समयले उत्तरआधुनिकताको नेटो टेकेपछि नै हामीले ‘वैकल्पित इतिहास’ लेखनको कुरा गरेका हौँ। सिद्धान्ततः यो सोच सबैतिर फैलियो। तर, यसमा काम भने खासै भएन। इतिहास भन्नु, आज पनि करिब–करिब शक्ति–केन्द्रकै कथा हो। आम मान्छेको कथाले इतिहासको पानामा प्रविष्टि पाएकै छैन भन्दा पनि हुन्छ।
बरू, साहित्यकारहरूले नेपालमा वैकल्पित इतिहास लेखन वा सङ्कलनको दिशामा केही ठोस कदम चालेका छन्, जसले इतिहासकारलाई पनि मार्गदर्शन गर्न सक्छ। वैकल्पित इतिहास भन्नाले हामीले कुनै भव्य कथा वा घटनाको चित्रण भनेर बुझ्नु भएन। त्यो इतिहासको पुरानो परिभाषाको कुरा हो। नयाँ इतिहास भनेको आम मान्छेका सुखदुःखको कथा हो, जसको योग नै, वास्तवमा, एउटा समाज वा देशको कथा हो। पछिल्लो समय भएका केही साहित्यिक प्रयासहरू, त्यसै मानेमा स्तुत्य छन्। अर्चना थापाको सम्पादनमा आएको महिला र किशोरीहरूका नितान्त निजी अनुभवहरूको सँगालो ‘टेलिङ अ टेल’ र ‘स्वअस्तित्वको खोज’, अमृता सम्लासको सम्पादनमा आएको ‘हजुरआमाका कथा’ आदि यस दिशामा अगाडि बढेका केही सार्थक प्रयासहरू हुन्। यसै कडीमा जोडिन आएको छ मञ्जु थापाद्वारा सम्पादित ‘छोरीले जन्माएका आमाहरू’ नामक संस्मरण सङ्ग्रह, जसमा नेपालबाहिर बस्ने १२ जना छोरीहरूले आ–आफ्ना आमाहरूको सम्झनामा संस्मरण लेखेको छन्। पुस्तकलाई अक्षर क्रिएशन्स नेपालले प्रकाशित गरेको हो।
म ठान्छु, यस पुस्तकलाई साहित्यिक वा समालोचकीय कसीहरूलाई एकातिर मिल्क्याएर पढ्नुपर्छ। हाम्रो गाउँमा सुखदुःख सहेर आफ्ना सन्ततीलाई उपल्लो उज्यालोसम्म पुर्याउने आमाहरूका कथामा विम्ब, प्रतीक वा अलङ्कार होइन, प्राण भेटिन्छ। तिनमा कुनै ठूलो सैद्धान्तिक स्टन्ट वा भाषाको जादु होइन, जीवन हेर्ने आँखा भेटिन्छ। साहित्यको इतिहासमा कतै भाग खोज्ने होड होइन, चुपचाप–चुपचाप एउटा सभ्यताको मुहार फेर्ने अठोट भेटिन्छ। त्यसैले, यो पुस्तकले आलोचनात्मक पठन होइन, एउटा संवेदनशील स्पर्शको माग गर्दछ। यहाँ पहिलोपल्ट छापामा अज्ञान जीवनहरूको कथा प्रकाशित भएर आएको छ। पहिलोपल्ट कहिल्यै नबोलेका आमाहरूको आवाज देशसामु आइपुगेको छ।
पुस्तकका १२ लेखिकाहरूले आ–आफ्ना आमाहरूको विगत र वर्तमान चिहाउने कोसिस गरेका छन्। यस उपक्रममा उनीहरूले आमाहरूले भोगेको कहरपूर्ण अतीतलाई वर्तमानको पडाउबाट हेर्ने प्रयास गरेका छन्। कुनै पनि लेखिकाका आमाहरूको विगत सुखपूर्ण देखिँदैन। सबैले अभाव, अशिक्षा, गरिबी र दुर्गमताका कोर्रा खपेको देखिन्छ। कतिपयले बालविवाह, कतिले बहुविवाह र कतिपयले भने वैधव्यको चोट सहेको बुझिन्छ। यति हुँदाहुँदै पनि छोरीहरूलाई प्रेमले बढाउने, समर्पणका साथ पढाउने र ठूलो आँटसहित आफ्नै रहरको संसारमा उन्मुक्त विचरण गर्न पठाउने ती आमा, हरेक संस्मरणका नायिका लाग्छन् ।
वि.सं. १८९९ मा जन्मेकी आमा ईश्वरादेवीदेखि लिएर २०१८ मा जन्मेकी आमा सरिता तामाङसम्मका यी कथाले पाठकसामु करिब आठ दशकको अलिखित नेपाललाई उजागर गरेका छन्। यी संस्मरणहरूमा कोरिएका देश, काल र परिस्थितिका सूक्ष्मातिसूक्ष्म कडीलाई जोड्ने हो भने दरबारी इतिहासकारले छोडेको एउटा भव्य नेपाली कथाले आकार लिन्छ।
उदाहरण हेर्दै जाऔँ। इन्द्र गुरौको संस्मरणमा कमैया हुनको कथा समेटिएको छ। उनकी आमा ती उज्यालो हुन्, जसले एक पुस्ताको मात्रै होइन, पुस्तौँपुस्ताको जीवन सुधारिन्। लेखक लेख्छिन्, ‘वास्तवमा आमाले आफूले जन्माएका छोराछोरी मात्र हैन, सासू, ससुरा, आफ्नै आमा, आफ्ना रोगी काका र उहाँका छोरालाई समेत आफूसँगै राखेर निःस्वार्थ हेरविचार गर्नुहुन्थ्यो।’ उमा शर्मालाई आमाको सङ्घर्षशील विद्यार्थी जीवनले बढी छोएको छ। बुहारी मान्छे, स्कुल भर्ना त भइन् तर स्कुल जानुभन्दा अघि, बिहान उनले सकाउनुपर्ने कामको फेहरिस्त कहिल्यै नसकिने किसिमको हुन्थ्यो। शर्मा लेख्छिन्— ‘मेरी आमा सखारै सबैभन्दा पहिले उठ्नुहुन्थ्यो, पाँच बजे सासूहरू घर फर्केर आउँदा तातो पानी ठिक्क पार्ने, पूजा–सामग्री तयार गर्ने, श्रीखण्ड र रक्त चन्दन घोट्ने, चोखो जल राख्ने, फूल टिप्ने अनि अरू भ्याएजति काम गरी स्कुल जानुहुन्थ्यो।’ कमला न्यौपानेकी आमाले उनलाई पन्ध्र वर्षकै उमेरमा छोडेर धरर्तीबाट बिदा लिइन्। तर, त्यति कलिलो उमेरमै उनले छोरीमा अदम्य आँट र साहस भरेर बिदा भइन्। मीरा बस्नेत आमालाई सम्झँदै भन्छिन्— ‘हाम्रा आमाहरू जहाँ जन्मे उहीँ हराए। अहिलेसम्म उनीहरूको जीवनसँग न परिवारले चासो राख्छ, न इतिहासकारहरूका लागि खोजको विषय बन्छ।’ कल्पना तामाङकी हजारआमाले छोरा जन्माउनकै लागि भनेर ११ जना सन्तान जन्माउनुभयो। छोराको आसमा लोग्नेले सौता ल्याए, त्यो पनि खेप्नुपर्यो। डा. कविता घिमिरेकी आमाको जीवनकथा लामो र उतारचढाउले भरिएको. छ। परिवारमा सन्तान, त्यो पनि छोराको पर्खाइमा बहुविवाहको चलन अनेकौँ पुस्तादेखि व्याप्त छ, र त्यसकी एक जीवन्त साक्षी हुन् कविताकी आमा। मामाघरका हजुरबुबा र आफ्ना हजुरबाले छोराको चाहनामा एक, दुई हुँदै तीनवटासम्म बिहे गरेको फेहरिस्त छ। कतै आफ्नै काकाकी छोरीलाई छोरा पाउनकै लागि सौता स्वीकार्नुपर्ने बाध्यता छ। बहुविवाह र बालविवाहको कथा एकै ठाउँ कहर बनेर किचेको कथा छ। यस्ता कठोर अनुभवबाट गुज्रेर आएकी आमाको ममता आफूले दुई पटक सुत्केरी हुँदा पाएको आत्मीय सहयोग र स्याहारमा परिलक्षित भएको लेखिका घिमिरे बताउँछिन्।
जानु ओझाले स्कुले उमेरमै आमा गुमाइन्। आमाले जुन छोटो जीवन बाँच्नुभयो त्यसमा बालविवाह, गरिबी, सौता, विस्थापन, सन्तानवियोग र रोग बेहोर्नुभयो। तनुजा पोखरेलकी आमा शिक्षित हुनुहुन्थ्यो र उहाँले महिला सशक्तीकरण सहयोग समूह गठन गरी सेवामै आफूलाई समर्पित गर्नुभयो। ‘कर्मलाई पूजा गर’ भन्ने आमाले सम्पूर्ण जीवन जनसेवा र अध्यात्मकै रङमा बिताएर सबैलाई प्रेरणा बन्नुभयो। निर्मला राईकी आमाले आठ वर्षको उमेरमा जन्मदिने आमा गुमाउनुपर्यो। त्यसैले उहाँलाई आमाको नामसम्म थाहा छैन। ती आमा, जो सगोलकै अन्य दुई बहिनीलाई सौताका रूपमा झेलेर बाँच्न बाध्य भइन्। राति सुत्नुअघि पाँच थैली मकै जाँतोमा पिस्नुपर्ने। तर पनि विद्रोही स्वभावकी। कतिसम्म विद्रोही भने आफूलाई मन नपरेको मान्छेसँग बिहे गरिदिए भनेर बेहुलीका लुगा र गहना लाउनै नमान्ने। पछि बिहे भएपछि, सहवासै गर्न नमान्ने। लेखिका भन्छिन्— ‘सँगै बसेको करिब एक वर्ष बितिसकेको थियो तर बुबा आमासित नजिक जान सक्नुभएको थिएन। नजिक जान खोजेमा आमाले आफ्नो छेउमा जुत्ता, भाँडा, काठ, जे छ, त्यसैले हान्ने गर्नुहुन्थ्यो।’ आफ्नो चाहनामा हुने अवरोध विरुद्ध कसरी विद्रोह गर्नुपर्छ भन्ने चेतना, त्यो युगकी आमामा देखिनु आफैँमा अचम्म लाग्दो कुरा हो।
मञ्जु थापाकी आमा ईश्वरा देवीको कथा साँच्चै सङ्घर्षपूर्ण लाग्छ। एघार वर्षको उमेरमा आफूभन्दा करिब तीन गुणा बढी उमेरका व्यक्तिसँग विवाह गर्नु र अर्को साल, यानि बाह्रा वर्षकै उमेर विधवा बन्नु आफैँमा अकल्पनीय छ। बीचका दुई दशक वैधव्यको जीवन बाँचेर पुनः ३५ वर्षको उमेरमा पुनर्विवह गर्नुभयो। सक्रिय राजनीतिमा रहेर महिला हकहित र अधिकारका लागि पनि जीवनपर्यन्त सक्रिय रहनुभयो। मीरा बस्नतेकी आमा पंमकुमारी पनि सातै बर्षमा बुहारी बन्नुभएको थियो। विवाहपछि उहाँकै श्रीमान्ले लुकीलुकी पढ्न–लेख्न सिकाउनुभयो। यस्ता आदर्श पुरुष पनि त्यस ताका नभएका होइन रहेछन्।
डा. मोनिका आचार्यकी आमा भने शिक्षित र साहसी। जस्ता काम पनि आँटेपछि गरिछाड्ने। त्यसै प्रकृतिले उनका तीन सन्तानलाई सुशिक्षित तुल्यायो र आ–आफ्ना मुकाममा पुर्यायो। सञ्जीता रसाइलीकी आमा कार्यबोझ र विभेदमा खारिएकी विराङ्गना हुनुहुन्छ। १३ वर्षको कलिलो उमेरमा आफूभन्दा ९ वर्ष जेठा लोग्नेसँग बिहे भएपछि उहाँको जीवन सङ्घर्षकै पर्याय बन्यो। तर पनि छोराछोरीको शिक्षामा कहिल्यै सम्झौता गनुभएन। भन्नुहुन्थ्यो, ‘हामीले त पढ्न पाएनौँ तर छोराछोरीले पढ्न पाए खुस पाउँछन्।’ आफू विद्यालय नगए पनि प्रौढ शिक्षामा गएर नाम लेख्न सक्नेसम्म बन्नुभएको कुरा आफैँमा ज्यादै प्रेरणादायी लाग्छ।
यहाँ समेटिएका हरेक जीवनका पछाडि सङ्घर्ष छ, तर सबैमा जीवनप्रतिको आशा र भावि पुस्ताप्रतिको विश्वास भेटिन्छ। एउटा पुस्तालाई अगाडि बढाउन अघिल्लो पुस्ताले सधैँ सङ्घर्ष र त्याग गर्नुपर्छ भन्ने सत्य यस किताबले सहतमा ल्याएको छ। सधैँ पुरुषहरूको कोणबाट व्यख्यातित हाम्रो समाजको नेपथ्यका नायिका, हाम्रा आमाहरू, यस पुस्तकमा ज्वजल्यवान् बनेर उदाएका छन्। यस पुस्तकको परिकाल्पनाका लागि सम्पादक मञ्जु, र आमाहरूलाई उज्यालोमा ल्याउने कार्यका निम्ति सबै लेखकहरू बधाईका पात्र हुन्।
यो क्रमले निरन्तरता पाओस्। अझ विविध भूगोल र समूदायका आमाहरूले आवाज पाऊन्। अझ विशिष्ट अनुभव भएका आमाहरू समेटिऊ्न। नेपालको वास्तविक वैकल्पित इतिहासले अझ दर्विलो आकार आर्जन गर्दै जाओस्। अझ सकिन्छ भने आमाहरूको आवाजलाई जस्ताको तस्तै लिपिबद्ध गरियोस्। त्यसले पाठकसामु दखिएको एउटा छुट्टै नेपाललाई जस्ताको तस्तै प्रस्तुत गर्ने छ।
छोरीले जन्माएका आमाहरू (संस्मरण)
प्रकाशकः अक्षर क्रिएशन्स नेपाल
प्रकाशन वर्षः २०७९
पृष्ठः४४४
मूल्यः ६५०