महेन्द्रनगर- २०३२ सालमा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४, लठ्ठाघाट बसाइँ सरे। भारतसित सीमा जोडिएको दोधारा चाँदनीमा २०२२ साल सेरोफोरामा बसोबास सुरुआत भए पनि त्यहाँका नागरिकले २०६० सालसम्म भौगोलिक विकटताको सामना गर्नुपर्यो।
महाकाली नदीपारिको टापु दोधारा चाँदनी आवागमनमा भारतीय बाटो (वनबासा पुल) वा महाकाली नदीबाट किस्ती (ढुंगा)मा ओहोरदोहोर गर्नुपर्ने दुई विकल्प स्थानीयवासीमा थिए। दोधारा चाँदनीमा झोलुंगे पुल बन्नुअघि महाकाली नदीमा सञ्चालन हुने किस्ती चलाएर स्थानीय ओहोरदोहोरदेखि सरसामान ओसारपसारमा २० वर्षभन्दा बढी समय खर्चिएका ७४ वर्षीय भीमबहादुर सिंह अहिलेको विकास देख्न आश्चर्य मान्छन्।
२०३५ देखि लगातार २० वर्ष महाकालीमा किस्ती चलाएका सिंहले महिनाभरि किस्ती चलाएपापत पारिश्रमिक २० रुपैयाँ लिएर काम गरेको विगत सुनाए। 'वनबासाबाट आउन–जान भारतीय थिचोमिचोभन्दा पनि बैलबन्द सामुदायिक वन क्षेत्रमा डाँका लाग्थे,' उनले भने, 'त्यो बेला तत्कालीन चाँदनी गाविसबाट ठेक्का प्रक्रियाबाट किस्ती चल्थ्यो।'
उनले ठेकेदारले किस्ती सञ्चालनका लागि वार्षिक रूपमा ठेक्का लिए पनि किस्ती सञ्चालनको मुख्य जिम्मेवारी भने आफूले नै सम्हालेको बताए। 'बर्सातको उर्लिएको महाकालीमा मान्छे र सामान सार्दा पनि कहिल्यै अप्रिय घटना मेरो किस्तीबाट त्यो बेला घटेन,' उनले भने, 'त्यो बेलाको विकटता र अभाव सुनाउँदा अहिलेको पुस्तालाई कथाजस्तै लाग्न सक्छ।'
तत्कालीन दोधारा र चाँदनी गाविस जोडिएर बनेको दोधारा चाँदनी नगरपालिका अहिले पनि नदीनालाबाट घेरिएको छ। तर, सडक, पुललगायत संरचना निर्माणले समस्याबाट टाढा छ। 'ओदाली (भीमदत्त नगरपालिका)तर्फबाट सवारी र सामान राखेर अहिले झोलुंगे पुल भएको ठाउँमा झार्थेँ,' सिंहले भने, 'किस्ती ठेकेदारको तलब थोरै भए पनि कमिसनले घर खर्च चलिहाल्थ्यो।'
उनका अनुसार त्यो बेला महाकालीमा एउटा ठूलो र अर्को सानो गरी दुईवटा किस्ती चल्थे। किस्ती चलाउन आफूसहित चारजनाको टोली हुने गरेको उनले बताए। 'प्रतिव्यक्ति महाकाली तारेको पाँच रुपैयाँ भाडा थियो,' उनले भने, 'सहयोगीसहित चारजनाको टोली भए पनि मुख्य चालक म नै थिएँ।'
उनले किस्तीमा राखेर ४०–४५ क्विन्टलसम्म सामान तारेको सुनाए। 'यहाँ गहुँ पिसाउन हिँडेर वनबासा जानेदेखि पानीका लागि कुवा खनेर प्यास मेटाइन्थ्यो,' उनले भने, 'झोलुंगे पुल बनेपछि किस्तीको काम सकियो।'
हिउँदमा महाकाली नदी हिँडेर वारपार गर्ने दोधारा चाँदनीवासी अहिले सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिको ढोकामा छन्। यहाँ चार लेनको पक्की मोटरेबल पुलदेखि दोधादा चाँदनी नगरपालिका–१ मा सुक्खा बन्दरगाह प्रस्तावित भएर काम प्रक्रियामा अघि बढेको छ।
तत्कालीन चाँदनी गाविसमा चार/पाँच हजार रुपैयाँमा किस्तीको वार्षिक ठेक्का हुने गर्थ्यो। पछि गरेर एक/डेढ लाखसम्म रकम वार्षिक रूपमा संकलन गर्ने गरी ठेक्का हुने गरेको उनको भनाइ छ। 'बर्सातमा स्थानीयवासी महाकालीको भेल देखेर किस्ती चढ्न धेरै डराउँथे पनि,' उनले भने, 'दोधारा चाँदनीको व्यापार नै किस्तीको भरमा हुन्थ्यो।'
दैनिक एकपटक मात्र किस्ती महाकालीमा चल्ने गरेको भए पनि स्थानीयवासीलाई धेरै सहज भएको सिंहको भनाइ छ। 'किस्तीमा पानी भरिँदा सफा गर्ने मात्रै दुईजना हुन्थे,' उनले भने, 'महाकाली तार्न यहाँ दुईवटा घाट बढी सञ्चालनमा थिए।'
महाकाली नदीमाथि २०५८ मा झन्डै डेढ किलोमिटर लम्बाइको झोलुंगे पुल बनेपछि दोधारा चाँदनी मूलधारसित जोडिनु पुगेको थियो। पछिल्लो समय सडक सञ्जालको व्यापक निमार्णदेखि महाकाली नदीमा चार लेनको पक्की पुलसँगै ६ लेनको पहुँचमार्ग बनेपछि दोधारा चाँदनीको स्वरूपमै परिर्वतन आएको छ। यहाँ कौडीको भाउमा बिक्री हुने जमिन अहिले करोड रकममा बिक्री वितरण हुँदै छ।
'त्यो बेला साइकल नहुने दोधारा चाँदनीमा अहिले घरैपिच्छे मोटरसाइकल छन्,' उनले भने, 'मुलुकको व्यवस्था फेरिएसँगै विकासले फड्को मारेको दोधारा चाँदनीले पनि हो।'
- रासस