शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली-प्रचण्डको निर्णयविरुद्ध यस्तो रणनीति बनाउँदै नेपाल

ओली-प्रचण्डको निर्णयविरुद्ध यस्तो रणनीति बनाउँदै नेपाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले आफूहरू नभएको मौका छोपेर प्रदेश कमिटी नेतृत्वको निर्णय गरेको बताउँदै वरिष्ठ नेता माधवकुमार नेपालपक्षले  त्यसविरुद्ध नयाँ रणनीति बनाउने भएको छ। 

९ असोजमा विदेश भ्रमणबाट फर्केलगत्तै नेपालले आफू निकट नेता/कार्यकर्तासँग भेट तीव्र बनाएका छन् । भेटमा नेता/कार्यकर्ताले यस विषयमा दह्रो खुट्टा टेक्न सुझाव दिएका छन् । स्रोतका अनुसार नेपालले आफूपक्षीय स्थायी समिति सदस्यसँग छलफल गरेका छन् । ४५ सदस्यीय स्थायी समितिमा नेपालको पक्षमा करिब १५ जना छन्।

नेता नेपालले प्रदेश नेतृत्व चयनसम्बन्धी केन्द्रीय सचिवालयको पछिल्लो निर्णय अस्वीकार गर्ने चेतावनी दिएका छन् । पूर्वसमझदारी विपरीत स्थायी समितिलाई बाइपास गरेर प्रदेश संगठन कमिटीको नेतृत्व चयन गरिएको बताउँदै उनले निर्णय नमान्ने बताएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली राष्ट्रसंघीय महासभामा भाग लिएर अमेरिकाबाट फर्केपछि थप मापदण्ड टुंग्याएर मात्र स्थायी समितिबाट प्रदेश नेतृत्व टुंग्याउने सहमति यसअघि भएको आफू निकट नेता/कार्यकर्तासँग बताएका छन्, नेपालले । तर, ओलीले नै संस्थागत विधि र प्रक्रिया तथा समझदारी उल्लंघन गरेर नेतृत्व घोषणा गरेको उनको आरोप छ । ६ असोजमा अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री १८ असोजमा स्वदेश फर्किंदैै छन् ।

नेता नेपाल विदेश भ्रमणमा रहेका बेला ५ असोजमा बसेको सचिवालय बैठकले प्रदेश संगठनको इन्चार्ज, सह-इन्चार्ज, अध्यक्ष र सचिव टुंगो लगाएको थियो । दक्षिण अफ्रिकामा आयोजित साम्राज्यवाद र पुँजीवादले पारेको नकारात्मक प्रभावसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गत ३ असोजमा त्यसतर्फ गएका नेपाल ९ असोजमा स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि उनले भावी रणनीति तय गर्न निकटस्थ नेताहरूसँग परामर्श गरिरहेका छन् ।

नेपालसँगै अर्का नेता नारायणकाजी श्रेष्ठ पनि चीन भ्रमणबाट निर्णय भएकै राति फर्किएकाले बैठकमा उपस्थित थिएनन् । उनले पनि उक्त निर्णयप्रति असहमति रहेको बताइसकेका छन् । 'प्रधानमन्त्री र अध्यक्षसँग कुराकानी गर्न पाएको छैन, अब भेटघाट र बैठकमा छलफल हुन्छ,' श्रेष्ठको भनाइ छ।

नेपालपक्षीय नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, जगन्नाथ खतिवडा र तुलबहादुर गुरुङले सार्वजनिक रूपमै निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाएका थिए । प्रदेश-४ र ५ मा मुख्यमन्त्रीहरू पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई इन्चार्जको समेत दोहोरो जिम्मेवारी दिएकामा नेपाल समूह बढी आक्रोशित छ । यस्तो निर्णयले प्रदेश सरकारसमेत पार्टीको नियन्त्रणमा नरहने तथा नियन्त्रण र सन्तुलनको अवस्था खल्बलिन सक्ने नेपाल पक्षको बुझाइ छ ।

उता, निर्णयप्रति पूर्वमाओवादी पृष्ठभूमिका स्थायी समिति सदस्यहरू देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, अग्नि सापकोटा, मणि थापालगायत नेता पनि असन्तुष्ट छन् ।

थप मापदण्ड बनेपछि मात्र प्रदेश, जिल्ला र जनसंगठनको एकीकरण टुंग्याउनुपर्ने अडानमा रहेका वरिष्ठ नेता झलनाथ खनाल, रामबहादुर थापा बादल, वामदेव गौतमलगायत नेता भने सचिवालयको पछिल्लो निर्णयमा सहमत छन् । स्रोतका अनुसार पछिल्लो बैठकमा खनालले नै छिटो नेतृत्व टुंग्याउँदा उपयुक्त हुने धारणा राखेपछि अध्यक्षद्वय ओली र प्रचण्डले केहीबेर छुट्टै गृहकार्य गरेर प्रस्तुत गरेको नामावलीलाई बैठकले अनुमोदन गरेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।