शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डका चार उपप्रधानमन्त्री : राजावादीदेखि मृत्युको कामना गर्नेसम्म

प्रचण्डका चार उपप्रधानमन्त्री : राजावादीदेखि मृत्युको कामना गर्नेसम्म

प्रचण्ड सरकारमा राजावादी, नागरिकता र पासपोर्ट विवादमा मुद्दा चलिरहेका, ललिता निवासको सरकारी जग्गा छोराको नाममा पास गराएका र कहिल्यै संसदीय चुनाव नजितेका नेता उपप्रधानमन्त्री बनेका छन्।
 |  मंगलबार, माघ ३, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

मंगलबार, माघ ३, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। सात दलीय सत्ता गठबन्धनमध्ये सरकारमा सहभागी ५ दलले मन्त्रीको नाम बुझाएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। मंगलबार नै राष्ट्रपति कार्यालय शीतलनिवासबाट सपथ खाएर मन्त्रीहरूले आ–आफ्ना मन्त्रालय सम्हालिसकेका छन्। जनता समाजवादी पार्टी (जसपा)ले भागबन्डामा चित्त नबुझेपछि मन्त्रीको नाम पठाएको छैन भने रेशम चौधरी रिहा नभएसम्म सरकारमा नजाने अडान लिएको नागरिक उन्मुक्ति पार्टीले पहिले नै सरकारमा नजाने निर्णय गरिसकेको छ। माओवादी, नेकपा एमाले, रास्वपा, राप्रपा र जनमतसहितका दल सरकारमा सहभागी भएका छन्।

triton college

आज तीन राज्यमन्त्रीसहित १६ मन्त्रीले सपथ लिएका छन्। यसअघि प्रधानमन्त्रीसहित ८ मन्त्रीले सपथ लिएका थिए। पहिले नै सपथ लिएका तीनसहित प्रचण्ड क्याबिनेटमा ४ उपप्रधानमन्त्री बनेका छन्। प्रचण्डले पाँच जना उपप्रधानमन्त्री बनाउने तयारी गरिरहेकाले आगामी दिनमा थप एक जना उपप्रधानमन्त्री थपिन सक्नेछन्। मन्त्रिपरिषद्मा राप्रपाका राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, रास्वपाका रवि लामिछाने उपप्रधान तथा गृह, एमालेका विष्णु पौडेल उपप्रधान तथा अर्थ र माओवादीका नारायणकाजी उपप्रधान तथा भौतिकमन्त्री छन्। तीन उप्रधानमन्त्रीले गत ११ पुसमा सपथ लिइसकेका छन् भने लिङ्देनले आजै मात्र सपथ लिएका हुन्।

चार उपप्रधानमन्त्रीमा राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा बोकेर हिँडेकादेखि प्रचण्डको मृत्युको कामना गर्नेसम्मका व्यक्ति अटाएका छन्। लिङ्देन राजतन्त्रको मुद्दा बोकेर हिँडेका नेता हुन् भने केही समयअघिसम्म प्रचण्डको खरो आलोचक रहेका लामिछानेले  एक पटक प्रचण्ड मरेर केही नहुने भन्नेसम्मको अभिव्यक्ति दिएका थिए। 

राजेन्द्र लिङ्देन
संघीयता, गणतन्त्र र धर्म निरपेक्ष राष्ट्रका विरोधी नेता लिङ्देन अघिल्लो वर्ष पार्टी अध्यक्षमा निर्वाचित भएका थिए। १९ मंसिर २०७८ सम्पन्न राप्रपाको महाधिवेशनमा लामो समयदेखि नेतृत्व सम्हालेका कमल थापालाई हराएका थिए। हारपछि थापाले निर्मल निवास आफूलाई हराएको आरोप लगाउँदै राप्रपा नेपाल ब्युँताएका थिए। थापाले राजतन्त्रको मुद्ददा त्यागिसकेका छन् तर हिन्दु राष्ट्रको मुद्दा बोकेर गत निर्वाचनमा सहभागी भएका उनले जित निकाल्न सकेनन्। त्यसो त, २०५१ को मध्यावधि निर्वाचनमा बाहेक थापाले २०४८ यता कुनै पनि संसदीय निर्वाचनमा जितेका थिएनन्। तर समानुपातिकबाट सांसद भई पटक–पटक सिंहदरबारको यात्रा गरेका थिए। थापालाई हराएपछि राप्रपाको नेतृत्वबाट थप चर्चामा आएका लिङ्देनको राजनीतिक यात्रा भने नौलो थिएन।

२२ भदौ २०२२ मा झापाको अमरपुरमा जन्मिएका लिङ्देनका बुबा पञ्चायतकालीन गाउँपालिका अध्यक्ष थिए। २०३६ मा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध भएर राजनीतिक यात्रा थालनी गरेका उनी २०४७ मा राप्रपाको जिल्ला सचिव बनेका थिए। २०४९ मा स्थापित राप्रपा विद्यार्थी संगठनका उनी संस्थापक अध्यक्ष बने। २०६६ मा पार्टीको केन्द्रीय सदस्य बनेका उनले त्यसपछि २ कार्यकाल महामन्त्री पनि सम्हाले। २०७० मा पहिलो पटक संसदीय अभ्यासमा सहभागी भएका उनी पराजित भए। तर ०७४ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई झापा ३ बाट पराजित गरी उनी राष्ट्रिय राजनीतिमा चर्चामा आएका थिए। गत ४ मंसिरको चुनावमा सिटौलालाई पराजित गर्दै निर्वाचन जितेका उनले ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह मानेर काम गर्छु’ भनेर सपथ लिएका थिए। 

Metro Mart
vianet

रवि लामिछाने
२०५९ मा भिजिट भिसमा अमेरिका हान्निएका रवि त्यसको १० वर्षपछि नेपाल फर्किएका थिए। २०७० मा ६२ घन्टा १२ मिनेटसम्म लगातार टेलिभिजन कार्यक्रम चलाएर रेकर्ड राखेपछि उनी चर्चामा आएका थिए। पछि केपी ओली प्रधानमन्त्री हुँदा उनले नेपाल टेलिभिजनमा ‘सिधा कुरा प्रधानमन्त्री’सँग कार्यक्रम चलाए, जसले उनको लोकप्रियता बढ्यो। तर १९ साउन २०७३ मा  प्रचण्ड प्रधानमन्त्री भएपछि रविलाई उक्त कार्यक्रम हटाइयो। यसको जिम्मा माओवादी निकट पत्रकार बबिन शर्मालाई दिइयो। त्यसयता रवि प्रचण्डका कट्टर आलोचक थिए। त्यसपछि न्यूज २४ मा सिधा कुरा जनतासँग चलाएर आमसर्वसाधारणका मुद्दा उठाएपछि उनी ‘सेलिब्रिटी’ नै बने। सोही कार्यक्रममार्फत २०७५ चैतमा उनले टिप्पणी गरेका थिए, ‘प्रचण्ड मारिए पनि केही फरक पर्दैन।’ उक्त अभिव्यक्तिपछि उनको चर्को आलोचना भएको थियो। 

त्यसयता पनि उनी र प्रचण्डबीच कहिल्यै सुमधुर सम्बन्ध बन्न सकेन। गत असारमा पार्टी दर्ता गराएर राजनीतिमा आएपछि उनले प्रचण्डकै क्षेत्र चितवन ३ मा गएर चुनाव लड्ने स्टन्ट पनि गरेका थिए। तर पछि प्रचण्ड चुनाव लड्न गोरखा गए, रवि चितवन २ बाट विजयी भए। उनी मात्रै होइन, समानुपातिकसहित रास्वपाले देशैभरबाट २० सिट जितेको छ। पार्टी स्थापनाको छोटो समयमै राष्ट्रिय राजनीतिमा उदाएको उक्त दल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको हो।

रवि अमेरिका पुगेपछि उनले उतैको ग्रिनकार्ड लिएका थिए। तर त्यतिन्जेल उनले नेपाली नागरिकता त्यागेका थिएनन्। नेपाल फर्किएपछि पनि उनले दोहोरो नागरिकता र पासपोर्ट यथावत राखेको आरोप लागेको थियो। उक्त आरोपपछि उनले अमेरिकाको नागरिकता त्यागेका थिए। तर अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरी फेरि नेपाली नागरिकता पाउन निवेदन नदिएको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा किनारा लागिसकेको छैन। हाल उनी गृहमन्त्री छन्।

विष्णु पौडेल
पौडेल २०५१ को मध्यावधि निर्वाचनमा पाल्पाबाट निर्वाचित भई संसद् छिरेका थिए। २०५६ मा रुपन्देहीबाट पराजित उनी २०६४ यता रुपन्देही २ बाट लगातार ४ पटक विजयी नेता हुन्। यसअघि एमाले र नेकपाबाट गरी तीन पटक अर्थमन्त्री बनिसकेका उनी चौथो पटक अर्थमन्त्री तथा उपप्रधानमन्त्रीमा नियुक्त भएका हुन्। २०१६ मा स्याङ्जामा जन्मिएका पौडेल २०३५ देखि वामपन्थी राजनीतिमा सक्रिय थिए। उनी २०५३ मा खेलकुद तथा संस्कृतिमन्त्री, २०६५ जलस्रोतमन्त्री, २०६५ मा रक्षामन्त्री, २०७२ र २०६७ र २०६८ मा अर्थमन्त्री बनेका थिए।

bishnu poudel३ वर्षअघि उनी ललिता निवास जग्गा प्रकरणमा विवादमा तानिएका थिए। २२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री, मन्त्री, पूर्वसचिवलगायत १७६ उच्चपदस्थ व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर ग¥यो, ललिता निवासको ११३ रोपनी जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा। उक्त जग्गा प्रकरणमा अर्थमन्त्री पौडेलको नाम पनि जोडिएको थियो। बालुवाटारको जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा पास गर्ने आरोप लागेका मुख्य नाइके शोभाकान्त ढकालसँग समेत राम्रो सम्बन्ध भएका पौडेलका छोरा नवीनको नाममा ८ आना जग्गा पास भएको खुलेको थियो। ललिता निवासको कित्ता नम्बर ३०९ र ३१५ को ८ आना जग्गा २९ पुस २०६१ मा पौडेलका छोरा नवीनको नाममा सरेको डिल्लीबजार मालपोतको रेकर्डमा देखिएको बाहिरिएको थियो। तर उनीविरुद्ध उक्त मुद्ददा भने परेको थिएन। उनले ‘खरिद बिक्री गर्न मिल्ने यकिन गरी लिखत पारित गरी सम्बन्धित कार्यालयले आफ्नो छोराको नाममा पास गरिदिएको र त्यसबेला आफू कुनै लाभको पदमा नरहेको अभिव्यक्ति दिएका थिए। 

नारायणकाजी श्रेष्ठ
२०१६ मा गोरखाको जौबारीमा जन्मिएका श्रेष्ठले २०४३ मा निर्मल लामाले नेतृत्व गरेको नेकपा चौमको केन्द्रीय सदस्य बनी कम्युनिस्ट राजनीति थालनी गरेका थिए। २०४८ मा प्रचण्ड नेतृत्वको नेकपा मशाल, मसालबाट आएका बाबुराम भट्टराई, नेकपा चौमलगायतका दलबीच समीकरण भई बनेको नयाँ दल नेकपा एकता केन्द्रको पोलिटब्युरो सदस्य बनेका थिए, श्रेष्ठ। तर जनयुद्ध सुरु गर्ने निर्णयपछि २०५१ मा गठित नेकपा माओवादीमा श्रेष्ठ गएनन्, एकता केन्द्रमै केन्द्रित रहे। माओवादी शान्ति प्रक्रियामा आएपछि २०६५ मा एकता केन्द्र माओवादीमै विलय भएको थियो।

२०६४ मा सम्पन्न पहिलो संविधानसभा चुनावपछि उनी समानुपातिकबाट सांसद बनेका थिए। २०६८ मा झलनाथ खनाल नेतृत्वको सरकारमा उनी उपप्रधानसहित गृह र परराष्ट्रमन्त्री बने। उनी २०७० मा मकवानपुर ४ मा नेपाली कांग्रेसका सुवासचन्द्र शाह र २०७४ मा गोरखा २ मा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग पराजित भएका थिए। त्यसपछि उनलाई राष्ट्रिय सभा सदस्य बनाइएकोे थियो। एक पटक पनि संसदीय चुनाव नजितेका उनी यस पटक पनि समानुपातिकबाट सांसद हुँदै उपप्रधानमन्त्री बनेका हुन्।

प्रकाशित: Jan 17, 2023| 17:14 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...