काठमाडौं- सत्तारुढ नेकपा सांसद विरोध खतिवडाले निर्मला हत्याकाण्डका दोषीलाई कारवाही गर्न आयोगको प्रतिवेदन पर्खनुपर्ने गृहमन्त्रीको भनाइप्रति गम्भीर आपत्ति प्रकट गरेका छन्। उनले सरकारको कार्यशैलीका कारण बाहिर आफूहरूलाई मुख देखाएर हिँड्नसमेत लाज हुने स्थिति आएको बताए।
प्रतिनिधिसभाको बुधबारको विशेष समयमा सांसद खतिवडाले हत्या, बलात्कार, चोरी, डकैतीजस्ता सबै आपराधिक घटनाका दोषीलाई कारवाही गर्न आयोग बनाउँदै र दोषी खोज्दै हिँड्नुपर्ने भए त्यसको दायित्व लिएको निकाय प्रहरीलाई किन राख्ने भनी प्रश्न गरे।
‘के तरिका हो सरकारमा बस्नेहरूको?’ खतिवडाले प्रश्न गरे, ‘त्यसो भए अबदेखि आयोग र टोली बनाउने अनि प्रतिवेदन आउँछ पर्खिनूस् माननीयजीहरू अपराधी खोजौंला भन्ने?’ प्रतिवेदन आएपछि छानविन गर्ने हो भने स्थायी रूपमा राज्यले मातहतका निकायलाई तलव खुवाई पाल्नुको सट्टा खारेज गर्न उनले माग गरे।
उखु किसानको पैसा भुक्तान गर्ने नाममा १५ प्रतिशत भन्सारमा आयात हुने चिनीलाई ३० प्रतिशत महशुल वृद्धि गर्दासमेत नपुगेर माफियाहरूले प्रतिकिलो ८५ रुपैयाँ पुर्याएको सांसद खतिवडाले आरोपल लगाए।
‘माफियाले प्रधानमन्त्री कार्यालयमा आजभन्दा १२-१५ दिनअघि तामा तुलसी छोएर ५४ रुपैयाँमा आएको चिनी ६४ रुपैयाँभन्दा बढीमा बेच्दैनौं भनेर प्रतिज्ञा गरेर निस्किएका थिए,’ खतिवडाले भने, ‘तर, आज प्रतिकिलो ८५ रुपैयाँ बेचिरहेका छन्।’ यो दशैं-तिहारमा एक सय नघाउँछौं भनेर उनीहरू गर्वका साथ हिँड्न थालेको खतिवडाले बताए।
उनले भने, ‘यो निरिहता कसको? यो निरिहता मात्र होइन, यो चिनीको चास्नीमा को को झिँगा लटपटिएका छन्, समय क्रममा खुल्दै जानेछ।’
सरकारप्रति कडा रूपमा प्रस्तुत भएका सांसद खतिवडाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नाममा डीपीआर तयार नहुँदै, लागत कति आउँछ थाहा नहुँदै धावनमार्ग कति वटा बनाउने र कति पैसा लाग्छ भन्ने थाहै नपाई रुख काट्न थालेको बताउँदै आपत्ति जनाए।
‘सम्झौता नभई, डीपीआर र लगानीकर्ताको टुंगो नलागी जसले त्यहाँको रुखमा हात हाल्छ, त्यो हत्यारा ठहरिने छ,’ खतिवडाले भने, ‘लाज भन्ने हुँदैन। शरम भन्ने हुँदैन। दिनदहाडै दादागिरि?’
मेलम्ची खानेपानी आयोजना बनाउन १० वटा दाताबाट पैसा लिनु परेको उदाहरण दिँदै उनले प्रश्न गरे, ‘विमानस्थल बनाउन कसलाई दिने?’ सबै कुरा केही टुंगो नहुँदै रुख काटिहाल्ने र बेचिहाल्ने सूचना बाहिर आउँदा दुःख लगेको बताए।
‘संसदमा तीन शेर’
सांसद खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई 'संसदका तीन शेर’को उपमा दिए।
नेकपाका दुई अध्यक्षलाई कसरी व्यवस्थापन गरेको भनी प्रतिपक्षी कांग्रेसका सांसदहरूले चिन्ता गर्नु जरुरी नभएको बताए। दुई शेरलाई एकै ठाउँमा पाल्नु परेको उनले बताए। खतिवडाले भने, ‘प्रतिपक्षी दलमा रहेका एक शेरसहित हाम्रा दुई शेर एउटा संसदमा अटाएको अवस्थामा नेकपाका दुई शेर किन बस्न नसक्ने?’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४