पेरिस (एजेन्सी)-फ्रेन्च लिग वानमा साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । लिग वान अन्तर्गत बुधबार राति रेइम्सलाई ४-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै पीएसजीले आफ्नो अपराजित यात्रालाई सातौ खेलसम्म कायम राखेको हो ।
पीएसजीको जितमा इडिन्सन काभानीले दुई तथा नेयमार र थोमस म्युनियरले समान एक गोल गरे । पराजित टिमका लागि चाभालिरिनले गोल गरे । घरेलु मैदानमा पीएसजी खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो । तर, खेलमा पछि परेको स्थिति उल्ट्याउदै पीएसजीले शानदार जित निकालेको हो ।
दोस्रो मिनेटमा जेभियर चाभालिरिनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, रेइम्सको त्यो अग्रता तीन मिनेट पनि टिकेन । पाँचौ मिनेटमा काभानीले बराबरी गोल फर्काए । २४औं मिनेटमा नेयमार जुनियरले गोल गरेपछि पीएसजीले खेलमा २-१ को अग्रता लिन सफल भयो ।
४४औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि पीएसजीले पहिलो हाफमा ३-१ को अग्रता लियो । ५५औं मिनेटमा म्युनियरले गोल गरेपछि पीएसजीले ४-१ को फराकिलो जित दर्ता गर्न सफल भयो ।
पहिलो गोल गरेपनि रेइम्सले त्यसपछि पीएसजीको पोस्टमा कुनै पनि समय गतिलो आक्रमण बुन्न सकेन । लगातार सातौ जितसँगै पीएसजी ७ खेलबाट २१ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । पराजित रेइम्स ८ अंक जोडेर १४औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४