जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः नेपाल आउँदै छन्। सन् २०१४ मा प्रधानमन्त्री बनेयता मोदीको यो पाँचौं नेपाल भ्रमण हुनेछ। आफ्नो एक कार्यकालको अवधिमा नेपाल यति धेरै नेपाल भ्रमण गर्ने सम्भवतः पहिलो छिमेकी सरकार प्रमुख हुन्, मोदी।
उनी पछिल्लो पटक बिमस्टेक सम्मेलनमा भाग लिन काठमाडौं आएका थिए। अब उनी आगामी मंसिरमा फेरि नेपाल आउने तयारीमा रहेको सार्वजनिक भएको छ। यसपटक भने कुनै सम्मेलनमा भाग लिन नभई उनको यो भ्रमण विशुद्ध धार्मिक प्रयोजनको हुने स्रोतले जनाएको छ । तथापि, त्यो राजकीय भ्रमण हुने स्रोतको भनाइ छ।
आफ्नो पाँचौं नेपाल भ्रमणका क्रममा उनले जनकपुरको भ्रमण गर्न सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ। प्रधानमन्त्री भएयता उनको त्यो दोस्रो जनकपुर भ्रमण हुनेछ । मोदीले यसअघि यसै वर्ष २८ वैशाखमा जनकपुर भ्रमण गरेका थिए।
आफ्नो तेस्रो नेपाल भ्रमणलाई धार्मिक यात्रा बताएका मोदीले जनकपुरमा जानकी मन्दिर र मुस्ताङस्थित मुक्तिनाथ धामको दर्शन गरेका थिए । र, आफ्नो पाँचौं भ्रमणमा उनी पुनः जनकपुर भ्रमण गर्नुका साथै लुम्बिनी पनि पुग्नेछन्।
यसअघिको जनकपुर भ्रमणको उद्देश्य भने धार्मिक मात्र थिएन। उनको त्यो भ्रमण भारतको कर्नाटक विधानसभा चुनावभन्दा केहीअघि मात्र भएको थियो । त्यसको उद्देश्य थियो, कर्नाटकका हिन्दु मतदाताको मत भारतीय जनता पार्टीको पोल्टामा पार्नु । उनी त्यस उद्देश्यमा सफल पनि देखिए । तथापि, गणितीय संख्याका आधारमा कर्नाटकमा भाजपाको सरकार बन्न सकेन।
भारतमा अप्रिल-मे २०१९ मा हुने लोकसभा निर्वाचन नजिकिँदैछ। प्रधानमन्त्री मोदीले चुनावअघि पुनः जनकपुर भ्रमण गर्नुलाई हिन्दु मत र विहारका मतदातालाई भाजपातर्फ तान्ने रणनीति हुन सक्ने विश्लेषण गरिएको छ।
जनकपुर र लुम्बिनी नेपालको दुवै धार्मिकस्थल भारतको सीमानजिक पर्छन्। जनकपुर विहार र लुम्बिनी उत्तरप्रदेशसँग जोडिएका छन्। चुनावअघि नेपालका यी दुई स्थानमा मोदीले भ्रमण गरे मतदातालाई प्रभावित गर्न सकिने विश्लेषणमा भाजपा नेतृत्व देखिन्छ।
मोदीको जनकपुर भ्रमणका तीन वटा विकल्प देखिएका छन्। भारतीय सहयोगमा निर्मित जनकपुर–जयनगर रेलमार्गको उदघाटन, विवाहपञ्चमीमा अयोध्याबाट जन्ती बनी जनकपुर पुग्ने । र, हवाईमार्गमार्फत् सीधै विमानस्थलमा उत्रिने।
स्रोतका अनुसार जनकपुर र लुम्बिनीलाई ‘हिन्दुत्व र बुद्धिजमको कार्ड’ बनाएर लोकसभा चुनावमा प्रयोग गर्न सकिनेबारे भाजपाभित्र छलफल शुरु भएको छ ।
भाजपा नेताहरूलाई उद्धृत गर्दै स्रोतले जनाएअनुसार मोदीको जनकपुर भ्रमणका तीन वटा विकल्प देखिएका छन्। भारतीय सहयोगमा निर्मित जनकपुर–जयनगर रेलमार्गको उदघाटन, विवाहपञ्चमीमा अयोध्याबाट जन्ती बनी जनकपुर पुग्ने। र, हवाईमार्गमार्फत् सीधै विमानस्थलमा उत्रिने।
भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट सोझै रेलमार्गमार्फत् जनकपुरसम्म पुग्ने विकल्पमा समेत छलफल शुरु भएको स्रोतले जनाएको छ। रेलबाट जनकपुर पुगेर नवनिर्मित रेलमार्गको उनले उदघाटन गर्न सक्ने आकलनसमेत गरिएको छ। मंसिरमै रेलमार्ग उद्घाटनको तयारी चलिरहेकाले पनि मोदी पुनः जनकपुर आउन सक्ने प्रबल सम्भावना रहेको स्रोतले बतायो।
प्रधानमन्त्री मोदीको अर्को नेपाल भ्रमणबारे दिल्लीमा चर्चा शुरु भएको नेपालस्थित भारतीय दूतावासका एक उच्च अधिकारीलाई उद्धृत गर्दै स्रोतले जनाएको छ ।
नेपाल–भारत मैत्री संघका महासचिव कृष्णा सिंहले पनि भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणबारे भाजपावृत्तमा जोडतोडले छलफल शुरु भएको जानकारी आफूहरूले पाएको बताए। उनका अनुसार आगामी डिसेम्बरमा मोदीको जनकपुर भ्रमण हुनेगरी पार्टीभित्र छलफल शुरु भएको छ। तर, यस विषयमा हालसम्म आधिकारिक कुनै जानकारी नआएको उनी बताउँछन्। मोदीको पाँचौं नेपाल भ्रमणबारे नेपाल सरकारले पनि केही बोलेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४