काठमाडौं- पर्साको वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित बाराको बिश्रामपुर गाउँपालिका-४ बस्ने २७ वर्षीय श्याम किशोर प्रसाद साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो। उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी कपिलवस्तुको कपिलवस्तु नगरपालिका-२ जमुवारपुल चोकबाट स्रोत नखुलेको भारतीय नगद २१ लाख ७ हजार रूपैयाँसहित भारत घर भई कपिलवस्तु मायादेवी गाउँपालिका-१ ईमिलिया बस्ने २८ वर्षीय हमिद मुसलमान समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले भैरहवाबाट तौलिहवातर्फ आउँदै गरेको युपि ५५ एएम ०४५९ नम्बरको कार जाँच गर्ने क्रममा उक्त नगद फेला पारी कारका चालक मुसलमान समेत ३ जनालाई पक्राउ गरेको हो।