काठमाडौं- गुरूङ समुदायको आफ्नै अदालत हुन्छ। यो अदालतको नाम पञ्चभेला पनि हो। समाजको आँगन, पिँढी र चौतारामा अदालत बसाली न्यायनिसाफ गर्ने चलन अहिले पनि गुरूङ समुदायमा पाइन्छ। न्यायधिशको भूमिका भने मुखियाले निभाउँछन्।
यो अदालती प्रक्रिया खर्चिलो हुँदैन। जो अन्यायमा परेको छ, उसले न्याय पाउँछ नै। अदालतले वर्षौं लगाएर गर्ने फैसला एकैदिनमा सकिन्छ। घरीघरी अदालत धाएर समय, पैसा र इज्जतको नोक्सान गर्नु पर्दैन। दुवै पक्षलाई एकै ठाउँमा राखेर राम्रोसँग केरकार गरी सत्य बक्न दुवै पक्षलाई तीन पटकसम्म सोधिन्छ। मानौं सम्बन्ध विच्छेदको मुद्दा छ भने अन्तिमपटक फेरि दुवै पक्षलाई यसरी सोधिन्छ, ‘यो केटा (यो केटी) सँग पक्कै जिन्दगी काट्न सकिँदैन त?’
अन्तिमपटक पनि उही जवाफ आएमा मुखियाले सम्बन्ध विच्छेद गर्ने प्रक्रिया अगाडि बढाउँछन्। गुरूङ समाजमा सम्बन्ध विच्छेद गर्ने प्रक्रियालाई नै ‘सिन्का पाउँरू’ भनिन्छ। गुरूङ समाजमा चलिआएको सम्बन्ध र सम्बन्धविच्छेद प्रक्रियाको सामाजिक सांस्कृतिक र मनोवैज्ञानिक पक्षलाई समेटेर चर्चित कवि, गीतकार, गजलकार, शीतल कादम्बिनीले उपन्यास नै लेखिन्, सिन्का पाउँरू।
सम्बन्धविच्छेदको लागि अपनाइने विधि सिन्का पाउँरू गुरुङ समुदायको पुरानो विधि हो। मुखियाले सिन्का भाँचेर आधा बाटोमाथि र आधा बाटोमुनि फाल्छन्। पाउँरू भनेको चाहिँ पाङ्ग्रा भन्ने वृक्षको फल हो। लामो कोषाभित्र हुने कालो दाना भुइँमा राखेर ढुंगाले फुटाएर आधा–आधा पार्दै मुखियाले सम्बन्धविच्छेदको घोषणा गर्छन्, ‘लौ आजदेखि तिमीहरू आ–आफ्नो बाटो हिँड्न सक्छौ। आजदेखि तिमीहरूको सम्बन्ध दाजुबहिनीको जस्तै भयो। कसैले कसैको जिन्दगीमा दखल दिन पाउनेछैन। कुनै दिन मन फर्केमा सँगै मिलेर बस्न पनि सक्नेछौ। तर एकले अर्कोको मानमर्यादा र ज्यानधनलाई आघात पुर्याउने क्रियाकलापहरू गर्न पाइनेछैन।’
गीत–गजल कोर्नु पहाड उक्लिएझैं हुने र आख्यान लेखन चितवनको फाँटमा कुदेझैं लाग्ने बताउँछिन् शीतल। भन्छिन्, ‘चार वर्ष लगाएर लेखें। अहिले धेरैले आफ्नै कथा लेख्नुभएको हो भनेर सोध्छन्। आफ्नो अनुभूतिबिना आख्यानले आकार हाल्न सक्दैन भन्ने लाग्छ मलाई पनि।’
शीतल गुरूङ समुदायकी भएकाले पनि गुरूङ समुदायको कथा टिप्न सकेको बताउँछिन्। उनका अनुसार सिन्का पाउँरू सामाजिक सांस्कृतिक रूपमा परम्परागत भएपनि वैज्ञानिक पनि छ। ‘गुरूङ समाजमा सिन्कालाई पुरूषको र पाउँरूलाई नारीको बिम्ब मानिन्छ। यी दुवैलाई भाँचेर वा फुटाएर दुई टुक्रा पारेपछि मिलाप हुँदैन भन्ने बुझिन्छ’, उनले भनिन्, ‘यदी पाउँरू फुटाउँदा आधा भाग उछिटिएर केटाको घरतिर गयो भने पुनर्मिलनको सम्भावना हुन्छ भन्ने प्रचलन छ।’
गीत–गजलमा चर्चित नाम हो शीतल कादम्बिनी। २०६२ सालमा ‘सुगन्ध यात्रा’ गजल संग्रह। पछि ‘कादम्बिनी’, ‘शीतल’ र ‘निर्झरी’ एल्बमले लोकप्रिय बनाएको थियो उनलाई। २०७६ साल अगाडि नै उनले गुरूङ संस्कृतिमाथि उपन्यास लेखेर आफ्नै सिरानीमा राखेकी थिइन्। कोरोनाका कारण पछाडि सरेपछि ढिलो गरी प्रकाशनमा आएको हो।
‘कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ’, ‘धेरैचोटि मरें म त, धेरैचोटि बाँचें’, ‘झुमा झुम्कावाली’ जस्ता दर्जनौं लोकप्रिय गीत दिएकी कादम्बिनीको पहिलो आख्यान कृति हो, सिन्का पाउँरू। पुस्तकको मुख्य पात्र मौसमी नामक गुरूसेनीमा अलिकति कादम्बिनीको आमा र उनको आफ्नै छाया देख्न भोगाइको प्रतिविम्ब भएको बताउँछिन् उनी। आफैंले देखेको गुरूङ समाज र सोही समाजका पात्रहरूको जनजीवन र परम्परागत चालचलनसँग नजिक रहेर लेखेकी छन्। ‘म र मेरा नजिकका मानिससँग घटेको कतिपय घटनाका निजी अनुभूति पनि हो उपन्यास’, उनले भनिन्।
२०७२ सालको भूकम्पपछि चितवन, लमजुङ, पोखरा, र आफ्नै पहाडघर गोरखा पुगेर फर्किएपछि लेखेकी थिइन् उनले। यो परिवेशमा उनी बँचिन्। पहाडघर गोरखा भए पनि उनी चितवनमै जन्मिन्, हुर्किन् र उनको संघर्ष चितवनबाटै सुरू भयो। सिन्का पाउँरूको मौसमी तपाईं नै हो? भन्ने क्याजुअल प्रश्नमा कादम्बिनी अलिकति गम्भीर भइन्। आफूलाई शतप्रतिशत मौसमी हुँ भन्न नसके पनि आफ्नो कथा भन्न भने हौसिन्।
गुरूसेनीका दुःख
गुरूङ समुदायबाट धेरै लाहुर जाने भएकाले लाहुरे नै ज्वाँइ बनाउने अभिलाषा राख्छन् गुरूसेनीहरू। लाहुरेलाई नै छोरी दिनुपर्छ भनेर परिवारका सदस्यमा पनि जोडबल चल्ने परम्परा अझै पनि छ। यस्तै रहर छ मौसमीको पनि। शीतलको आमाको श्रीमान् पनि भारतीय लाहुरे नै थिए। चितवनको चण्डिभञ्ज्याङमा आमाको श्रीमान् (जसलाई उनले देख्न पाइनन्) बितेको आठ वर्षपछि उनी जन्मिन लेख्यो।
बुबाबिनाको सन्तान जन्मिनु दुर्घटना पनि थियो। त्यो दुर्घटना गुरूङ समुदायले खेल्ने रोधीमा भयो, जहाँ गुरूङहरू भविष्यका योजना रोधीबाट तर्जुमा गर्ने चलन थियो र छ। चेलिबेटीलाई संस्कार यस्तै रोधीघरबाट (त्यो चलन अहिले कम हुँदै गयो) सिकाइन्छ। २०२८ सालतिर रोधी बस्न गाउँलेहरू उनकै आमा लालमायाको घरमा जम्मा भए। खाए, पिए नाचगान गरे। अनि मस्त थाके। सबै थोकेकाहरू असरल्ल सुते। बेस्सरी थाकेकी लालमाया पनि निदाइन्, कुनै पुरुषको शरीर उनीमाथि पर्यो। उनी गर्भवती भइन्।
शीतलकी आमा लालमाया आफैँले पञ्चायत बोलाइन्। घटना बताइन्। ‘मेरो श्रीमान् छैनन्, म त्यसको घर जान पनि सक्तिनँ। मेरो गल्ती होइन। मलाई यो गाउँमा राख्ने कि नराख्ने?’ उनको सवालमा पञ्चायत मौन भयो। उनले घर छोडिनन्। त्यही समाजसँग संघर्ष गर्न मञ्जुर भइन्। अनि शीतललाई जन्म दिइन्।
शीतलको न्वारनको दिन गुरुङ थरको त्यही पुरुष आए छोरीको नाम दिन। नाम दिएर फर्केपछि कहिल्यै उनीसँग लालमायाको भेट भएन। न त शीतलले नै बुवा भनेर कहिल्यै सम्बोधन गर्न पाइन्। आज पनि शीतल न आमालाई दोष दिन सक्छिन् न त्यो पुरूषलाई। ‘जसरी पनि यो धर्तीमा आउनु थियो आएँ’, उनले भनिन्।
उनी हुर्किदै गइन्। बुझ्ने भएपछि आफू नाजायज सन्तान हुँ भन्नेप्रति पनि उनलाई चित्त दुखाइ भएन। ती सबै विर्सिन उनी नेपालगन्ज दिदीको घरतिर गइन््। उतै बसेर पढिन्। ०४५ सालमा खजुरामा मुसवेटवा मेला चल्दै थियो। मेलामा एउटा पुरुषको आँखामा कैद भइन्, उनी। रुपैडिया उनैसँग घुमिन्। सँगै खाना खाइन्। घर जान लाग्दा उनी चढेको जिप अर्कै बाटो मोडियो। आफूलाई हराएँ की भन्ने भेउसमेत नपाएकी शीतललाई अन्जान प्रेम सम्बन्धका कारण किशोर जीवनको यात्रा नै मोडियो।
‘पहिले हाम्रो पालामा वैंसको उमेरमा मान्छे निर्णय गर्न सक्दैन थिए। के नराम्रो छुट्याउन नसक्ने हुन्थ्यो’, उनले ती दिन सम्झिन्, ‘पहिले जसले फकायो, एक–दुई वचन राम्रो बोलिदियो, उसैलाई सहि मान्ने निर्दोषपन हुन्थ्यो। कसैलाई नाइँ भन्न नसक्ने र प्रलोभनमा पर्ने भएकाले उति वेला किशोरावस्थामा धेरै छोरीहरू घर छाडेर एकैछिन भेटेको केटासँग जान्थे।’
आफ्ना अनुभूति सुनाइरहँदा अलिकति भावुक भइन् उनी। आफ्नो अनुहारको रङ फेर्दै उनले भनिन्, ‘यो छोरीहरूको वैंसको दोष नभएर परिवारले छोरीलाई अभिभावकत्व दिन नसक्दाको परिणति हो। उनीहरूप्रति अभिभावक उत्तरदायी नहुँदा पनि किशोरीहरू सजिलै प्रलोभनमा परेर भाग्थे। त्यहि भएर त्यो हुनुअघि नै पूरा उमेर नपुग्दै घरमा विवाहको कुरा निस्कन्थ्यो, चाँडै विवाह हुन्थ्यो।’
उनले यी कुराहरू भनिरहँदा सिन्का पाउँरूको मौसमीको प्रतिबिम्ब देखा पर्छ उनमा। मौसमीले धेरै हण्डर खाएझैं शीतलले पनि पहिलो विवाह सम्बन्धमा धेरै पछुताउनु परेको थियो। मन परेको केटाको घरमा पुगेर भागी फर्किएकी शीतललाई गाउँले जम्मा भएर विवाह गराइदिएका थिए।
‘आफ्नै विवाह भएको आफैँलाई पत्तो भएन’, उनले सम्झिन खोजेझैं बोलिन्। अबोध किशोर उमेरमा कुनै विवाहित पुरुषसँग विवाह गरेर सौता हुन गएको भन्ने लागेको थिएन उनलाई। तर समय उनको पक्षमा भइदिएन। उनले मन परेको मान्छे विवाहित थियो। त्यो थाहा पाएपछि उनी धेरै रात रोइन्। उनीसँगै उनको सौता पनि रोइन्। अन्तरजातीय विवाह, त्यो पनि सौतामाथि। आफूले रोएर मन हलुका पारे पनि सौता रोएको देख्दा उनको मन पोलिरहन्थ्यो। सौता र श्रीमानलाई अलग गर्नु भनेको अपराधी हुनु हो भन्ने कुराले उनलाई सताइरह्यो। अनि मन मारेर उनले घरको शान्ति फर्काउन काखको छोरी च्यापेर नेपालगञ्जबाट निस्किइन्।
महिलाका हातखुट्टा समाज र परिस्थितिले बाँधिदिन्छ। पहिला ऊ छोरी भएकै कारण विवाह अघि पनि नियन्त्रण हुन्छे। छोरी भनेको उत्ताउलो नहुने, धेरै नबोल्ने, लजाउने, सर्माउने, धेरै नखुल्ने जात हो भनेर समाजले सीमा कोरिदिएको हुन्छ। विवाहपछि त झनै बन्धन, लगाम लगाइन्छ। प्रतिभा भएर पनि बाहिर निस्केर जमघटमा सहभागी हुन पाउँदैनन्।
चितवन आएर छोरीलाई हुर्काउँदै संघर्ष गरिन् उनले। युनिक एकेडेमीमा पढाउँदै वीरेन्द्र कलेजबाट बिए सकिन्। छोरा श्रीमानसँगै थियो। उसको यादले सताएपछि आफूसँगै ल्याउन नेपालगन्ज गइन्। छोरो दिन त निकै परको कुरा, साथकी छोरी पनि उतै राखिदिए। ममताको काख रित्याएर एक्लै चितवन फर्किइन्।
चितवनमा कस्मेटिक पसल चलाउँथिन्। व्यापार राम्रो हुन्थ्यो। नारायणी कला मन्दिरनजिक थियो डेरा। त्यहाँ कविहरू भेला हुन्थे। उनको कविहृदय चुप बस्न मानेन। उनी पनि लेख्न थालिन्। त्यही लेखाइको निरन्तरताले उनले आफ्नै अतीतका कथाहरूलाई बुनिन्।
जीवनको यात्राको किरिङमिरिङ झुक्किएर सम्झिन पनि उनलाई खासै रहर छैन। तर यात्रामा यस्ता प्रश्नसँग ठोकिन आइरहेको बताउँछिन्। जसरी आमा झुक्किन् त्यसैगरी उनी झुक्किएर जन्मिन्। आफै झुक्किएर उनका दुई छोरी र छोरा भए। मायाप्रेम पाउने उमेरमा उनले गरेको संघर्ष र प्रेमले बाँच्ने बेला सम्बन्धविच्छेद गर्नु पुगेकी मौसमीको कथा उस्तैउस्तै लाग्छ। उस्तैउस्तै भावनासँग उद्वेलित छन् शीतल र मौसमी।
‘मेची तिम्रो कोसी तिम्रो’ गीतबाट ०६५ सालमा रेडियो नेपालमा प्रथम भएकी शीतल समकालीन गजलकारका गजलमा विद्रोह, कडापन, बिलौना, निरीहपन र कुण्ठा पोख्ने ठाउँ अनगिन्ती हुँदा पनि उनी प्रेम रूचाउँछिन्। प्रेम र परिवार नखट्किएको होइन उनलाई तर पनि जीवनमा कसैको अभाव बानी परिसक्यो।
आमाको लाहुरे बितेर गए उनको जीवनमा भेटिएको लाहुरे सौतालाई छोडेर फर्किएकी शीतलले लाहुरमाथि नै उपन्यास लेख्नु आफ्नो आमाको कथासँग जोडिएको लाहुरे सम्झिनु थियो। पुस्तकको बुद्धिबहादुर जब पल्टनमा बित्छ, त्यसपछि धनकौरीको जीवनमा चुनौतीका पहाड आइलागे। धनकौरीको जीवनमा मौसमीको प्रवेश नै नहुन सक्थ्यो। श्रीमान लाहुरमै गुमाएकी र एक्लो भएकी धनकौरी अरू कसैको अँगालोमा बाँधिदा मौसमी जस्ता पात्रको जन्म भयो। त्यसपछि जीवनसँगको लडाइँ, पारिवारिक कलह, सामाजिक अपहेलना र एउटा बुवाको कमि उनीहरूले जीवनभर गरेका छन्। त्यो पनि लाहुरेहरूको विरहकै पाटो हो, जुन शीतलको आफ्नौ जीवनको नजिक छ।
उनका अनुसार महिलाका हातखुट्टा समाज र परिस्थितिले बाँधिदिन्छ। पहिला ऊ छोरी भएकै कारण विवाह अघि पनि नियन्त्रण हुन्छे। छोरी भनेको उत्ताउलो नहुने, धेरै नबोल्ने, लजाउने, सर्माउने, धेरै नखुल्ने जात हो भनेर समाजले सीमा कोरिदिएको हुन्छ। विवाहपछि त झनै बन्धन, लगाम लगाइन्छ। प्रतिभा भएर पनि बाहिर निस्केर जमघटमा सहभागी हुन पाउँदैनन्।
गुरुङहरू निर्दोष र सोझा हुन्छन् पनि भन्न खोजेकी छन् उनले। बाठा मानिसको जालोमा गुरूङहरू सजिलै पर्छन्। खस राजाहरूसँग मिलेर युद्धमा कसरी होमिए भन्ने गुरूङहरूको योगदानको कथा पनि उनले जोडेको बताउँछिन्।
म पनि घर भत्काएर साहित्यकार बनेकी हुँ। बाहिर निस्केर साहित्यको क्षेत्रमा काम गर्न विद्रोह गरेकै हुँ। तर, मेरो बिद्रोहले कसैलाई हानी गरेन। आफूलाई मन परेको क्षेत्रमा आएँ’, उनले भनिन्, ‘एउटा कुरा पाउन अर्को कुरा गुमाउनु पर्ने रहेछ। अझ यो महिलाको हकमा धेरै लागू हुने रहेछ। मैले ‘म’ बन्न, घर भत्काएको थिएँ।’
गुरूसेनीका लागि लाहुरबाट फर्किदा ल्याएका उपहार, वेलावेला परिवारलाई पल्टन घुमाएका कुरा नै बढी देखाइएको हुन्छ। तर, उनीहरूको पीडा, दुःख, परिवारसँगको विछोड, युद्ध भूमिका तिता भोगाइ जस्ता पाटो कमै उधिन्ने गरिन्छ। त्यसरी वितेका लाहुरेहरूको परिवारमा आएको विचलनबारे त झनै कम लेखिएको छ’, उनले आफ्नो समुदायका लाहुरे सम्झिन्।
गुरुङहरू निर्दोष र सोझा हुन्छन् पनि भन्न खोजेकी छन् उनले। बाठा मानिसको जालोमा गुरूङहरू सजिलै पर्छन्। खस राजाहरूसँग मिलेर युद्धमा कसरी होमिए भन्ने गुरूङहरूको योगदानको कथा पनि उनले जोडेको बताउँछिन्।
गुरूङ समुदायभित्र अझै धेरै भर्जिन कथाहरू रहेको बताउँछिन् उनी। शीतल आफ्ना आख्यानमा गीत कविताको पनि सहारा लिएकी छन्। गीत लेख्ने मान्छे भएका कारण पनि त्यसो भएको हुन सक्छ। ‘यो मैले हैन, पात्रको मनबाट उद्धगार भएर जन्माएको रचना हो। यस्तै, अर्को धनकौरीले एक्लो भएको वेला आफैसँग शान्त विद्रोह गीतबाट गरेकी छन्’, उनले भनिन्।
गीत गजल कोर्नु पहाड उक्लिएझैं हुने र आख्यान लेखन चितवनको फाँटमा कुदेझैं लाग्ने बताउँछिन्। शीतल भन्छिन्, ‘चार वर्ष लगाएर लेखें। अहिले धेरैलाई आफ्नै कथा लेख्नु भएकोहो भन्छन्। आफ्नो अनुभूतिबिना आख्यानले आकार हाल्न सक्दैन भन्ने लाग्छ अहिले।’
पुस्तकले त विमोचन भएकै दिन तमू वर्ष पुस्तक पुरस्कार–२०२२ जितेकी शीतल पुरस्कार पाउनुको पनि गुरूङ संस्कृतिसँग जोडिएको किस्सा रहेको बताउँछिन्। ‘हाम्रो पनि लेखनको वर्ग हुन्छ। पुस्तक छनोटका लागि पनि बाघ वर्ग (तमु पात्रो अनुसार विभाजन गरिने १२ वर्गमध्ये एक वर्ग) मा हुनुपर्ने नियम थियो। मेरो पुस्तक पनि बाघ वर्गमा नै छ। त्यसैले, छानिएर पुरस्कृत भएको होला भन्ने ठान्छु’, उनले भनिन्।