काठमाडौं- मध्यपश्चिम विश्वविद्यालयका विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थीले उपकुलपति (भीसी) निवासमा ढुंगा प्रहार गरी तोडफोड गरेका छन्। उनीहरुले उपकुलपति निवासमा पार्किङमा राखेको गाडीमा समेत क्षति पुर्याएको विश्विद्यालय प्रशासनले जानकारी दिएको छ।
उच्च शिक्षाका चुनौती र वर्तमान अवस्थामा विश्वविद्यालयमा देखिएका समस्याहरुको समाधानका उपाय विषयक अन्तरक्रियात्मक कार्यक्रममा पनि विद्यार्थीहरूले हुलदंगा गरेका थिए। विश्वविद्यालये कार्यक्रम भइरहेका समयमा अराजक समूहले ५:३० बजे तिर ढुंगा प्रहार गरेको उल्लेख गरेको छ। '६:१५ बजेतिर उपकुलपतिको निवासमा आई ढुंगा प्रहार गरी तोडफोड गरेको र उपकुलपति निवासमा पार्किङमा राखेको गाडीमाथि बन्चरोसमेत प्रहार गरेको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विश्वविद्यालयमा अराजक, अमर्यादित र अपराधिक गतिविधि गर्ने व्यक्ति तथा समूहलाई कडाभन्दा कडा कारवाही गर्न विश्वविद्यालयले सम्बन्धित पक्षसँग माग गरेको छ।

अहिले पनि विश्वविद्यालय परिसर तनावग्रस्त रहेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बताए।
उपकुलपतिमाथि आक्रमण भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो। लाठीचार्जबाट अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष राज पौडेल, दीपेन्द्रजंग शाही, भूपेन्द्र बम, केशव खड्का, रोशन बस्नेत, गोविन्द सिजापती, तेजबहादुर बमलगायत घाइते भएका छन्।
विभिन्न माग राख्दै रिले अनसन बसिरहेका विद्यार्थीहरुले मंगलबारदेखि विश्वविद्यालयका गाडीहरु चल्न नदिने घोषणा गरेका थिए। केन्द्रीय भवनबाट उपकुलपति प्रा.डा. सिंह विश्वविद्यालयको गाडी चढेर कार्यक्रम स्थल पुगेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको थियो।
प्रहरीको बल प्रयोगबाट घाइते भएका चार जना विद्यार्थीलाई कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको छ।

