काठमाडौं– ३९ रनको जित निकाल्दै विराटनगर सुपर किंग्स नेपाल टी–२० लिगको फाइनल पुगेको दिन जनकपुर रोयल्स बाहिरियो। यसरी टिम बाहिरिँदै गएको अवस्थामा एउटा प्रश्न भने अनुत्तरित रह्यो। जनकपुर बिहान त्रिवि क्रिकेट मैदानमा ढिलो पुगेका कारण टसका लागि ४० मिनेट ढिलो भयो। यसअघिका खेलमा पारिश्रमिक नपाउँदा त्यस्तै घटना भएका थिए। तर आज खेलपछिको पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका प्रतिनिधिले खेलाडीलाई परिश्रमिकबारे नसोध्न पटक पटक आग्रह गरे।
‘पत्रकारहरुले पारिश्रमिकबारे मात्र सोध्छन् भनेर खेलाडी आउनै मान्दैनन्,’ क्यानका एक कर्मचारीले भने, ‘त्यसैले खेलाडीलाई खेलबारे मात्र प्रश्न सोधिदिनु होला।’ त्यसैले विराटनगर र जनकपुरका खेलाडीले सबै पैसा पाए त? यो प्रश्न अनुरत्तरित रह्यो। उसो भए के सम्झौताका आधारमा आज बिहान जनकपुरका खेलाडी खेल्न राजी भएका थिए? यो पनि प्रश्न नै रह्यो।
‘जे होस् खेलाडीका हिसाबले यो प्रतियोगिता फलदायी नै रह्यो। राम्रो क्रिकेट भइरहेको छ,’ प्रतियोगिताबारे उनले भने। रोहित फाइनल खेलमा दर्शकलाई त्रिवि मैदानमै आएर हेर्नका लागि अनुरोध गर्छन्। ‘आइदिनु होला र हामीलाई सपोर्ट गरिदिनु। फाइनल खेल्ने दुवै टिम राम्रा छन्,’ रोहितले भने, ‘खेल कति प्रतिस्पर्धात्मक होला भन्ने चाहिँ भोलि नै थाहा होला। तर हाम्रो साइडबाट पूरा दिने कोसिस गर्नेछौं।’ ‘अब एक खेल बाँकी छ, हामी सबैले इफोर्ट हाल्नुपर्छ भन्ने लागेको छ,’ रोहितले अगाडि भने।
सोमपाल कामीचाहिँ नेपालमा पहिलो पटक डबल लिग भएका कारण धेरै खुसी छन्। भन्छन्, ‘धेरै खेल खेल्न पाइयो। धेरै प्रदर्शन गर्ने मौका पाइयो। सबैले शतप्रतिशत दिएर खेल्न पाए,’ सोमपालले भने, ‘क्रिकेट फनी खेल हो। लिगमा राम्रो गर्नेहरुले गरे। हामीलाई पनि फाइनल पुग्ने दुई अवसर थियो, जुन हामीले गुमायौं।’
उनले युवा खेलाडीको लागि पनि लिग सहयोगी भएको बताए। ‘१० खेल भएपछि युवाहरुले कहिँ न कहिँ अवसर पाए। कसैले राम्रो प्रदर्शन गरे, कसैले गरेनन्। तर सबैले अनुभव चाहिँ लिएर गए,’ सोमपालले भने, ‘खडक बोहरा, दिलिप नाथ, सूर्य तामाङलगायत धेरैले मौका पाए। आशा छ उनीहरुले भविष्यमा राम्रो गर्नेछन्।’
कस्तो रह्यो दोस्रो क्वालिफायर?
विराटनगरले आज टस जितेर ब्याटिङ रोजेको थियो। किन? रोहितको जवाफ छ, ‘३० भन्दा धेरै खेल खेलिसकेका कारण विकेट पनि स्लो हुँदै गइरहेको छ। पहिले ब्याटिङ राम्रो र दोस्रो ब्याटिङ टफ हुन्छ। स्पिन र टर्न हुन्छ।’
सायद पहिले ब्याटिङ गरेर नै हुनसक्छ– उसले १६८ रनको लक्ष्य दिएको थियो। रोहितका अनुसार पनि सुरु गरेको हिसाबले नै लक्ष्य ल्याएको बताए। पहिलो इनिङमा विराटनगरका अमर रौटेलाले अन्तिम बलमा आएर छक्का हान्दै बाहिरिएका थिए। यसले पनि खेलाडीलाई दोस्रो पारीमा कसिलो बलिङ गर्नका लागि बुस्टअप गरेको रोहित बताउँछन्। ‘अन्तिम ओभरको पाँच बलमा चार रन मात्र आएको थियो। अन्तिम बलमा छक्का लागेपछि १० रन पुगेको थियो। त्यो भनेको राम्रो मोमेन्टम हो,’ रोहितले भने, ‘सानो सानो कुराले अर्थ राख्छ भनेर यस्तै कुरालाई भनेको होला,’ रोहितले भने।
आजको खेलमा जनकपुरका चाडविक वाल्टनले जमेर खेले, अर्धशतक बनाए। उनी खेलिरहँदा विराटनगरका बलरलाई निकै सकस देखिन्थ्यो। खेल जनकपुरको पोल्टामा जाने हो कि भन्ने अवस्था पनि पुगिसकेका थिए विराटनगरका खेलाडी। १५ ओभर सकिँदा तीन विकेट गुमाएर १११ रन बनाइसकेको थियो जनकपुरले। ‘वाल्टनले राम्रो खेले। उनी खेलिरहँदा डर लागेको थियो,’ रोहितले भनेका छन्, ‘यसअघि उसले ७० हान्दा जनकपुरले जितेको थियो। तर राज (नन्नान)ले निकै राम्रो बलिङ गरे र विकेट लिए।’
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले जनकपुरसामु १६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल खडा गर्यो। जवाफमा राम्रो सुरुआत गरे पनि जनकपुर पाँच बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १२८ रनमै समेटियो।
खेलको १६ औं औभरको तेस्रो बलमा र १७ औं ओभरको पहिलो बलमा जनकपुरले विकेट गुमाएपछि ऊ धेरै कमजोर अवस्थामा पुग्यो। उसले तीन ओभर र पाँच बल बाँकी रहँदा ११६ रनमात्र बनाएको थियो। त्यसपछि लगातार विकेट गएपछि जनकपुरले सम्हालिएर खेल्नै सकेन। ‘आजको खेलमा विराटनगरले राम्रो ब्याटिङ गरेको हो। फेरि पहिलो पारीमा विकेट सजिलो पनि थियो। स्पिनर्ससँग चाहिँ खेल्न गाह्रो थियो। १६८ भनेको धेरै ठूलो लक्ष्य त होइन तर सूर्यले राम्रो बलिङ गर्यो। तर पार्टनरसिप नभएर लक्ष्य भेट्न सकिएन,’ खेलपछि सोमपालले भने।
वाल्टनले खेलिरहँदा चाहिँ जनकपुर सहज अवस्थामा थियो। तर १७ ओभरमै मा सात विकेट गयो र पाँच बल बाँकी रहँदै जनकपुर अलआउट भयो। ‘टी २० मा यस्तै नै हुन्छ। थोरै ओभरको खेल भएर हो। लक्ष्य धेरै हुँदै गएका कारण पछिका खेलाडीलाई धेरै रन बनाउनु पर्ने थियो। त्यसका लागि बाउन्ड्रि प्रहार गर्ने क्रममा क्याचआउट भए। ब्याडलक भयो,’ सोमपालले भने, ‘ब्याट्समेनले क्लिक गर्न सकेनन्।’
जारी लिगमा विराटनगरको सुरुआति यात्रा सम्झनलायक रहेन। उसले जनकपुरसँगको पहिलो र दोस्रो खेल नै हारेको थियो। तर प्रतियोगिताबीच रोहित कप्तान बनेसँगै टिमको लय नै फेरियो। विराटनगरले राम्रो प्रदर्शन गर्न थाल्यो। अनि लिगमा दोस्रो भएको जनकपुरलाई तेस्रो भएको विराटनगरले हरायो। ‘हो, विभिन्न कुराहरुले सहयोग हुन्छ। तर हामीले जित्ने हिसाबले काम पनि गर्नुपर्ने हुन्छ। त्यो गर्यौं,’ रोहितले भने। उनले अगाडि भने, ‘एकदमै खुसी छु किनभने टिमले राम्रो प्रदर्शन गरेको हो। सबैको इन द फिल्ड र आउट द फिल्ड एकदमै राम्रो छ।’
आफ्नो प्रदर्शनबाट खुसी सोमपाल
क्वालिफायर खेलमा भलै जनकपुरले लक्ष्य भेट्टाउन सकेन। सोमपाल यसलाई खेलको पाटोका रुपमा लिन्छन्। ‘लिग चरण राम्रो खेल्दैमा च्याम्पियन भइँदैन। जति पनि खेलेका छौं, हामीले बेस्ट खेल्यौं। म आफ्नो प्रदर्शनबाट निकै खुसी छु। खेलमा कहिले जितिन्छ कहिले हारिन्छ।’
उनले आफ्नो प्रदर्शनबाट खुसी भएको बताए। ‘म आफ्नो प्रदर्शनबाट एकदमै खुसी छु। पछिल्लो पटक ईपिएल जित्दाखेरी प्रदर्शन नोट भएको थिएन। यो वर्ष हामीले हार बेहार्यौं। त्यसैले प्रदर्शन नोट भएको छ। जे हाम्रो लक्ष्य थियो त्यो त पाउन सकिएन। तर हामीले यहाँसम्म आउन पनि मेहनत गरेको हो,’ सोमपालले भने।
सोमपालले पछिल्ला १० खेलमध्ये तीन खेलमा मात्र विकेट लिन सकेनन्। उनको बेस्ट फिगर चाहिँ पोखराविरुद्धको खेलमा थियो। आठ रन दिएर तीन विकेट गिराएका थिए सोमपालले। प्रतियोगितामा उनले १० खेलबाट ११ विकेट गिराए। २९ ओभर पाँच बल गरेका उनले छ दशमलव ९ को इकोनोमी राखेका थिए।
‘तर क्रिकेट टिम गेम हो सबैले प्रदर्शन गर्नुपर्ने हुन्छ, मलाई लाग्छ सबैले राम्रो गरे। सन्दिप जोराले राम्रो त गरे तर मैले उसलाई जति स्वतन्त्रता दिएको थिएँ त्यसबापत उसको जति उत्त्रदायित्व बन्थ्यो त्यो कहिँ न कहिँ पूरा गर्न सकेन। तर उसले अझै राम्रो गर्ला,’ सोमपालले अन्तिममा भने।