जावेद अख्तरकी आमाको एउटा सोख थियो– चिठी लेख्ने। उनी लगभग दैनिक एउटा चिठी लेख्थिन्। पति जानिसार अख्तरलाई लेखेको एउटा चिठीमा उनले छोरा जावेदको बारेमा उल्लेख गरेकी थिइन्। ‘जादूको हालत सुनाउन होइन, हेर्नलायक छ। तिम्रो हजुरबा को हो भनेर सोध्यो भने स्टालिन भन्छ। काका को भनेर सोधे गालिबको नाम लिन्छ,’ उनले चिठीमा लेखेकी थिइन्।
जावेद अख्तर सम्झिन्छन्, ‘मेरो मातापिताको वैवाहिक जीवन सुरु भएको नौ वर्ष बितेको थियो र उनीहरु अक्सर सँगै हुँदैनथे।’ जावेदको जन्म १७ जनवरी १९४५ मा ग्वालियरको एक अस्पतालमा भएको थियो। उनलाई हेर्न आएका एक आफन्तले जावेदका पितालाई बच्चाको नाम के राख्नुहुन्छ भनेर जिज्ञासा राखे। उनैले बुबालाई एक सन्दर्भ सुनाइदिए। जावेदका पिताले बिहे गर्ने बेला पत्नीलाई एउटा गजलको टुक्रा सुनाएका थिए– लम्हा लम्हा किसी जादूका फसाना होगा।’ तिनै आफन्तले सुझाए– बच्चाको नाम जादू राख्नुस्।
‘चार वर्षसम्म मलाई यसै नामले बोलाइयो। स्कुल जाने समय आएपछि भने यो नाम धेरैलाई जँचेन। यस्तो पनि नाम हुन्छ भनेर उडाउन थाले। त्यसपछि जादूसँगै मिल्दोजुल्दो अर्थ लाग्ने अर्को नाम खोज्न थालियो। त्यसपछि आयो– जावेद। जावेदको अर्थ हुन्छ अनन्त, अमर वा सधैंको लागि। चाखलाग्दो कुरा त के छ भने अझै पनि मेरो परिवारका सदस्य र पुराना साथीहरु मलाई जादू नै भनेर बोलाउँछन्,’ जावेद भन्छन्।
कानमा कम्युनिस्ट मेनिफेस्टो
जब कुनै मुस्लिम परिवारमा बच्चा जन्मिन्छ, उसको कानमा अजान (एक इस्लामिक आह्वान) सुनाइन्छ। जावेद भन्छन्, ‘म जन्मेपछि बुबाका साथीहरुले उहाँलाई भनेछन्– तँ त नास्तिक होस्। तँलाई त अल्लाहमा कुनै विश्वास छैन। अब के गर्छस्? बच्चाको कानमा अजान पढ्छस् कि पढ्दैनस्? त्यहीबेला बुबाको कुनै एक साथीको हातमा कम्युनिस्ट मेनिफेस्टो रहेछ। बुबाले त्यो माग्नुभयो र मेरो कानमा त्यही सुनाइदिनुभयो– वर्कर्स अफ र वर्ल्ड युनाइट, यु ह्याभ नथिङ टु लुज बट योर चान्स।’
संघर्षका दिन