जनकपुरधाम- पुरानो न्यारो गेजलाई विस्थापित गर्दै जनकपुर-जयनगर रेलमार्ग ब्रोडगेजमा परिणत भएको छ।
भारत सरकारको सहयोगमा निर्मित ब्रोडगेजमा केही दिनभित्रै रेल गुडाउने तयारी चल्दैछ। आगामी अक्टोबरको अन्त्यसम्म ब्रोडगेज रेलमार्गसहित भौतिक संरचनाहरू भारतले नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी छ।
तर, यसअघि जनकपुर-जयनगर मार्गमा गुड्दै आएको न्यारोगेज रेलका पुराना सम्पत्तिहरू कवाडीमा परिणत भएका छन्। ब्रोडगेज रेलमार्गको निर्माण थालिएसँगै राज्यले चासो नदिँदा पुराना वाष्प इन्जिन, बोगीलगायत सामान लथालिंग अवस्थामा छन्। ब्रोडगेज निर्माणका क्रममा रेलसेवा बन्द भएपछि पुराना इन्जिन, बोगी र अन्य महत्वपूर्ण पार्टपूर्जाहरू संरक्षण अभावमा खिया लागेर नष्ट भइरहेका छन्।
नेपाल रेलवेको विघटन भएपछि सरकारले ती सम्पत्ति संरक्षण गर्न १६ जना कर्मचारी खटाएको थियो। तर, संरक्षणतर्फ चासो नदिँदा इन्जिन पार्टपूर्जादेखि कारखानामा रहेका अन्य सामग्रीसमेत हराउन थालेका छन्।
जनकपुरबाट करिब १५ किलोमिटर टाढा पर्ने खजुरी रेल स्टेसनस्थित कारखानामा थन्क्याइएका पुराना ब्रम्ह, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीर उल्लेखित ऐतिहासिक रेल इन्जिनको संरक्षण हुन सकेको छैन। २०५० सालसम्म वाष्प इन्जिनले सेवा दिँदै आएको नेपाल रेलवे ०५१ सालमा भारत सरकारले १८ बोगीसहित डिजेल इन्जिन सहयोग गरेपछि जनकपुर–जयनगर रेलमार्गमा आधुनिक रेल सञ्चालनमा आएको थियो।
विश्वभरबाट लगभग विस्थापित भइसकेको वाष्प इन्जिनलाई संरक्षण गरेर म्युजियमको रूप दिन सके पर्यटकलाई आकर्षित गर्नुका साथै आर्थिक स्रोतसमेत बढाउन सकिने खजुरीका बासिन्दा बताउँछन्।
संसारमा कतै नभएको इन्जिन नेपालसँग हुनु गौरवको विषय रहेको खजुरीका बासिन्दा धनिकलाल दासको बुझाइ छ। ‘खजुरी स्टेसनमै संग्रहालय निर्माण गरेर पर्यटकलाई आकर्षित गर्न सकिन्छ। संग्रहालय निर्माण हुँदा पुराना इन्जिनहरूको पनि संरक्षण हुन्छ,’ दासले भने, ‘पुराना इन्जिन हेर्न नयाँ पुस्ताका लागि चाखलाग्दो विषय हुनेछ। र, पर्यटन व्यवसायलाई प्रबर्द्धन गर्न सहयोग मिल्नेछ।’
महत्वपूर्ण र ऐतिहासिक सम्पत्तिका रूपमा रहँदासमेत संरक्षण तथा संग्रहालय निर्माणतर्फ सरकारले ध्यान नदिएपछि त्यहाँका बासिन्दा चिन्तित बनेका छन्। पर्यटकीय र धार्मिक नगरी जनकपुर वा आसपासमा रेल संग्रहालय निर्माण गर्न सकिए पर्यटकीय विकासमा ठूलो टेवा पुग्न सक्ने स्थानीय सोनु ठाकुर बताउँछन्।
'यी इन्जिनहरू अन्य मुलुकमा भए त्यहाँका सरकारले संरक्षण गरेर आयआर्जनको बाटो बनाइसकेका हुन्थे,' स्थानीय मनोज साहले भने।
केन्द्र तथा प्रदेश सरकारले रेल संग्रहालय बनाउनेतर्फ चासो नदिँदा पछिल्ला दिनमा खजुरीका बासिन्दा आफै सक्रिय भएका छन्। नयाँ पुस्तालाई इतिहासबारे अवगत गराउने मान्यताका साथ उनीहरू संग्रहालय निर्माणका लागि विभिन्न निकायमा पुगेर पहल थालेका छन्।
अहिले रेलवेका पुराना संरचनाहरू राखिएको जग्गा वरिपरि नेपाल रेलवेकै १० बिघाभन्दा बढी जग्गा छ। ती जग्गालाई उपयोग गरी रेल संग्रहालय बनाउन सहज छ। तर, संग्रहालय निर्माणतर्फ कसैको ध्यान पुग्न सकेको छैन।
ती इन्जिनहरू अन्यत्र लगिए कवाडीको मूल्यमा बिक्री हुने निश्चित रहेको नेपाल रेलवेका अवकाशप्राप्त कर्मचारी महेन्द्र कार्की बताउँछन्। रेलवेका पुराना संरचना जोगाउन संग्रहालय निर्माणका लागि आफूहरूले विभिन्न निकायसँग माग गर्दै आएको कार्कीले बताए।
ठूलो रेल नेटवर्कका लागि प्रसिद्ध भारतले पनि आफ्ना पुराना इन्जिनहरूलाई अझै संरक्षण गरेर राखेका प्रशस्तै उदाहरण छन्। मेट्रोदेखि विद्युतीय रेलको क्षेत्रमा फड्को मारिसकेको भारतको दार्जिर्लिङमा अझै वाष्प इन्जिन चढेर पर्यटक रमाउने गरेका छन्। रेल चढेवापत पर्यटकले त्यहाँ पैसा खर्चिनुपर्छ। यस्तै, विहारको राजधानी पटना र मुजफ्फरपुर स्टेसन परिसरमा त्यहाँको रेल विभागले पुराना इन्जिनलाई जोगाएर राखेको देखिन्छ।