काठमाडौं- नेपाली कांग्रेसका सांसद विजय कुमार गच्छदारले २६ वर्ष लामो संसदीय इतिहासमा सत्तापक्षकै सांसद सरकारको विरोधमा उत्रिएको पहिलोपटक अनुभव गरेको बताए।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै नेता गच्छदारले सरकार निरिह भएको बताए। यो सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई कार्यान्वयन गर्न सरकारले सकारात्मक भूमिका खेलेको समेत नेता गच्छेदारले बताए।
उनले भने, 'संविधान जारी भएको चार बर्षसम्म सत्ताको लागि लुछाचुँडी नगरौं भनेँ तर सुनिएन। संविधान कार्यान्वयन गर्न यो सरकारको ठूलो भूमिका रहेको पाइयो। कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका खेलेन भनेर आलोचना पनि धेरै खेपियो तर कांग्रेस जिम्मेवार प्रतिपक्षी हो।'
राजनीतिक दलबीच सहमति, सहकार्य र एकताको आवश्यकता औंल्याउँदै उनले भने, 'संविधान कार्यान्वयन गर्न कानुनहरु पारित गरेर राम्रो काम गरेको छ। पछिल्लो समय हिंसा र हत्याका घटनाको श्रृंखलामा वृद्धि भएको छ।'
उनले यस्ता घटना पहिलो हुने गर्दथे भनेर गृहमन्त्रीले पन्छिन नमिल्ने समेत गच्छेदारले बताए। 'सरकार शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री असक्षम र असफल भए। हिजो त्यस्ता घटना हुन्थे अहिले पनि भए भनेर गृहमन्त्रीले भन्नु सुहाउँदैन। त्यसो त पञ्चायतकालमा पनि बलात्कार र अपराध हुन्थ्यो। कारबाही हुन्थ्यो,' उनले भने।
निर्मला हत्या प्रकरणका दोषीलाई कारबाही गर्न एसपी होस वा मेयरका छोरा, अपराधी जो भएपनि कारबाही गरिनुपर्ने उनले बताए। उनले भने, दोषीलार्इ कारबाही गर्न के कानुन छैन, यो देशमा ? आयोग नै बनाउनु पर्छ र? यस्तो निरिह बनेको हो, राज्य। प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका सांसदहरुसँग गुहार माग्नु हुन्छ सरकारको प्रतिरक्षा किन नगरेको? सरकारलाई जोगाउनुस्, प्रतिपक्षीलाई किन जवाफ नदिएको, भनेर। प्रधानमन्त्रीले यस्तो बोलेको मैले कहिल्यै सुनेको थिईँन', उनले भने।
'प्रधानमन्त्रीले नै आफ्ना पार्टीका नेताकार्यकर्ताहरुलार्इ अरिंगालको गोलामा ढुंगामा हान्दा जसरी अरिंगाल जाईलाग्छ, त्यसरी नै लड्नुस, भिंड्नस भन्नु हुन्छ। के यसरी भिंडेर मुलुक चल्छ। मुठभेड निम्त्याउन मिल्छ। कानुनी शासन अनुसार मुलुक चल्ने हो?' , गच्छदारको प्रश्न थियो।
जनता कर र महँगीको मारमा भएको बताउँदै नेता गच्छेदारले जनतालाई यो संविधानले पीडा दिएको महसुस गराउन नहुने उनले बताए। उनले भने, 'संघीयता कमजोर बनाउने काम यो सरकारले गरेको छ। सातमध्ये ६ वटा प्रदेशमा सत्तारुढ दलको सरकार छ। यो संघीयता कार्यान्वयनमा प्रधानमन्त्रीको मैले प्रधानमन्त्रीसँग शंका गरिरहनु परेको छ। संघीयता मेरो मान्यता होइन, आस्था होइन। संघीय राज्यको आवश्यकता छैन। उहाँले बारम्बार भन्नु हुन्थ्यो। तर कांग्रेसले चाह्यो, माओवादीले चाह्यो, तपाईहरुले चाहनु भयो र संघीयता आयो।'
समृद्ध नेपाल बनाउन सरकारले घोषणा गरे पनि ति कार्यक्रमहरु खोक्रो नारा र सपना बन्दै गरेको समेत उनले बताए। उनले भने, 'पूर्व पश्चिम राजमार्गलाई ६ लेनको राजमार्ग बनाउने र त्यही छेउमा द्रुत गतिमा रेल चलाउने भन्नु हुन्छ। के रेल दौडिनको लागि चाहिने हजारौं पुलहरु काठको पुलबाट सम्भव हुन्छ? जयनगरदेखि जनकपुरहुँदे बर्दिवाससम्मको रेल त कुदाउन नसकेको अवस्थामा पुर्वदेखि पश्चिमसम्म दू्रत गतिको रेलवे चलाउने काम सम्भव हुन्छ र?'
यो सरकारले ५ हजार मेगावाट जलविद्युत अयोजना बनाउँछु भनेको भएपनि सरकारले कुनै आयोजना नल्याएको उनले दाबी गरे। उनले सरकारलार्इ कुनै आयोजना ल्याएको भए देखाउन चेतावनीसमेत दिए।
चिकित्साशास्त्र विधेयक यो अधिवेशनमा नआउनु गम्भिर दुखद कुरा भएको समेत उनले बताए। वर्षे अधिवेशन आजबाट सकिँदै छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४