मड्रिड (एजेनसी)-स्पेनिस ला लिगा अन्तरगत बुधबार राति भएको खेलमा लिगका शीर्ष टोली बार्सिलोना र रियल मड्रिडले आ-आफ्नो खेलमा अप्रत्यासित पराजय ब्यहोरेका छन् । ला लिगामा दुवै टोली ३ बर्ष पछि एकै दिन पराजित भएका हुन् । यसअघि यि दुबै टोली सन् २०१५ मा पहिलो पटकसँगै एकै दिन पराजित भएका थिए ।
रियल मड्रिड सेभियासँग ३-० को अपत्यारिलो पराजय ब्यहोर्दा लिग तालिकाको अन्तिममा रहेको लेगानेसले शीर्ष स्थानमा रहेको बार्सिलोनालाई २-१ गोलले पराजित गरेको थियो । खेलमा बार्सिलोनाले अग्रता लिएर पनि जोगाउन भने सकेन ।
सेभियाका लागि आन्द्रे शिल्भाले खेलको १७औं र २१औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर विसम बेन याडरले उत्कृष्ट भली गोलमार्फत टोलीलाई ३-० को अवस्थामा पुर्याए । याडरको यो सिजनको छैटौं गोल हो ।
दोस्रो हाफमा रियलले खेलमा फर्कने प्रयास गरेको थियो । तर, सेभियाको रक्षापंक्तिले उसको प्रयास विफल पारिदियो । हालैमात्र फिफा वर्षखेलाडीको अवार्ड जितेका क्रोएशियाली प्लेमेकर लुका मोड्रिचले दोस्रो हाफमा गोल गरेको थिए । तर, भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइड करार गरिदिए ।
यता बार्सिलोनाले सुरुआती अग्रता लिएर पनि जोगाउन नसक्दा लिग तालिकाको पुछारमा रहेको लेगानेससँग पराजय भोग्नु पर्यो । लेगानेसको यो यस सिजनको पहिलो जितको हो । फिलिप काउटिन्होले मेस्सीको पासमा खेलको १२औं मिनेटमै गोल गरेका थिए ।
तर, लेगानेसका लागि नाभिल एल जार र ओस्कार रोड्रिग्वेजले ८० सेकेण्डको अन्तरमा दुई गोल गरेपछि मेस्सी प्रेरित बार्सिलोनाले सिजनमा पहिलो हार ब्यर्हयो । अर्नेस्टो भाल्भर्डेले गत सिजनमा टिम सम्हालेपछि लिगमा बार्सिलोनाको यो दोस्रो पराजय हो ।
पराजय पछि पनि बार्सिलोना र रियल मड्रिड समान ६ खेलबाट समान १३ अंकसहित लिगको शीर्ष र दोस्रो स्थानमा छन् । सेभिया १० अंकसहित अंकतालिकाको चौथो स्थानमा पुगेको छ भने लेगानेस पनि महत्वपूर्ण तीन अंक जोडेर लिगको १७औं स्थानमा उक्लिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४