काठमाडौं– एथलेटिक्स परिवार नेपालले आउँदो दुई महिनामा एथ्लेटिक्सका विभिन्न तीन प्रतियोगिता सञ्चालन गर्ने भएको छ। परिवारले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।
नियमित रुपमा गर्दै आएको झिल्टुङ क्रसकन्ट्री दौड साथै पहिलो पटक गर्न लागेको गोल्डेन एथ्लेटिक्क मिट र धरान टेन के रोड रेस गर्ने जानकारी दिएको हो। पहिलो इभेन्टअन्तर्गत ‘जे गरौं, गज्जबले गरी’ नाराका साथ नुवाकोटको बेलकोटगढी नगरपालिका–५ मा आगामी १४ माघमा सातौं झिल्टुङ क्रसकन्ट्री दौड हुनेछ।
बेलकोटगढी नगरपालिकाको वडा ६ कै आयोजना र एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा सञ्चालन हुने दौड कोल्पुटारबाट सुरु भएर बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुनः कोल्पुटारमा आएर समापन हुनेछ।
प्रतियोगितामा १३.५ किमि पुरुष तथा महिला, ४.५ किमिको खुला जुनियर छात्रछात्रा, स्थानीय छात्रछात्रातर्फ ४.५ किमि इभेन्टमा प्रतिस्पर्धा हुनेछ। साथै, ४५ वर्षमाथिका स्थानीय पुरुषको ४.५ किमि, १३.५ किमि खुला भेट्रान खुला पुरुष, ४.५ किमिको आमा समुह दौड गरी कुल १० इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ।
‘उक्त दौड प्रतियोगितामा करिब ५०० खेलाडीले भाग लिने अनुमान गरिएको र अनुमानित खर्च १० लाख रुपैयाँ रहेको छ। प्रतियोगिताको व्यवस्थापकमा बेल्कोटगडी नगरपालिका–५ का वडाध्यक्ष मदन भुजेल र संयोजकमा एथलेटिक्स परिवार नेपालका सल्लाहकार मोहन नेपाल रहेका छन्,’ आयोजकको विज्ञप्तिमा भनिएको छ।
यस्तै, आगामी २०–२१ माघमा काठमाडौको दशरथ रंगशालामा गोल्डेन एथलेटिक्स मिट २०२३ आयोजना हुने भएको छ। महिला र पुरुषतर्फ विभिन्न २७ वटा ट्रयाक एन्ड फिल्ड इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको हो।
प्रतियोगितामा व्यक्तिगततर्फ प्रत्येक इभेन्टमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ६ हजार, ४ हजार र २ हजार नगद पुरस्कार दिइनेछ। यसैगरी रिले दौडका शीर्ष तीनभित्र रहने टिमलाई क्रमशः ८ हजार, ६ हजार र ४ हजार पुरस्कार रहेको छ।
प्रतियोगितामा महिला र पुरुषतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५,००० मिटर, १०,००० मिटर दौडका साथै फल्डीतर्फ लङजम्प, ट्रिपलजम्प, हाइजम्प, सटपुट र ज्याभलिन थ्रो समावेश गरिएको छ भने ४ गुणा १०० मिटर दौड र नेपालमा पहिले पटक ४ गुणा ४०० मिटर मिक्स रिले दौड़ हुने भएको छ।
‘महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी र राष्ट्रिय कीर्तिमान कÞायम गर्ने खेलाडीलाई पुरस्कृत गरिने खुला प्रतियोगितामा करिब ३०० खेलाडीको सहभागिता रहने र कुल खर्च करिब १६ लाख रहेको छ,’ आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, आउँदो १३ फागुनमा धरानमा ११औं नेवाः च्यारिटी रन, २०२३, धरान टेन के रन आयोजना हुने भएको छ। विजयी खेलाडीलाई विभिन्न पुरस्कार प्रदान गरिने उक्त प्रतियोगिताको काठमाडौंमा समन्वयको कार्य एथलेटिक्स परिवार नेपालले गर्नेछ। धरान–१० के दौडमा करिब ४,००० बढी धावकको सहभागिता रहने आयोजकको दाबी छ।