विराटनगर- प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदैछन्। दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्।
गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले नियुक्त भएको छैठौं दिनमा नै विश्वासको मत लिने भएका हुन्। नेपालको संविधान धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि मंगलबार उनले प्रदेशसभामा सूचना दिएका थिए।
एमाले संसदीय दलका नेता कार्की संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन। मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
यसअघि ४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्रबाट २ र एमालेबाट एक जना मन्त्री नियुक्त गर्दैछन्। माओवादीबाट तेह्रथुमका दुर्गाप्रसाद चापागाई र मोरङका जीवन आचार्य र एमालेबाट सोलुखुम्वुका बुद्धिकुमार राजभण्डारी मन्त्री बन्ने श्रोतको भनाई छ।
यसअघि माओवादी केन्द्र मुख्यमन्त्रीमा आलोपालो नहुँदा सम्म सरकारमा नजाने निर्णय गरेको थियो। माओवादी सरकारमा सहभागी भएपछि मन्त्रीको कार्यविभाजन शुक्रबार गर्ने मुख्यमन्त्री कार्कीले बताएका छन्।
उपसभामुखको मनोनयन आज
प्रदेश १ को उपसभामुख चयनका लागि शुक्रबार मनोनयन दर्ता गरिदैछ। प्रदेशसभाको बिहीबार बसेको तेश्रो बैठकले उपसभामुख चयनको प्रक्रिया अघि बढाएको छ।
प्रदेशसभा सचिवालयले प्रकाशन गरेको कार्यतालिका अनुसार शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ। उपसभामुख चयनका लागि शनिबार निर्वाचन हुनेछ।
बिहीबार बसेको प्रदेशसभा बैठकले सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमलाई निर्विरोध निर्वाचित गरेको थियो।