बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • टर्की ट्रयाजेडी: मृतकको संख्या आठ हजार नाघ्यो, उद्धार र राहतमा जुटे अरु देश पनि

टर्की ट्रयाजेडी: मृतकको संख्या आठ हजार नाघ्यो, उद्धार र राहतमा जुटे अरु देश पनि

मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। अहिले पनि धेरै मानिस भग्नावशेषमा फसेका सीएनएनले जनाएको छ।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

भूकम्पले टर्की र छिमेकी सिरिया तहसनहस छन्। सोमबार बिहान घाम नझुल्किँदै त्यहाँ ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। यसको झट्का कैयौं माइल टाढासम्म  महसुस भएको  थियो। 

triton college

भूकम्पपछि लगातार पराकम्प पनि आइरह्यो। कतिपय पराकम्पको म्याग्निच्युड ५ भन्दा बढी थियो। भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार पुगेको र करिब ४० हजार घाइते भएको सीएनएनले जनाएको छ। मृतकमा सिरियाका करिब दुई हजार छन्।

मानिस सुतिरहेको समयमा टर्कीको गाजियन्टेप नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको थियो। भूकम्पका कारण हजारौं भवन भत्किएका छन्। उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७.९ किमि गहिराइमा थियो। सोमबारै दिउँसो टर्कीमा ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो। 

मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। अहिले पनि धेरै मानिस भग्नावशेषमा फसेका सीएनएनले जनाएको छ।

नवजात शिशुको जिउँदै उद्धार
यसैबीच सिरियामा भग्नावशेषमुनि फसेकी एक गर्भवती महिलाले नवजात शिशुलाई जन्म दिएकी छन्। न्यूयोर्क टाइम्सका अनुसार उत्तरी सिरियामा एउटा घरको भग्नावशेषबाट नवजात शिशुलाई जिउँदै निकालिएको हो।

corrent noodles
Metro Mart

भूकम्पमा परी आमाको मृत्यु भए पनि नवजात शिशुलाई भने आमाको नाभीमा बाँधिएको अवस्थामा उद्धार गरिएको छ। उनको अवस्था नाजुक रहेको बीबीसीले लेखेको छ।

नवजात शिशुका बुबा, चार दाजुभाइ र एक काकीले भूकम्पमा ज्यान गुमाएका छन्। शिशुलाई भग्नावशेषबाट निकालिएको दृश्य सामाजिक सञ्जालमा सेयर भइरहेको छ।

३४ वर्षीय खलील अल शमीले न्यूयोर्क टाइम्सलाई बताएअनुसार उनी आफ्नो भाइ र परिवारका अन्य सदस्यहरू खोज्न भग्नावशेष खन्ने क्रममा थिए। त्यसैबेला उनले आफ्नी भाउजूको नाभीसँग जोडिएको शिशु देखे। त्यसपछि उनीहरूले तुरुन्तै नाभी काटे। बच्ची रुन थालिन्, उनलाई बाहिर निकालियो।

भग्नावशेष पूरै हटाउँदा बालिकाकी आमा मृत फेला परेकी थिइन्। खलीलका अनुसार उनकी भाउजूले एक–दुई दिनपछि बच्चा जन्माउने मिति थियो। भूकम्पपछिको झट्काका कारण भग्नावशेषमै बच्चा जन्माएकी हुन्। करिब ३० घण्टापछि बालिकालाई बाहिर निकालिएको हो। समाचार संस्था एएफपीका अनुसार अहिले ती शिशुको अवस्था स्थिर रहेको छ। शरीरमा चोटका निशानहरू छन्। अत्यधिक चिसोका कारण उनलाई हाइपोथर्मिया पनि भएको छ।

उद्धार र राहतमा कठिनाइ

भग्नावशेषहरुमा खोजी र उद्धार कार्य जारी छ। अत्यधिक चिसोका बाबजुद उद्धार तथा राहतको कामलाई तीव्र पारिएको छ। टर्कीका सहरहरुमा भूकम्पपीडित पनि उद्धार कार्यमा सक्रिय रहेको बीबीसीले बताएको छ। टर्की सरकारले भूकम्पले मानवीय र भौतिक क्षति धेरै भएपछि त्यहाँ संकटकाल घोषणा गरेको छ।

टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले देशको दक्षिणी भागका १० प्रान्तमा आपतकाल घोषणा गरेका छन्। टेलिभिजनमा प्रसारित सन्देशमा अर्दोआनले यो आपतकाल तीन महिनाको लागि हुने बताएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार तीन महिनाको आपतकालका कारण त्यहाँ आगामी मे १४ मा राष्ट्रपति र संसदीय निर्वाचन हुने भएको छ। यी चुनावअघि नै संकटकाल अन्त्य हुनेछ।

अर्दोआनले राहत र उद्धार कार्यमा करिब ७० देशले सहयोग गर्न हात अघि बढाएको पनि बताएका छन्। अमेरिका, चीन, रुस, बेलायतलगायत देशले खोज तथा उद्धार कार्यमा सघाउन सुरु गरेका छन्। मेक्सिकोले भग्नावशेषमा बाँचेकाहरूलाई खोज्न मद्दत गर्न आफ्ना खोजकर्ता र उद्धार कुकुरहरू टर्कीमा पठाएको छ। उनीहरुले टर्कीका भग्नावशेषको खोजतलास गर्नुका साथै भग्नावशेषभित्र जीवित रहेका आंशकामा खोजी कार्य र उद्धारमा संलग्न हुनेछन्।

भूकम्पका कारण टर्कीमा आर्थिक संकट सिर्जना भइसकेको छ। टर्कीको मुद्रा लीरा केही दिनयता निरन्तर कमजोर भइरहेको छ भने महँगी पनि बढेको छ।

गोल रक्षकको मृत्यु
भूकम्पमा परी टर्कीका एक फुटबल खेलाडीको पनि मृत्यु भएको छ। गोल रक्षक अहमेट इयुप टर्कास्लानको भूकम्पमा परी मृत्यु भएको उनी आवद्ध क्लब यनी मालाट्यास्पोरले पुष्टि गरेको बीबीसीले जनाएको छ।

२८ वर्षीय अहमेट टर्कीको दोस्रो डिभिजन क्लब यनी मालाट्यास्पोरमा सन् २०२१ मा आवद्ध भएका थिए। उनले टिमका लागि ६ खेल खेलेका थिए।

प्रकाशित: Feb 08, 2023| 11:05 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।