काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले बदनाम पप्पु कन्स्ट्रक्सनलाई बारम्बार ठेक्का पाइरहेको र त्यसमा सांसद्हरुले आपत्ति जनाएको विषयलाई प्राथमिकतामा पारेका छन् ।
आजको अन्नपूर्ण पोस्ट्ले बदनाम पप्पुलाई ११ अर्बको काम शीर्षकमा मुख्य समाचार छापेको छ भने आजको नागरिक दैनिकले पप्पुलाई ठेक्का दिएकोमा आपत्ति शीर्षकमा खबर लेखेको छ ।
पप्पु कन्स्ट्रक्सनले स्थानीय सडकतर्फ २६ वटा पुलको लिएकोमा १८ वटा पुलको निर्माण अवधी सकिएको छ । ११ अर्ब रुपैयाँ बराबरका ४० वटा आयोजना ओगटेको समाचारमा उल्लेख छ । ठेक्का लिने, आयोजना अलपत्र पार्ने गरेपनि पप्पुलाई नै ठेक्का दिएको भन्दै सरकारको आलोचना हुन थालेको अन्नपूर्णले लेखेको छ ।
नागरिक दैनिकमा प्रकाशित समाचार अनुसार पप्पु कन्स्ट्रक्सनलाई नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित भवन बनाउन छनोट गरेकोमा सांसदले विरोध जनाएका छन् । कालोसूचीमा राख्नु पर्ने कम्पनीलाई ठूला–ठूला आयोजना निर्माणको जिम्मा दिएको भन्दै सांसद्हरुले आपत्ति जनाएका हुन् ।
यस्तै आजको नयाँ पत्रिकाले पूर्वाधार फलोअपअन्तर्गत बाहिरी चक्रमपथ र देशमा निर्माधिन पुलको विषयलाई मुख्य समाचार बनाएको छ । अन्योलमा १८ वर्ष पुरानो आयोजनाः एक अर्ब खर्चेपछि बिहिरी चक्रपथको डिपिआर रद्द हुँदै शीर्षकमा खबर लेखेको छ भने देशभर १४ सय ८० पुल निर्माणाधीनः देशभरका पुलमा ६३ अर्ब आवश्यक, बजेट ४ अर्ब शीर्षकमा अर्को विशेष समाचार छापेको छ ।
पप्पु र पूर्वाधारबाहेक आजका पत्रपत्रिकाले बालिका र युवतीहरु असुरक्षित बन्दै गएको विषयलाई पनि विशेष महत्वका साथ छापेका छन् ।
रौतहटको सेलाउन नपाउँदै नवलपरासीमा युवतीमाथि एसिड प्रहार भएको र पोखरमा बालिकाको बलात्कार पछि हत्या भएको विषयलाई मुख्य समाचार बनाएका छन् । नागरिक दैनिकले युवतीमाथि फेरि एसिड प्रहार शीर्षकमा मुख्य समाचार छापेको छ भने कान्तिपुर दैनिकले युवतीमाथि एसिड र चक्कु शीर्षकमा खबर लेखेको छ ।
यस्तै कान्तिपुरले पोखरामा १० वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको विषयलाई मुख्य समाचार बनाएर छापेको छ । अन्नपूर्ण पोस्ट्ले भने निर्मला हत्या प्रकरणको प्रतिवेदन गुपचुप रुपमा बुझाइएको विषयलाई प्राथमिकतामा पारेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४