष फिनल्याण्डले नेटोमा सामेल हुन आवेदन नै दिएको थियो।
यसरी काम गर्दैछ हाइब्रिड युद्ध विरोधी सेन्टर
एक चिसो हिउँ परेको बिहान मैले उक्त सेन्टरको भ्रमण गरेको थिएँ। फिनल्याण्डको रक्षा मन्त्रालय नजिकैबाट काम गर्ने उक्त सेन्टर सोभियत युगमा निर्मित भवनमा बनेको रुसी दूतावास नजिक छ। केन्द्रकी निर्देशक तीजा तिल्लिकाननले यहाँ ४० विश्लेषक र विषय विज्ञको टोलीसँग काम गरिरहेको जानकारी दिइन्। यी विषय विशेषज्ञहरू नेटो र युरोपेली संघमा आवद्ध देशका हुन्। यसमा बेलायतको रक्षा मन्त्रालयका विज्ञ पनि सामेल छन्, जसलाई केही समयका लागि मात्रै बोलाइएको हो।
सेन्टरको अहिलेको फोकस क्षेत्र आर्कटिक हो। उक्त सेन्टरले भविष्यमा हाइब्रिड युद्धको खतरा हुने सम्भावना देखाएको छ। केन्द्रकी निर्देशक तिल्लिकाननले भनिन्, ‘अहिले ऊर्जाका धेरै स्रोतहरू निस्किरहेका छन्। विश्वका ठूला शक्तिहरु आफ्नो स्वार्थ जोगाउन बढी सक्रिय हुने प्रचुर सम्भावना छ। यसका साथसाथै यतिबेला गलत सूचनाको विकृति पनि बढ्दो छ।" रसियाले अहिले आफ्नो क्षेत्र आर्कटिक द्वन्द्वबाहिरको क्षेत्र दाबी गरिरहे पनि वास्तविक भने उसले सैन्य आधार क्षेत्र निर्माण गरिरहेको दाबी उनले गरिन्। वास्तविक लडाइँ र हाइब्रिड लडाइँको भिन्नता यो हो कि हाइब्रिडमा आमनेसामने लडाइँ हुँदैन।
उनी भन्छिन्, "यस्तो लडाइँमा कोही अगाडि आएर गोली हानिरहेको हुँदैन, छद्म रुपमा कसैले प्रहार गरिरहेको हुन्छ। र यस्तो लडाइँ आमनेसामनेभन्दा अझ बढी खतरनाक हुन्छ।" यो एक प्रकारको छद्म लडाइँ हो। यसमा आक्रमणका पछाडि कसको हात छ भन्ने थाहा पाउन गाह्रो हुन्छ। सन् २००७ मा इस्टोनियामा भएको भयानक साइबर हमला यही प्रकृतिको भएको उनले बताइन्।
कति खतरनाक ?
यो लडाइँकै एक हिस्सा हो। अघिल्लो वर्ष पनि बाल्टिक सागरभित्र रहेको पाइपलाइनमा विस्फोट भएको थियो। आक्रमणकर्ताले त्यहाँ कुनै पनि प्रमाण छाडेका थिएनन्। यस्ता धेरै तरिका छन् जसबाट ठूलो क्षति हुनसक्छ। उक्त सेन्टरमा रहेको ह्यान्डबुकमा चित्र मार्फत देखाइएको छ। जहाँ समुद्रमा हाइब्रिड युद्धको खतराबारे सम्भावित तरिकाहरूको विस्तृत विवरण रहेको छ। यसमा काल्पनिकदेखि सम्भावित युद्धसम्मका दश अवस्थाहरू उल्लेख छन्। यसमा पानीमुनि हतियारको लुकेर प्रयोगदेखि टापुको वरिपरि नियन्त्रण क्षेत्र घोषणा गर्ने र समुद्रमा जमिनको साँघुरो पट्टी बन्द गर्ने सम्म रहेको थियो।
उक्त केन्द्रमा काम गर्ने टोलीले वास्तविक अवस्थाको स्टक लिएका थिए। यो घटना युक्रेनमा हमला हुनुअघि रुसले आजोभ सागरमा गरेको कारबाही हो। अक्टोबर २०१८ र त्यसपछि, मारिउपोल र बर्दियान्स्कको आफ्नो गृह बन्दरगाहबाट केर्च स्ट्रेट हुँदै जाने युक्रेनी जहाजहरू रूसी अधिकारीहरूले निरीक्षण गरेका थिए। उक्त निरीक्षणका कारण युक्रेनी जहाजहरू लामो समय अर्थात् करिब दुई सातासम्म यहाँ बस्नुपरेको भल्नेरेबिलिटीज एन्ड रेजिलेन्सका निर्देशक जुक्का सेभोलेनेनले बताए। जसले युक्रेनलाई ठूलो आर्थिक नोक्सान पुर्याउने थियो।
गलत सूचना सम्प्रेषण
गलत सूचनाको यो युगमा यस केन्द्रका विज्ञहरुले अचम्मको नतिजा निकालिरहेका छन्। युरोपमा गरिएका धेरै जनमत सर्वेक्षणको नतिजालाई सङ्कलन गरेपछि, उनीहरू यो निष्कर्षमा पुगेका हुन् कि रसियाले धेरै नेटो देशहरूको ठूलो जनसंख्याको बीच यो सूचना (डिसइन्फर्मेसन) युद्ध जितेको देखिन्छ। रूस गलत सूचना सम्प्रेषण गरी मान्छेहरूलाई दीग्भ्रमित पार्न धेरै हदसम्म सफल भएको छ।
उदाहरणका लागि, जर्मनीका धेरै मानिसहरू अहिले पनि यो विश्वास गर्छन् कि नाटोको उत्तेजक कामहरूको जवाफस्वरूप रूसले यूक्रेनमाथि हमला गरेको हो। युक्रेन रूसको यो तर्कलाई जनताले सही मानिरहेका छन्। ओपिनियन पोलमा भाग लिने ३० प्रतिशतभन्दा बढी स्लोभाकहरूले युक्रेनमा भएको युद्ध पश्चिमी देशहरूले गरेको उत्तेजक कार्यको परिणाम हो भनी विश्वास गरेको देखिन्छ। हंगेरीका १८ प्रतिशत जनता युक्रेनमा रुसी भाषी जनसङ्ख्यामाथिको दमनका कारण यो युद्ध सुरु भएको विश्वास गर्छन्।
चेक गणतन्त्रका वरिष्ठ विश्लेषक जाकुब कालेन्स्कीले रुसको प्रचार अभियानलाई दबाउन पानीसँग सम्बन्धित उदाहरण दिएका थिए। उनी भन्छन्, “म रुसको प्रचार अभियानलाई परिष्कृत ठान्दिनँ। तिनीहरू आकर्षक सन्देशहरूको कारणले होइन तर संख्याको कारणले साइबरस्पेसमा सफलता पाइरहेका छन्। त्यस्ता व्यक्तिहरूलाई सोशल मिडिया प्लेटफर्महरूमा पहुँच दिनुको कुनै अर्थ छैन। सबैले समुद्री क्षेत्रमा पहुँच प्राप्त गर्ने कोशिस गरिरहेका हुन्छन्।"
यूरोपमा यस प्रकारको चुनौती निरन्तर बढ्दै गएको र त्यसको सामना गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ।