काठमाडौं- प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। कार्कीले ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए। कार्कीले सोमबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने तय भएको छ।
वि. स. २०२३ साल असार ८ गते झापा जिल्लाको स्थित गौरादह नगरपालिका वडा नम्बर ३ मा जन्मिएका कार्कीको वाल्यकाल गौरादह मै वितेको र एस एल सि सम्मको अध्ययन स्थानिय जनता मा वि मा भएको थियो।
विद्यालयमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुमा संगठित भई विध्यार्थी राजनितीमा प्रवेश गरेका थिए। १३ वर्षको उमेरमा २०३६ सालमा भएको विद्यार्थी आन्दोलनमा सहभागी भएका थिए।
अनेरास्ववियूको केन्द्रीय सचिवमा कार्की २०५० सालमा निर्वाचित भए, त्यसपछी उनी उपाध्यक्षको जिम्मेवारी सम्हाले। उनि २०५५ सालमा भदौ २७ गते १४औँ राष्टिय महाधिवेशनबाट अनेराववियूको केन्द्रिय अध्यक्षको जिम्मेवारी पाएका थिए।
स्वतन्त्र विद्यार्थी युनियनको समेत नेतृत्व (सभापति– नेपाल ल क्याम्पस) सम्हालेका कार्की विद्यार्थी विशेष जिल्ला कमिटिको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अन्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न भएको नेकपा(एमाले) को नवौं राष्ट्रीय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गरे।
पार्टीको ५औँ राष्ट्रीय महाधिवेशन देखि स्वयंसेवकको केन्द्रीय कमान्डमा प्रदिप नेपाल, विष्णु रिमाल, बिनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डे संगै महत्त्वपूर्ण भुमिकामा रहदै पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रिय राजनीतिमा रहेका छन्।
नवौं महाधिवेशन बाट केन्द्रीय कमिटीमा निर्वाचित भए पछी २०७१–२०७३ साल सम्म मेची अञ्चल समन्वय कमिटिको ईन्चार्जका रुपमा जिम्मेवारी बहन गरेका कार्की संविधान अनुकुल संघीयता कार्यान्वयन गर्ने गरि पार्टीको प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिटी, प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भुमिका निर्वाह गरीसकेका छन्।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट प्रत्यक्ष निर्वाचित कार्की प्रदेश नम्बर १ को स्थापनाकालीन मन्त्री परिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा २०७४ फाल्गुन ३ गते जिम्मेवारी सम्हाल्नु भएको थिए।
करिब ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा सफल कार्यकाल सम्पन्न गरि २०७८ साल भाद्र १० गते सरकार बाट बाहिरिएका थिए।
कार्की २०७९ मा सम्पन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा समेत झापा ५(क) बाट प्रदेश सभा सदस्यमा अत्याधिक मत सहित बिजयी भएका थिए। उनी नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेता समेत हुन्। कार्की अहिले नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह–ईन्चार्जका भुमिकामा छन्।