धनगढी- प्रदेश ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका-४ तेघरी तथा नाम सुदूरपश्चिम प्रदेश प्रस्ताव गरिएको छ।
राजधानी र नामको बारेमा सुझाव दिन गठित विशेष सुझाव समितिले बुधबार प्रदेश सभामा प्रस्तुत गरेको प्रतिवेदनमा उक्त कुरा प्रस्तावित गरिएको हो। प्रदेश सभामा समितिका संयोजक तारालामा तामाङले संसदमा प्रतिवेदन पेश गरेका हुन्।
स्थायी राजधानी र नामाकंनका लागि गठित विशेष सुझाव समितिले सभामुखलाई भदौ ५ गते संसदीय समितिले प्रतिवेदन बुझाएको एक महिना पाँच दिनपछि उक्त प्रस्ताव प्रदेश सभामा पेश भएको छ।
भदौ ५ गते संसदीय समितीले सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन पेश गरेको थियो। प्रतिवेदन प्रदेश सभामा पेश भएको २४ घण्टापछि मात्र प्रदेश सभामा सुझाव माथिको छलफल शुरु हुने कानुनी व्यवस्था छ। प्रदेश सभामा सहमती नभए प्रदेशको नाम र राजधानी बहुमतबाट टुंगो लाग्ने छ।
प्रदेशको स्थायी राजधानी तोक्न र नामाकरणका लागि प्रतिवेदन पेश गर्न प्रदेश सांसद तारा लामा तामाङको संयोजकत्वमा पाँच सदस्यीय विशेष सुझाव समिति गठन गरिएको थियो। सभामुख अर्जुन थापाले प्रतिवेदन माथि बुधबार १ बजे बस्ने प्रदेश सभा बैठकमा छलफल हुने जानकारी दिए।
प्रस्तावित राजधानी मान्य हुदैन : प्रतिपक्ष
यसैबीच संसदीय विशेष समितिले पेश गरेको प्रदेश ७ को स्थायी राजधानी बारे प्रदेश ७ को प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले असहमती जनाएको छ । काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले प्रदेशको राजधानी कित धनगढी मै कित दिपायलमा हुनुपर्ने बताए।
‘गोदावरी राखेर केहि व्यक्तिलाई खुसी पार्न खोजिएको हो, त्यहाँ जंगल मासिन्छ’ रावलले भने,‘करोडौको खर्च भइसकेको धनगढीमा हुनुपर्छ या त दिपायलमै ठिक छ।’ उनले यस बारेमा पार्टीमा छलफल गरेर अघि बढ्ने बताए।







प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४