काठमाडौं- फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को रिलिजअगावै निर्देशक रिनाशा वान्तवा राई र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीच सम्बन्ध बिग्रियो । फिल्मको डबिङमा समय नदिएर नायिका शाह एक विज्ञापनमा खेल्न गएपछि रिनाशा रन्किएकी थिइन् । साम्राज्ञीकै कारण फिल्मको ट्रेलर सार्वजनिक गर्नसमेत ढिलो भएको उनको गुनासो थियो ।
फिल्मको रिलिज मिति नजिकिँदै गर्दा साम्राज्ञी एक फिल्म अवार्डका लागि जापान उडिदिएपछि रिनाशा झनै क्रुद्ध भइन् । जबकि, साम्राज्ञीसहित फिल्म युनिटले कन्सर्टको योजना बनाएको थियो । साताअघि भएको सिने सर्कल अवार्डमा समेत साम्राज्ञी र फिल्मका नायक धीरज मगरले परफर्म गर्नुपर्ने थियो । नायिका नभएपछि रिनाशा आफैं धीरजको हात समात्दै अवार्ड समारोहमा परफर्म गर्न बाध्य भइन् ।
साम्राज्ञी रिसाउनुको कारण भने अर्कै छ । फिल्म ‘ड्रिम्स’ हुँदै यस क्षेत्रमा आएकी उनले आफूलाई रिनाशाले ‘बाइपास’ गर्न खोजेको ठानिन् । आफूलाई भन्दा ‘इन्टु मिन्टु लन्डनमा’बाटै डेब्यु गरिरहेका धीरजलाई बढी प्राथमिकता दिएको र फिल्मको क्रेडिट लाइनमा पनि आफ्नो नाम धीरजपछि मात्रै आउँदा असन्तुष्ट बनेकी हुन् । त्यसैले पनि फिल्म रिलिजअघिको प्रमोसनमा खुलेर लागिनन्, साम्राज्ञी ।
फिल्मको प्रिमियरमा तिक्तता झनै बढेर गयो । राजधानीको बिग मुभिजमा रेड कार्पेटसहितको भव्य प्रिमियरमा रिनाशा, धीरज र फिल्मका अर्का कलाकार शारुक ताम्राकारसँगै कारमा आइन् । कार्यक्रममा सरिक भइन् । तर, उनी एक्लै ढिलो गरी आइपुग्दा कार्यक्रम सकिइसकेको थियो ।
टिममा जति नै बेमेल भए पनि फिल्मले प्रारम्भिक बिजनेस राम्रो गरिदियो । यो वर्षकै बम्पर ओपनिङ गरेपछि यसको क्रेडिट कसले लिने भन्ने विवाद फेरि उत्पन्न भयो । साम्राज्ञीले आफूलाई निर्देशकले जति नै बेवास्ता गरे पनि दर्शकले चिनाइदिएको तर्क गर्न थालिन् । उनले मिडियासामु नायक मात्र नभई नायिका पनि सुपरस्टार बन्न सक्छन् भन्ने उदाहरण आफूले दिन सकेको जिकिर गरिन् ।
यसअघिका गतिविधिका कारण आगो बनिरहेकी रिनाशालाई साम्राज्ञीको कुराले झन् दन्काउने काम गरिदियो । त्यसपछि बहस नै चल्यो, फिल्म स्टारडमले चल्छ वा राम्रो मेकिङले ?
नेपाली फिल्मलाई यतिबेला स्टारडमले च्यापेको छ । अनमोल वा प्रदीपका लागि ५० लाख रुपैयाँसम्म लगानी गर्न निर्माताहरू तयार छन् ।
‘इन्टु मिन्टु लन्डनमा’ हेर्न दर्शक किन आए त ? अथवा, फिल्म के कारणले चल्छ ? यतिबेला यही प्रश्नको जवाफमा तर्क, वितर्क चलिरहेको देखिन्छ, फिल्म क्षेत्रमा । समीक्षात्मक दृष्टिकोणले हेर्दा ‘इन्टु मिन्टु लन्डनमा’ गतिलो मानिएन । लन्डनको टुरमै आधा फिल्म सकिएको छ भने दोस्रो भागमा पुगेपछि कथाले केही गति त लिन्छ तर त्यो हिन्दी फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएगें’ सँग ठ्याक्कै मिल्दो छ । कतिपय दर्शक त पूरा फिल्म नै झेल्न नसकेर बाहिरिएका पनि छन् ।
त्यसो भए के साम्राज्ञीकै स्टारडमले फिल्म चलेको होला त ? आंशिक रूपमा हुन पनि सक्छ । तर, पूरै किन पनि होइन भने साम्राज्ञीका सबै फिल्म हिट भएका छैनन् । ‘ड्रिम्स’ चल्नुमा यसका नायक अनमोल केसी मुख्य कारक थिए भने ‘ए मेरो हजुर–२’ चल्नुको क्रेडिट भने साम्राज्ञीले पाइन् । तर, त्यसपछिका उनका फिल्म ‘मंगलम’ र ‘तिमीसँग’ खासै चलेनन् ।
आर्यन सिग्देलसँगको साम्राज्ञीको ‘कायरा’ले पनि बक्स अफिसमा त्यत्रो उधुम मच्चाएको होइन । ती फिल्ममा नदेखिएको साम्राज्ञीको स्टारडम अहिले आएर मात्रै देखिएको हो त ? त्यसो भए ‘इन्टु मिन्टु लन्डनमा’ किन चल्यो ? के कारणले चल्यो त ?
धेरै फिल्मकर्मी फिल्म चल्नुमा स्टारडमको मात्रै हात नरहने मान्छन् । यसका लागि फिल्म नै गतिलो हुनुपर्छ । गतिलो फिल्म हुन स्क्रिप्ट बलियो हुनुपर्छ र त्यसका लागि उपयुक्त कलाकार छनोट गरी निर्देशकले फिल्मांकन गर्नुपर्छ । समग्रमा फिल्म एउटा ठूलो समूहको प्रयास भएकाले राम्रो बन्नमा सबैको हात रहन्छ ।
आइकोर फिल्मस्को ब्यानरमा बनेको ‘इन्टु मिन्टु लन्डनमा’को गीत र ट्रेलर रिलिजदेखि नै दर्शकमाझ हाइप पाएको थियो । लन्डनको रमणीय लोकेसन, सुकिला कलाकार, कलरफुल सिन र ग्लसी क्यानभासले गर्दा ‘इन्टु मिन्टु लन्डनमा’लाई दर्शकले विदेशी फिल्म मेकिङको तहमा समेत दाँजेर हेरेका थिए । जसमा साम्राज्ञी र डेब्यू नायक धीरजको जोडी आकर्षक देखिएको थियो । गीत युट्युबमा पहिल्यै हिट भइसकेका थिए ।
शुक्रबार र शनिबार आउने दर्शक फिल्म राम्रो भएकाले भन्दा पनि प्रचारको आकर्षणले नै हो ।
यस्तोमा शुक्रबार र शनिबार आउने दर्शक फिल्म राम्रो भएकाले भन्दा पनि प्रचारको आकर्षणले नै हो । जब रिलिजको तेस्रो दिन लाग्यो, अन्ततः ‘इन्टु मिन्टु लन्डनमा’मा दर्शक चाप ह्वात्तै घट्यो । कारण, फिल्मको ‘वर्ड अफ माउथ’ सुखद रहेन ।
नेपाली फिल्मको बजार तरल अवस्थामा रहँदै आएको छ । ‘लुट’ चल्नुअघि चलचित्र विकास बोर्डले स्वदेशी फिल्म क्षेत्रमा संकटकाल घोषणाको तयारी गरिरहेको थियो । कारण, बर्सेनि सयको हाराहारीमा फिल्म रिलिज भए पनि एउटैले लगानी सुरक्षित गर्न सकेका थिएनन् । ‘लुट’ ले दर्शकमा नयाँ स्वाद दियो । ब्लकबस्टर्स हिट पनि भयो ।
‘लुट’ स्टारका कारणले भन्दा समग्र फिल्मकै कारण चल्यो । बरु त्यसै फिल्मबाट सौगात मल्ल, दयाहाङ राई एकाएक स्टार बने । त्यसपछि भने उनीहरूले पनि आफ्नो स्टारडमलाई जोगाइराख्न सकेको देखिएन । यतिबेला स्टारडम कसैको बिकिरहेको छ भने त्यो एक्लो व्यक्ति अनमोल केसी मात्रै छन् । प्रदीप खड्काको पनि ‘लिलिबिली’ सामान्य चल्यो भने ‘रोज’को त बिचल्ली नै भयो ।
यस्तो अवस्थामा साम्राज्ञीले स्टारडमको तुजुक देखाइहाल्ने बेला भने छैन । न त रिनाशाले गजबकै फिल्म बनाएकाले ओपनिङ बिजनेस राम्रो भएको हो । बरु साँच्चिकै फिल्म राम्रो बनाउनतिर लाग्ने हो कि ? आखिर टिमले नै मिलेर राम्रो फिल्म बनाउने हो भने त्यसको सफलताको जश लिन पनि कोही एक्लैले मरिहत्ते गर्नु पर्थेन । सफलताको भागीदार सबै हुनेछन् ।
नेपाली फिल्मलाई यतिबेला स्टारडमले च्यापेको छ । अनमोल वा प्रदीपका लागि ५० लाख रुपैयाँसम्म लगानी गर्न निर्माताहरू तयार छन् । फिल्मको आधा बजेट नै एउटा कलाकारलाई दिएर बनाइने फिल्म कस्तो होला ? आखिर राम्रो कथामा अब्बल पटकथा बनाउने गरी पैसा र समयको लगानी गर्न सकियो भने त्यही फिल्मले नयाँ कलाकारलाई पनि स्टारको पंक्तिमा उभ्याउन सक्छ । नत्र अझै पनि खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्दै दर्शक भड्काउने हो भने भोलिका दिनमा राम्रै फिल्म हलमा लाग्दा पनि दर्शक नआउन सक्छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४