जनकपुरधाम- सडक निर्माणको माग राख्दै स्थानीयहरुले जनकपुरधाम उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्। ठेक्का सम्झौता भएको एक वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले चासो नदिएको भन्दै स्थानीयहरुले सोमबार उपमहानगरपालिका कार्यालय घेराउ गरेका हुन्।
जनकपुरधाम उपहानगरपालिका-१४ मा स्थानीय थापा चोक देखि मुजेलिया प्रहरी चौकीसम्म १.३ किलोमिटर सडक निर्माणका लागि २०७४ भाद्र १२ गते रमण कनस्ट्रक्सनले सम्झौता गरेको थियो।
सम्झौता भएको एक वर्षभित्र सडक निर्माण पुरा गर्नुपर्ने भनिए पनि हालसम्म निर्माण कार्यसमेत शुरु नगरेपछि स्थानीयहरुले उपमहानगरपालिका कार्यालय घेराउ गरेका हुन्। वर्षौं देखि जीर्ण अवस्थामा रहेको उक्त सडक खण्ड निर्माण नहुँदा त्यस क्षेत्रका स्थानीयहरुलाई हिलो पानीमा हिँडनुपर्ने बाध्यता रहेको छ।
निर्माण व्यवसायीले सडक निमार्णका लागि चासो नदेखाएपनि सरोकारवाला कार्यालयहरु केही गर्न नसकेको स्थानीयवासीको आरोप छ। आवतजावत गर्न समस्या झेल्दै आइरहेका उनीहरुले सडक निर्माण संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रेका छन्।
संघर्ष समितिले मंगलबार बिहान ११ बजेदेखि २ बजेसम्म दुई घण्टा धर्ना बसेर उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्। दुई घण्टा धर्नामा बस्दा पनि समस्या समाधानको लागि छलफल गर्न समेत नगर प्रमुख कार्यालय नपुगेको संघर्ष समितिका सदस्य राजकरण यादवले बताए।
यता, शहरी डिभिजन कार्यालयका प्रमुख प्रदिप सिंहले ढल निर्माणसम्बन्धमा कुरा नमिल्दा सडक निर्माण शुरु हुन नसकेको बताए। सिंहका अनुसार स्थानीयहरुले सडक मुनी ढल निर्माणगर्न माग गरेका छन् । तर, सम्झौतामा सडक छेउबाट नाला निर्माणगर्ने उल्लेख रहेकोले निर्माण कार्य शुरु हुन नसकेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४