काठमाडौं- भारतीय अर्बपति गौतम अदानीको सम्पत्ति घट्ने क्रम जारी छ। बुधबार एकैदिन उनको सम्पत्तिमा १२ अर्ब अमेरिकी डलरको गिरावट आएको छ।
हिन्डेनबर्ग प्रतिवेदनका कारण अदानी विश्वकै तेस्रो धनाढ्यबाट सातौं स्थानमा झर्दै बुधबार शीर्ष १० बाट पनि बाहिरिएका छन्। हाल उनी फोर्ब्सको धनाढ्य सूचीमा १५औं स्थानमा ओर्लिएका हुन्।
अमेरिकी अनुसन्धान संस्थाले अदानीको स्वामित्वमा रहेका केही कम्पनीहरुले जाली वित्तीय विवरण र सेयर मूल्यमा चलखेल गरेको भन्दै प्रतिवेदन सार्वजनिक गरेलगत्तै गत बुधबारदेखि नै अदानी ग्रुपका कम्पनीहरुको सेयरमा उल्लेख्य गिरावट आउन सुरु गरेको थियो। एक हप्ताको अन्तरालमा अडानीको कुल नेटवर्थ ७६.२ अर्ब डलरमा झरेको छ।
यसैबीच मुकेश अम्बानी गौतम अदानीलाई उछिन्दै पुन: एसियाको धनाढ्य व्यक्ति तथा विश्वको नवौं धनी व्यक्ति बनेका छन्। फोर्ब्सका अनुसार अम्बानीको नेटवर्थ ८३.८ अर्ब अमेरिकी डलर छ।
गत फेब्रुअरीमा अदानी मुकेश अम्बानीलाई उछिन्दै एसियाकै धनाढ्य व्यक्ति बनेका थिए।