काठमाडौं चक्रपथबाट १४ किलोमिटरमाथि उक्लेपछि पुगिन्छ, चन्द्रागिरि। शहरी कोलाहल छाडेर डाँडामा पुग्दा अर्कै संसारमा आइपुगेको अनुभूति हुन्छ। बादलको घुम्टो ओढेर बसेको छ, चन्द्रागिरि। घरि कुहिरोबाट उघ्रिँदै त घरि लुक्दै सबैलाई लजाएर हेरिरहेजस्तो लाग्ने चिसो, शान्त अनि सुरम्य वातावरण।
समुद्री सतहबाट २५ सय ५१ मिटर उचाइमा पर्छ, यो पर्यटकीय स्थल। त्यहाँस्थित भालेश्वर महादेवको दर्शनका लागि यसअघि पनि भक्तजन यहाँ आउँथे। डाँडामा उक्लिएपछि वरिपरि देखिने हीमशृंखलाले कसको मन लोभ्याउँदैन र । पछिल्ला दिनमा चन्द्रागिरिसम्म पुग्न केबलकार निर्माण भएपछि मानिसको छुट्टि मनाउने गन्तव्य बनेको छ यो।
यस क्षेत्रको धार्मिक महत्व उत्तिकै छ। दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई देवादिदेव महादेवले बोकेर पृथ्वी परिक्रमा गर्दा जहाँ सतीदेवीको भाल अर्थात् निधार पतन भयो, त्यस ठाउँमा भालेश्वर महादेव उत्पन्न भएको कुरा पुराणमा उल्लेख छ।
सोही विश्वासका कारण चन्द्रागिरिमा भालेश्वर महादेव मन्दिर स्थापना गरिएको हो।
त्यसो त, चन्द्रागिरि प्राचीनकालदेखि नै ऐतिहासिक र सामरिक हिसाबबाट महत्वपूर्ण स्थान हो। नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरिबाटै सुन्दर नेपाल (काठमाडौं) उपत्यकाको अवलोकन गरेका थिए।
त्यति मात्र होइन, यही स्थानमा पृथ्वीनारायण शाहले आध्यात्मिक साधना गरेर काठमाडौं उपत्यका एकीकरणका लागि शक्ति आर्जन गरेको जनविश्वास पाइन्छ। उपत्यकाका मल्ल राजाहरूले चिन्छन् भनेर उनी घुम ओढी चन्द्रागिरि डाँडाबाट आफ्नो राज्य गोरखातर्फ लागेको बयान पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...