काठमाडौं-अखिल नेपाल फुटबल संघ (एन्फा) विवदका कारण केहि बर्ष यता हुन नसकेको ‘ए’ डिभिजन लिग यस बर्ष हुने भएको थियो । रेलिगेशन बिना नै लिग हुने भए पनि नेपाली खेलाडी, क्लब र खेल प्रेमिका लागि खुसिको कुरा थियो ।
पाँच वर्षपछि हुन लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिग यहि असोज १३ गते उद्घाटन खेल हुदै छ । तर, ‘ए’ डिभिजन लिग शुरु भएको दोस्रो दिन नै स्थगित हुदै छ । असोज १३ गते ‘ए’ डिभिजन लिगको उद्घाटन खेल खेल्दै नेपाली राष्ट्रिय टोली १४ गते बंगलादेश प्रस्थान गर्नेछ ।
लिग पुरानै एन्फा बिबादले नभएर बंगलादेशमा आयोजना हुने बंगबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टोलीले सहभागिता जनाउने पक्का भएपछि एन्फले यस्तो निर्णय गरेको हो ।
‘ए’ डिभिजन लिगमा देश भित्रका सहभागि क्लबहरुले राष्ट्रिय टिमका खेलाडी आफ्नो क्लबमा अनुबन्ध गरेका छन् । क्लबमा अनुबन्ध भएका धेरै जसो खेलाडी बंगबन्धु गोल्ड कपमा व्यस्त हुने भएकाले एन्फा र क्लबहरुले यस्तो निर्णय लिएका हुन् ।
क्लवसँगको समन्वयसँगै एन्फा पदाधिकारी र लिग कमिटीबीच सोमबार बसेको बैठकले बंगबन्धु अवधीभर लिग स्थगित गर्ने निर्णय गरेको हो । लिगको उद्घाटन खेलमा विभागिय त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीच हुनेछ ।
‘ए’ डिभिजनका १४ क्लबमध्ये ६ क्लबमा राष्ट्रिय खेलाडी अनुबन्धित रहेका छन् । लक्ष्मी मनाङ मस्र्याङ्दी क्लबले राष्ट्रिय टोलीका सबैभन्दा धेरै ५ खेलाडी अनुबन्ध गरेको छ । त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबमा समान ४ राष्ट्रिय खेलाडी छन् ।
नेपाल पुलिस क्लब र च्यासल युथ क्लबमा समान २ राष्ट्रिय खेलाडी रहेका छन् । त्यस्तै एपिएफ क्लबमा १ राष्ट्रिय टोलीका खेलाडी अनुबन्धित रहेका छन् । बंगबन्धु गोल्डकपको पछिल्लो संस्करणको च्याम्पियन नेपालको केहि साता अघि प्रतियोगितामा सहभागिता जनाउने वा नजनाउने कुनै टुङगो थिएन ।
नेपालले अन्तिम समयमा आएर यस संस्करणमा सहभागिता जनाउने निश्चित गरेको हो । प्रतियोगिता स्वरुप पाउनुपर्ने पुरै रकम ५० हजार अमेरिकी डलर नपाएको भन्दै एन्फाले राष्ट्रिय टोलीलाई उक्त प्रतियोगितामा यस अघि नपठाउने निर्णय गरेको थियो ।
तर, नेपालले त्यतिबेला २५ हजार डलरमात्रै पाएको थियो । पछि बाँकी २५ हजार डलर नपाए नेपालले बंगबन्धु गोल्डकप नखेल्ने अल्टिमेटम दिदा बंगलादेश फुटबल फेडेरेसनले अपुग रकम पुरा गरेसँगै नेपालले बंगबन्धु खेल्ने भएको हो ।
प्रतियोगिता असोज १५ देखि २६ गतेसम्म बंगलादेशमा हुनेछ । बंगबन्धु गोल्डकपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै प्यालेस्टाइन र ताजिकिस्तान रेहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४