शनिबार, वैशाख २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • लाइसेन्स वितरणमा बदलियो नियम, पाँचपल्ट गल्ती गरे खारेज [भिडियोसहित]

लाइसेन्स वितरणमा बदलियो नियम, पाँचपल्ट गल्ती गरे खारेज [भिडियोसहित]

लिखित र प्रयोगात्मक दुवै परीक्षा पास भएर लाइसेन्स कुरेर बसेकाको संख्या ६ लाखभन्दा धेरै छ। स्मार्ट कार्डको अभाव भएपछि छपाइ प्रक्रिया रोकिएको विभागका अधिकारी बताउँछन्।
 |  मंगलबार, साउन २६, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

मंगलबार, साउन २६, २०७८

vianetvianet

काठमाडौं– सरकारले ट्रायल परीक्षा पास गर्नेलाई सीधै स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नदिने भएको छ। पहिलो एक वर्षका लागि अस्थायी लाइसेन्स दिने र पाँच पटकभन्दा कम ट्राफिक नियम उल्लंघन गरेमात्रै स्मार्ट लाइसेन्स दिन लागिएको हो।

triton college

यस्तो व्यवस्था साउन १ गतेदेखि कार्यान्वयन गर्ने तयारी भए पनि कोभिड–१९ महामारीका कारण नयाँ लाइसेन्सका लागि परीक्षा हुन सकेको छैन। यातायात व्यवस्था विभागले भदौ १ गतेबाट नयाँ लाइसेन्सका लागि आवेदन खोल्ने तयारी गरेको थियो।

तर, विद्यालय स्तरका परीक्षा स्थगित भएपछि तत्काल खुल्ने सम्भावना नरहेको विभागका महानिर्देशक नमराज घिमिरे बताउँछन्। उनी भन्छन्, ‘हामीले भदौ १ बाट नयाँ लाइसेन्स खोल्ने तयारी गरेका थियौं। तर कक्षा १२ को परीक्षा स्थगित भएपछि नयाँ वितरणको सम्भावना कमजोर छ।’ 

नयाँ लाइसेन्स दिने प्रक्रिया सुरु भएपछि अस्थायी लाइसेन्स वितरण गरिने विभागले जनाएको छ। परीक्षण लाइसेन्सका रूपमा क्यूआर कोड भएको परिचयपत्र जस्तो कार्ड दिइनेछ। यस्तो कार्डमा स्मार्ट लाइसेन्समा जस्तै सबै विवरण राखिनेछ भने चिप्सको ठाउँमा क्यूआर कोड हुनेछ। 

परीक्षणकालीन लाइसेन्स बोकेका चालकले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेमा लाइसेन्स स्वतः रद्द हुने प्रावधान राखिएको छ। विभागका महानिर्देशक घिमिरेका अनुसार त्यसपछि पुनः नयाँ प्राप्तिका लागि सुरुदेखि नै सबै प्रक्रिया पूरा गर्नुपर्नेछ। चालकले कति पटक गल्ती गर्‍यो भन्ने कुरा रेकर्डमै बस्ने र त्यसलाई ट्राफिक प्रहरीले सजिलै स्क्यान गर्न गरेर पढ्न सक्ने व्यवस्था गरिएको छ। 

National life insurance

परीक्षणकालीन सवारी अनुमतिपत्र नक्कली नबनोस् भनेर सेक्युरेटी फिचर राखिएको छ। घिमिरे भन्छन्, ‘मोबाइलमा ट्राफिक प्रहरीले सजिलै पढ्न सक्छन्।’ स्मार्ट लाइसेन्स वितरणमा देखिएको झमेला कम गर्न यसो गरिएको हो भन्ने जिज्ञासामा महानिर्देशक घिमिरेले भने, ‘त्यस्तो होइन, यसले केही सहयोग गर्ला तर पहिलो चरणमा अस्थायी लाइसेन्स दिने व्यवस्था कानुनमै छ।’ स्मार्ट लाइसेन्स वितरण सहज भए पनि अस्थायी रुपमा दिइने लाइसेन्स नरोकिने उनले बताए।

अझै ६ लाखले पाएनन् स्मार्ट लाइसेन्स

लिखित र प्रयोगात्मक दुवै परीक्षा पास भएर लाइसेन्स कुरेर बसेकाको संख्या ६ लाखभन्दा धेरै छ। स्मार्ट कार्डको अभाव भएपछि छपाइ प्रक्रिया रोकिएको विभागका अधिकारी बताउँछन्। 

२०७७ मंसिरमा भएको टेन्डर नयाँ कम्पनीले हात पारेपछि छपाइमा समस्या देखिएको छ। नयाँ कम्पनीले नयाँ कार्ड बनाउने र उक्त कार्डले पुरानो कार्ड सिस्टम नचिन्ने भएकाले समस्या उत्पन्न भएको घिमिरेले बताए। 

यसअघि प्रिन्टरको समस्याका कारण ८ लाख भन्दा धेरैले लाइसेन्स पाएका थिएनन्। पहिले भएको प्रिन्टरले एक घन्टामा ४० वटा कार्ड मात्रै प्रिन्ट गथ्र्यो। २४ घण्टामा एउटा प्रिन्टरले ९६० वटा कार्ड प्रिन्ट गर्न सक्थ्यो।  मास प्रिन्टर ल्याएर उक्त समस्या हल गरिएको महानिर्देशक घिमिरेले बताए। उनका अनुसार मास प्रिन्टरले एक घण्टामा ४ सय ५० वटा कार्ड प्रिन्ट गर्छ। उनका अनुसार कार्डको समस्या सम्बोधन भएपछि प्रतीक्षामा बसेकाहरुले चाँडै लाइसेन्स पाउनेछन्। 

प्रयोगात्मक र लिखित परीक्षाको ढाँचामा पनि परिवर्तन

लाइसेन्स पाउन लिइने प्रयोगात्मक र लिखित परीक्षाको ढाँचामा पनि परिवर्तन गरिएको छ । यसअघि शतप्रतिशत (१०० अंक) पास गर्नुपर्ने प्रयोगात्मक (ट्रायल) परीक्षामा अब ७० अंक ल्याए लाइसेन्स पाउन योग्य मानिनेछ। तर, अहिलेसम्म ५० प्रतिशत अंक ल्याए पास हुने लिखित परीक्षा भने अब पास हुन ८० अंक ल्याउनुपर्नेछ। 

यससम्बन्धी कार्यविधि निर्देशिका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २० चैत २०७७ मा स्वीकृत गरिसकेको छ । कार्यविधि निर्देशिकाअनुसार परीक्षाको परिवर्तित व्यवस्था मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि मात्र लागू  हुनेछ । 

कुन चरणको अंकभार कति?

प्रयोगात्मक परीक्षणको हरेक चरणको अंकभार फरक–फरक निर्धारण गरिएको छ । परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनमा सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा ३ अंक घट्नेछ । हेलमेटका लक नलगाई सवारी चलाएमा ४ अंक र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएमा ३ अंक घट्नेछ । घुमाउरो आठको अंकभार २० अंक छ । जसमा घुमाउरो आठको एकपटकसम्म रेखा छोएमा र एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा १० अंक घट्नेछ । यति हुँदैमा परीक्षार्थी फेल हुने छैन । घुमाउरो आठमा एकपटकभन्दा बढी अंकित रेखा छोएमा, टायर रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा बढी खुट्टाले भुइँ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा, सवारीको स्टार्ट बन्द भएमा फेल भएको घोषणा गरिनेछ ।

साँघुरो फलेकको अंकभार १० छ । यसमा १० अंक नै अनिवार्य ल्याउनुपर्नेछ । खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै सवारी फलेकबाट बाहिर निस्केमा स्वतः फेल हुनेछ । त्यस्तै, यु–टर्नको अंकभार १० छ । टर्निङमा इन्डिकेटर लाइट नबालेमा १० अंक नै घट्नेछ । यु–टर्नमा अंकित रेखा छोएमा पनि फेल हुनेछ ।

ट्राफिक संकेत (लाइट) को अंकभार १५ छ । ट्राफिक लाइटको पालना नगरे १५ नम्बर  काटिनेछ । स्पिड ब्रेकर वा उबडखाबडको अंकभार १५ छ । स्पिड ब्रेकरमा एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एकपटक सवारी स्टार्ट बन्द भएमा ५ नम्बर घट्नेछ । स्पिड ब्रेकरमा एकपटकभन्दा बढी भुइँमा टेकेमा वा सवारी स्टार्ट बन्द भएमा फेल हुनेछ ।


प्रकाशित: Aug 10, 2021| 17:53 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।