बिहीबार, वैशाख १३, २०८१

पेमेन्टको चिसो अनुभवबाट गुज्रिएको लिगमा लुम्बिनीको उत्साह

पहिलो क्वालिफायरमा जनकपुर रोयल्सले अन्तिम ओभरमा १० रन बनाउन नसक्दा अल स्टार्सको फाइनल यात्रा तय भयो। यता रोयल्सको भने फाइनल यात्रा अझै निश्चित छैन।
 |  आइतबार, पुस २४, २०७९

विनय सापकोटा

विनय सापकोटा

आइतबार, पुस २४, २०७९

काठमाडौं– लुम्बिनी अल स्टार्स काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगको फाइनलमा पुग्ने पहिलो क्लब बनेको छ। पहिलो क्वालिफायरमा जनकपुर रोयल्सले अन्तिम ओभरमा १० रन बनाउन नसक्दा अल स्टार्सको फाइनल यात्रा तय भयो। यता रोयल्सको भने फाइनल यात्रा अझै निश्चित छैन।

triton college

‘नेपालको पहिलो ठूलो फ्रेन्चाइज लिगको फाइनलमा पुग्यौँ। यसको कप्तानी गर्न पाउँदा धेरै खुसी लागेको छ,’ खेलपछि अल स्टार्सका कप्तान दिपेन्द्र सिंह ऐरीले भने। लुम्बिनीले सिजनभर नै सुन्दर प्रदर्शन गर्यो। लिग चरणमा दुई मात्र हारको सामना गरेको उ शीर्षस्थानमा रहँदै क्वालिफायर पुगेको थियो। क्वालिफायरमा छ रनको जित निकालेपछि कप्तान ऐरी यी सबै जितको नायक व्यवस्थापन पक्षलाई मान्छन्। उनले भने, ‘हाम्रो जर्नी निकै रमाइलो भयो। क्लबमा खासगरी व्यवस्थापन राम्रो छ। बाहिरका उत्कृष्ट खेलाडी अनुबन्ध गरेको थियो। उनीहरुले सहयोग गरे र जित्यौँ।’

लुम्बिनीले हरमित सिंह, लाहिरु मलिन्था, विपुल शर्मा, शाड्ली भान र ह्यारी ट्याक्टजस्ता अनुभवी खेलाडी अनुबन्ध गरेको थियो। उनीहरुबाट नेपाली युवा खेलाडी पनि धेरै सिकेका छन्। ‘विपुल, हर्मित, स्याडो, प्याटजस्ता खेलाडीको अनुभवले जुनियरको खेलाडीलाई फाइदा भयो। उनीहरुले आफ्नो अनुभव सेयर गरेका छन्। सिनियर खेलाडीबाट जुनियरले खेलको कस्तो अवस्थामा कसरी खेल्ने भन्नबारेमा सिकिरहेका छन्,’ दिपेन्द्रले बयान गरेका छन्। तर आजको लाइनअपमा ह्यारी ट्याक्ट थिएनन्। उनीचाहिँ घर फर्किँदै छन् र फाइनलका लागि उपलब्ध हुने छैनन्। 

विकेटले फरक पार्छ
पहिलो क्वालिफायरको डेथ ओभरमा जनकपुरलाई २३ रन बनाउनुपर्ने थियो। त्यसमाथि १९ औं ओभरमा बलिङ गर्न आएका भानले १३ रन खर्चिए। अन्तिम ओभरमा त लुम्बिनीलाई १० रन डिफेन्स गर्नुपर्ने थियो। टी–२० क्रिकेटको को अन्तिम ओभरमा १० रन डिफेन्स गर्नु लगभग हार पक्का भइसकेको अवस्था हो। त्यो अवस्थामा हार बेहोर्नुपर्ला भन्ने डर थियो कि थिएन? कप्तान दिपेन्द्रको जवाफ छ, ‘त्यस्तोे धेरै महत्वाकांक्षी चाहिँ थिइनँ। १९ औं ओभरमा १३ रन बनाएपछि जनकपुरले जित्छ कि भन्ने चाहिँ भइरहेको थियो। तर डिफेन्स गर्न सक्यौँ।’

त्रिवि क्रिकेट मैदानमा धेरै दिनबाट खेल भइरहेका कारण अहिले विकेटले धेरै फरक चरित्र देखाइरहेको छ। यसरी धेरै खेल भएपछि विकेट स्लो बन्छ, बल धेरै टर्न हुन्छ र स्पिनर्सलाई सजिलो परिदिन्छ। त्यसैले स्टार खेलाडीले भरिएको लुम्बिनीले पनि आज १४४ रनको लक्ष्य मात्र दिन सकेको हो। ‘विकेट धेरै गाह्रो छ। विपक्षीलाई पनि गाह्रो नै भएको छ। त्यसमाथि २० ओभरमा धेरै कुरा तलमाथि हुन सक्छ,’ दिपेन्द्रले भनेका छन्।

corrent noodles
Metro Mart

उनका टप अर्डरका ब्याटर नै आज चल्न सकेनन्। हरमित शून्य रनमै आउट भए भने लाहिरुले पनि १६ रन मात्र बनाउन सके। त्यस्तै कुशल त तीन रनमै आउट भए। बाँकी खेलाडीले पनि राम्रो स्ट्राइक रेट दिन सकेनन्। ‘मलाई लाग्छ आजको विकेट निकै फरक थियो,’ जनकपुर रोयल्सका खेलाडी सोमपाल कामीले भनेका छन्। यद्यपी प्रतियोगिताको सुरुबाटै, नेपालको टिममा चम्किएका खेलाडीहरु दिपेन्द्र आफैं अनि कुशलले पनि यो प्रतियोगितामा आशा गरिए अनुसारको प्रदर्शन गरेनन्। ‘फाइनलमा देखाउने अझै एउटा मौका रहेको छ। मौका लिएर खेल्नेछौं,’ दिपेन्द्रले भने।


‘रिल्याक्स’ भएर खेल्ने तयारीमा अल स्टार्स
अब फाइनल खेल जनवरी ११ मा हुनेछ। यसकारण अल स्टार्ससँग दुई दिनको रेस्ट समय रहेको छ। तर त्यो समय अर्को टिमलाई हुनेछैन। यो कुरा दिपेन्द्रले पनि बुझेका छन्।

‘फाइनल पुगिसकियो। अब रिल्याक्स भएर खेलौँ। केहि कुरामा ध्यान दिऔँ। एकएक खेलबाट गुज्रिएर फाइनल जाने हो। यसलाई पनि एउटा खेल नै सोचेर जाने हो,’ उनी भन्छन्, ‘तीन टिम छ, सबै प्रतिद्वन्द्वी उस्तै छन्। म यो टिमसँग नै फाइनल खेल्छु भन्ने टिम त खासै छैन। जुनै आए पनि सामना गर्न तयार छौं।’

यता सोमपालले भने आजको खेलबाट गरेको गल्तीबाट सिकेको बताएका छन्। आफ्नो टिमले गल्ती गर्यो भने विपक्षी हाबी हुने उनलाई मज्जासँग थाहा छ। त्यसैले उनले आफ्नो टिमको समस्या केलाएका छन्। ‘विकेट त टफ थियो नै, त्यसमाथि हामीले गल्तीहरु धेरै गर्यौँ। हामी आज गरेको गल्ती नियाल्दा जितको लायक नै थिएनौँ। योजस्तो टफ खेलमा गल्ती गर्न हुँदैन। भयो भने अन्य टिम हाबी हुन्छ,’ उनले आत्मालोचना गरेका छन्।

सोमपालले आजको खेलमा अतिरिक्त रन पनि दिएको हो जस्तो लागेको बताए। ‘हामीले अनुशासित बलिङ गरेको भए १२० रनमा रोक्न सक्ने थियौँ भन्ने पनि लागेको थियो।  २० रनले हार्न पुगेको हो,’ उनले भने। अब आउँदा दिनमा त्यस्तो गल्ती नगर्ने उनको विश्वास छ।

अब रोयल्सले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ। लिगमा दोस्रो भएका कारण उसलाई त्यो फाइदा रहेको छ। दोस्रो क्वालिफायरमा उसले विराटनगर र काठमाडौंको खेलको विजेतासँग खेल्नेछ। ‘अर्को खेल हाम्रो लागि अवसर हो। आज हार बेहोरे पनि हामीलाई फाइनल पुग्ने अवसर छ। हामीले त्यो खेललाई सकारात्मक तरिकाले नै लिएका छौं,’ हार बेहोरेपछि सोमपालले भनेका छन्, ‘फाइन पुग्न पाएको भए राम्रो हुन्थ्यो। अब चाहिँ एक दिन रेस्ट छ त्यसमा तयारी गर्ने समय छैन। हाम्रो अर्को खेलको रिजल्टको पर्खाइमा हो। आज हाम्रो पक्षमा नतिजा आएन अर्को खेलमा हाम्रो पक्षमा नतिजा ल्याउने कोसिस गर्नेछौं।’

पछिल्लो सिजनमा उनको कप्तानीमा लिग जितेका थिए। त्यो अनुभवलाई आगामी खेलमा पनि लागू गरेर जित निकाल्ने उनको लक्ष्य रहेको छ। ‘आज हारेर मात्र नकारात्मक कोइसनहरु आएको जस्तो लागेको छ,’ उनले भनेका छन्, ‘हामीले जित निकालेपछि सकारात्मक कुरा पनि आउँछन्। खेलाडीको हिसाबले आफूलाई जहिल्यै पनि प्रेरणा दिएर नै राख्नुपर्छ भन्ने लाग्छ।’

अझै छ पेमेन्टको इस्यू
जनकपुर पहिलो संस्करणको लिगको पहिलो क्वालिफायरमा पुग्ने टिम बन्यो। टिममा धेरै उतारचढावका बाबजुद पनि उसले लिगको दोस्रो स्थानमा पुगेको हो। यसरी रोयल्सको नकारात्मक चर्चा हुनुमा खेलाडीलाई समयमै तलब उपलब्ध गराउन नसक्नु पनि हो।

आजकै खेलमा पनि जनकपुरका एकजना विदेशी खेलाडीले खेल नै खेल्न मानेनन्। सम्झौता अनुसारको मितिमा रकम नपाएपछि जनकपुरका खेलाडीले प्रतियोगिता खेल्न नमानेछि क्वालिफायरको टस पनि केहि समय धकेलिएको थियो। लिग नसकिँदै सबै रकम आउनु पर्नेमा जनकपुरका खेलाडीले ६५ प्रतिशत रकममात्र पाएका छन्।

‘तपाईंहरुलाई जे लागिरहेको छ त्यो कुरा सत्य हो। खेलाडीहरु स्वतन्त्र रुपले खेल्न सकिरहेका छैनन्। यस्तै कारणले हाम्रो टिमको म्याच विनर खेलाडी चाहिँ होटलमै छ,’ सोमपालले भनेका छन्, ‘वास्तवमै त्यसले गर्दा रिजल्ट सोचेजस्तो आएको छैन। तर एक व्यावसायिक खेलाडी भइसकेपछि चाहिँ मैदानमा आएर प्रदर्शन गर्ने उसको जिम्मेवारी पनि हो।’ आज जनकपुरको प्रदर्शन कमजोर हुनुमा चाहिँ पेमेन्टको रोल नभएको सोमपालको दाबी छ। ‘बाउन्ड्रि बाहिर पेमेन्ट नपाएको लगायत जे पनि हुन्छ तर भित्र त्यस्तो देखाउनु हुँदैन। पैसा नपाएर आफ्नो शतप्रतिसत नदिएको भन्ने चाहिँ होइन। हामीले पैला (समूहमा) पैसा नपाएर पनि जित्दै गएको त हो नि,’ उनले थपे, ‘आज हारको कारण त्यस्तो होइन।’

लिगका दौरान नै क्यानसँग पहिले वार्ता भएको थियो। त्यसैले सोमपाल अहिले केहि विश्वस्त छन्। भन्छन्, ‘पेमेन्ट भइरहेको छ। अब एक दुई दिनमा पूरा हुन्छ होला।’ नेपालमा यसअघि भएको फ्रेन्चाइजमा सोमपाल कामी कप्तान थिए र उनले लिग जिताएका थिए। तर उनीभन्दा कम अनुभवी कप्तान बनाएपछि जनकपुरको धेरै आलोचना पनि भएको थियो।

यता लुम्बिनी अल स्टार्सका कप्तान दिपेन्द्रले भने आफ्नो क्लबमा पेमेन्टको इस्यू नरहेको बताएका छन्। ‘सबै खेलाडीले पैसा पाइसकेका छन्। त्यसले गर्दा पनि खेल्नको लागि हौषला मिलिरहेको छ। राम्रो खेलिरहेका छन्। पूरा पेमेन्ट भइरहेको छ।’

प्रकाशित: Jan 08, 2023| 19:20 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।