पछिल्लो छिमलका छन्द कविताले प्रगति र परिवर्तनको स्वरलाई छन्दका बान्कीभित्र अटाएका छन्। यसले छन्द कवितामाथि ‘सनातनी’ भएको भनेर लाग्ने गरेको आरोपलाई धेरै हदसम्म चिरेको छ। आज कविताको क्षेत्रमा उत्रिएका छन्द कविहरू शास्त्रीय र नैतिक घेराबन्दी तोडेर मैदानमा उत्रिएका छन् र आजको समयका स्वरहरूलाई आफ्नो सिर्जनामा कुशतापूर्वक समेटिरहेका छन्। छन्द कवितलाई समयसँगै अद्यावधि गराउने र सान्दर्भिक बनाइरहने दिशामा यो एउटा उम्दा कदम हो। त्यसैले पनि छन्द कविताको लोकप्रियता निरन्तर बढाइरहेको पनि हो, सायद।
कवि पेशलकुमार लुइँटेलको भर्खरै बजारमा आएको छन्द कवितासङ्ग्रह ‘पोल्टाभित्र डिही’ यस्तै आधुनिक, परिवर्तनमुखी र तिख्खर कविता सङ्ग्रह हो। कवितामा स्वच्छन्द र रुमानी स्वर पनि नआएका होइनन्, तर परिवर्तन र न्यायको पक्षधरता र मानवमात्रको सतत् विकासको स्वर एउटा ज्यादै उम्दा स्वर भएको सहजै ठहर गर्न सकिन्छ। पेशल ती कवि हुन्, जसले छन्द कविता उठाएर यस्तो दात्यियबोध गरेका छन्ः
छन्दमा शब्द उन्दैमा कविता हुन्छ सुन्दर
सुकेको फूलको माला शोभायमान हुन्छ र?
कवि लुइँटेलको व्यक्तिगत जीवनतिर चिहाउने हो भने उनी विविध क्षेत्रको अध्ययन र अनुभवबाट एउटा बहुआयामिक व्यक्ति बन्न पुगेका छन्। पेशाले अधिवक्ता, र सर्वोच्च अदालतकै वकिल भए पनि उनी अङ्ग्रेजी साहित्यमा कलाचार्य तथा अङ्ग्रेजी शिक्षामा स्नातकोत्तर पनि हुन्। वकालतका साथसाथै उनी शिक्षण पनि गर्छन् र समाजिक संघसंस्थाहरू पनि आबद्ध छन्। युवाकालदेखि नै साहित्यतिर प्रवृत्त लुइँटेलको सिर्जनात्मक समझ पनि परिपक्व लाग्छ। त्यसैले, विविध क्षेत्रको अध्ययन र संलग्नताबाट उनले आर्जन गरेका अनुभव तथा उनले अभ्यासद्वारा विकास गरेका काव्यशिल्पको एउटा सुन्दर उपजको रूपमा यस सङ्ग्रहले बजार प्रवेश गरेका छ। सङ्ग्रहलाई शिखा बुक्सले बजारमा ल्याएको हो। ‘साहित्यपोष्ट’ ले यस कृतिलाई वर्ष २०७८ का उत्तम कृतिहरूको सूचीमा पनि सूचीकृत गरेको थियो।
सङ्ग्रहमा ८३ कविता सङ्ग्रहित छन्, र तिनमा शार्दूलविक्रीडित, अनुष्टुप, शिखरिणी, उपजाति, वसन्ततिलका, भुजङ्गप्रयात, विद्युन्माला, दिक्पाल, मन्दाक्रान्ता, तोटक, स्रग्विणी, स्रग्धरा, इन्दिरा, मालिनी, पञ्चचामर, मन्दाक्रान्ता तथा विधाताजस्ता विविध तर लोकप्रिय छन्दको प्रयोग गरिएको छ। अतिशय सजगताका कारण छन्दभङ्ग अति न्यून रहेको यस सङ्ग्रहमा सन्तुलित र श्रुतिमधुर वर्णहरूको बाहुल्य छ, जसका कारण कविताहरूको गेयात्मकता स्वाभविक बनेर उभिएको छ।
कविको विषयवस्तुको वृत्त विस्तृत र व्यापक छ। यो उनको अध्ययन, ज्ञान, अनुभव र कल्पनाशीलताको द्योतक हो। उनका विषयलाई विविध खण्डमा विभाजित गरेर यिनको कथ्यको रेन्ज थाहा पाउन सकिन्छ। एकातिर सम्बन्धका कविता छन् जहाँ उनले गुरु, आमा र प्रेमिकाजस्ता निकटस्थ व्यक्तिहरूको आदर्श, महानता र प्रेमको वर्णन गरेका छन्। ‘सम्बन्ध’ जस्ता कविताले उनी सम्बन्धहरूलाई कुन तहको संवेदनशीलताबाट हेर्छन्, त्यो दर्शाएको छ। पेशलका कतिपय कवितामा भने सुन्दर भौगोलिक अवयवहरूको वर्णन, र तिनको सुन्दरतामा कविको आह्लाद प्रकटित छ। ‘सगरमाथाको प्रतिविम्ब’, ‘सुनकोसीको झल्को’ ‘तराई’, ‘बृहत्तर ओखलढुङ्गा’, ‘वासन्ती पोखरा’ तथा ‘काठमाडौँ’ यस प्रकृतिका कविता हुन्।
कवि पेशलले प्रकृतिका कतिपय अवयवहरूलाई विषयवस्तु बनाएर पनि कविता लेखेको छन्। ‘पानी’ र ‘प्याउली’ यस प्रकृतिका कविता हुन्।
देश पेशलको कविताकारिताको एउटा ठूलो विषय हो। सङ्ग्रहका निकैवटा कविताको विषय देश हो, जसमा कि देशप्रेम लेखिएको छ, कि त देशमा विद्यमान व्यथिति र विसङ्गतिप्रतिको तीव्र असन्तुष्टि छ। उदाहरणका लागि हामी ‘खोज्दैछु राष्ट्र नायक’, ‘देश हराभार’, ‘देश’, ‘हामी हौँ लिपुलेक’ तथा ‘देशको मुहार’ जस्ता कवितालाई लिन सक्छौँ।
कविताको मिहित अध्यनले के बताउँछ भने देशजस्तै प्रकृति पनि पेशलको प्रिय विषय हो। प्रकृतिचित्रणमा उनको पकड र विलक्षणता त माथि उल्लेखित भूगोलसम्बन्धी कविताको चित्रणमा पनि देखिएकै हो। त्यसमाथि, ‘पानी’ जस्ता प्राकृतिक तत्त्वहरूलाई विषय बनाएर लेखिएका कवितामा उनले जीवनको दर्शन पोतेका छन्। ‘प्रकृतिसँग’ तथा ‘गोधुली निशा’ जस्ता कवितामा उनको प्रकृतिप्रेम यसै गरी अभिव्यक्त भएर आएको छ।
प्रेम कवि पेशलको अर्को व्यापक, मनपर्ने र संवेदनशील विषय हो। संभवतः सङ्ग्रहमा सबैभन्दा धेरै कविता प्रेमकै बारेमा छन्। प्रेम, विशेष गरी पुरुष र महिलाको अनुरागलाई उनले एउटा उदात्त उचाइ दिएर एउटा आदर्श भावना बनाउने प्रयास गरेका छन्। उनलाई प्रेमका नाममा बढ्दो सांसरिकता, भौतिकता र बासना मन पर्दैन। त्यसैले, उनले अभिव्यक्त गर्न खोजेको प्रेममा निश्छलता छ। ‘म र प्रेम’, ‘तिमी खास मेरी’, ‘तिम्रो आभास’, ‘आँखाकी नानी’, ‘प्रणयपराग’, ‘तिर्खा प्रेमरागको’, ‘स्वर्णिम प्रेम’, ‘गाँसेर प्रेम माला’, ‘तिम्रो आभास’, ‘गाँसेर प्रेम माला’, ‘प्रियाको पाऊँला हात’, ‘प्रेम विमर्श’, ‘प्राण प्यारी’ तथा ‘विम्बमा तिमी’ जस्ता कवितामा हामी उनको प्रेमको उदात्तता भेट्टाउन सक्तछौँ।
आजको समयका कहर, उतारचढाउ, आकांक्षा, सपना र तिक्तता बोकेर बाँचेको एउटा युवा हुनुका नाताले यस्ता समसामयिक विषयले कवि पेशललाई नछुने कुरै भएन। फेरि एक अधिवक्ता हुनुका नाताले, र दिनैपिच्छे न्याय र अन्यायको घर्षणको साक्षी र वकिल दुवै हुनुका नाताले पनि समसामयिक विषयहरूसँगको उनको सम्बन्ध ज्याद्रो भएको सहजै अनुभूति गर्न सकिन्छ। समसामयिक विषयहरूमाथिका उनका कवितामा देशले झेल्नुपरिरहेका कहरदेखि व्यक्तिका निजी समस्यासम्मका कुरा पढ्न पाइन्छ। उदाहरणका लागि ‘सुन्दैन सत्ता किन’, ‘परदेशमा श्रम’, ‘भोक, आत्महत्या र देश’, ‘कहरको लहर’, ‘पुरातन’, ‘शासक’, ‘समय र कोरोना’, ‘तिर्खाएको छु खाडीमा’, ‘प्रकृति दोहन’, ‘लालपुर्जा र सपना’ जस्ता कविता हेर्न सकिन्छ, जसका शीर्षकैले पनि धेरे कुरा बोलेका छन्।
न्याय त कवि पेशलको प्याटेन्ट विषय हुँदै हो। नेपाली कवितामा न्यायको अपिल त बाक्लो छ, तर न्याय निरूपणको भित्री व्याकरण तथा न्यायपालिकाभित्रको अन्तरकथा बुझेका थोरै कविहरू मात्रै छन्। त्यस परिदृश्यमा कानुनका, अदालती कामकार्बाहीका तथा मृद्दा–मामिलाका पनि जानकार पेशल लुइँटेलको नेपाली कवितामा आगमनले हामी पाठकहरूका लागि ज्ञानको एउटा नयाँ क्षितिज उघारेको छ। उनका ‘न्यायको ज्योति’, ‘फिराद’, तथा ‘न्यायको मुरली अट्ठा’ जस्ता न्यायनिसाफ र अदालतसँग सम्बन्धित कविताले यस कृतिमा नयाँपन थपेका छन्। न्यायप्रणलीका कतिपय सङ्गीन पोलहरू पनि सङ्ग्रहले खोलेको छ।
‘साहित्य’ र ‘शब्दशक्ति’ जस्ता कविता साहित्य र भाषाप्रतिको समझ, ‘आँखाले खोजेको’, ‘स्वप्न बगैँचा’, तथा ‘सपना’ जस्ता कवितामा सपना र मनोलोकका कुरा, ‘सौन्दर्यको आरती’, ‘तिम्रो मुहार’, ‘नभबाट हेर्दा’ जस्ता कवितमा सौन्दर्यको चेत, ‘पर्खाल’, ‘पुर्पुरो’, ‘पोकामाथि डिको’, तथा ‘मञ्च’ जस्ता कवितामा शीर्षकमै विम्बको प्रयोगबाट मानव–जीवनको चित्रण तथा ‘नौमती’ जस्ता कवितामा विवाह–संस्कृतिको झलक पढ्न पाइन्छ। ‘नौलो क्रान्ति’ जस्ता कविपय कविताले भने पेशलभित्रको परिवर्तनको चाहलाई सतहमा ल्याएको बुझिन्छ। उनको दर्शनबोेध पढ्नका लागि भने पाठकले ‘बुद्धत्व’, ‘खोज्दैछु सृष्टिबीज म’, ‘साधक’, ‘बद्धत्वको गीत’ जस्ता कविता उठाउन सक्ने छन्। ‘शान्ति’ तथा ‘शान्तिको बाँसुरी’ जस्ता कविताले उनको शान्तिको पक्षधरता उजागर गरेको छ भने ‘भरिया’ जस्तो कविताले उनी मदजुरको दशाप्रति कति संवेशनशील छन्, त्यो दर्शाउँछ। ‘म चुपचाप सहन्नँ’ जस्ता भने कविता पूर्ण रूपमा विद्रोही छन्। कर्तव्यबोधबाट अनुप्राणित कविता पढ्न इच्छुक पाठकहरूका लागि ‘मुछ्नु्पर्ने छ माटो’ र ‘अर्जाप्न बाँकी जिन्दगी’ जस्ता कविता उत्कृष्ट छन्।
सङ्ग्रहका तीन कविता ‘नारीशक्ति’, ‘पोल्टाभित्र डिही’ र ‘न्यायको ज्योति’ को भने यहाँ विशेष उल्लेख गर्नु वाञ्छनीय छ। आवरणमा ‘नारी शक्ति’ नारीको उत्थान र जागरणको अपिल हो, तर छन्द साहित्यको बगैँचामा विश्वका घटना–परिघटनालाई सुन्दर तरिकाले समेटेर, छन्द भङ्ग नगरी यस्तो उम्दा राजनैतिक–सामाजिक विषय अटाउन सक्नु आफैँमा एउटा गजबको खुबी हो। यसै कविताको एउटा अन्तरा साक्ष्यका रूपमा यहाँ राखिएको छः
‘पोल्टाभित्र डिही’ ले कानुनी, पारिवारिक तथा भावनात्तक गरी तीन विषयलाई एकैचोटि समेटेको छ, जसमा कवि हुनुको संवेशनलीलता, अधिवक्ताको न्याय–ज्ञान र एउटा जिम्मेवार सन्तान हुनुको कर्तव्यबोध एकैचोटी परिलक्षित भएर आएको छ। कवितामा डिहीको कुरा छ, जो बूढा बाआमाले आफ्नो बुढेसकालका लागि साँचेको चल–अचल सम्पत्ति हो। कविताको भाव हो- आत्मैभित्र डिही छ, मनभित्रै उज्यालो छ। तर मानिस भड्किएका छन्। अज्ञात मुकामतिर व्यर्थै धाएकाधायै छन्। कवि लेख्छन्-
न्याय क्षेत्रको शक्ति, सीमा र व्यथितिबारे त सबै पाठक धेरथोर अवगतै छन्। तर न्याय निसाफ क्षेत्रको भित्री अनुहार कस्तो छ, त्यो भित्रैसम्म भिजेका मानिसहरूले मात्रै बुझ्छन्। नेपालमा न्यायपालिकाको अनुहार ठ्याक्कै कस्तो त, सायद ‘न्यायको ज्योति’ कविताबाट उद्धृत पेशलका यी हरफहरूले तद्रूप बताउँछन्-
विशाल शब्दभण्डार, प्राञ्जल भाषा, सटीक छन्दशिल्प र विविध विषयले यो सङ्ग्रह उम्दा बनेको कुरामा शङ्का छैन। तर, पहिलो सङ्ग्रह हो, पेशललाई अझ धेरै थुम्का छिलोच्दै मुकामतिर लानु छ। त्यसैले केही कुरामा सजग हुनु आवश्यक देखिन्छ। पहिलो, छन्द कविता भएको हुँदा छन्दभङ्ग र भाषिक त्रुटिलाई शून्यमा झार्ने उपक्रम अपनाउने वाञ्छनीय छ। दोस्रो, अन्य छन्दकविलाई पनि लाग्ने आरोप, यहाँ पनि कतिपय कविताको सन्दर्भमा लाग्न सक्छ। सो के भने, आफ्ना निकतस्थहरूको अगाध प्रेम, तथा आमा र गुरुको महिमा गान त लेखेर कहिल्यै नसिकने, र लेखेर पनि नयाँ खासै भन्न नसकिने विषय भए। पाठकसँग अर्को लोभ पनि छ। न्याय क्षेत्र आम मान्छेका लागि प्रायः अदृश्य क्षेत्र नै हो। त्यहाँको भित्री कुरा थाहा पनि हुँदैन, बाहिर पनि आउँदैन। पेशलजस्ता अधिवक्ता नै कवितामा उत्रिएपछि त्यस क्षेत्रका अझ भित्री र मिहिन विषय कविताको विमान चढेर जनमानसमा आऊन् भन्ने अपेक्षा रहनु पनि, सायद, अवाञ्छनीय कुरा होइन।
कृतिः पोल्टाभित्र डिही (कवितासङ्ग्रह)
प्रकाशन वर्षः २०७९
प्रकाशकः शिखा बुक्स