काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले ओली नेतृत्वको सरकार गठन भएको सात महिना ५ दिनको उपलब्धि ठूला-ठूला भ्रमको खेती भएको र झुठका पुलिन्दा भएको बताएका छन्।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हुन त यो अवधिमै सरकारको मुल्यांकन गर्ने बेला होईन, तर पनि हुने बिरुवाको चिल्लो पात भनेजस्तो, अहिले त्यो चिल्लो पात देखिएन् । खस्रो पात मात्रै देखियो।’
नेता केसीले भने,‘अहिले ५ हप्ता हुन लाग्यो, यो बीचमा झण्डै ३७ जना महिलाहरु जहाँ ७ महिनाको बालिकादेखि ८३ वर्षको बृद्धाको समेत बलात्कार भएको छ। बलात्कार, हत्या, हिंसा र अपाराधिक गतिविधिहरु यसरी बढेको छ, तर सरकारले अपराधीहरु पत्ता लगाउन सकेको छैन।
नेपालकै इतिहासमा विपी कोइरालापछि यति शक्तिशाली दुर्इतिहाइको सरकार भएपनि आफैले लज्जा मान्नुपर्ने स्थिति हुने गरी भ्रमको खेति गरेको नेता केसीले बताए।
सत्तारुढ दलकै वरिष्ठ नेताहरुले आफ्नो पार्टीलाई बिर्गानको निम्ति षड्यन्त्र भैरहेको भनेर टिप्पणी गरेको प्रसँग उल्लेख गर्दै उनले भने,‘बलात्कार र हत्या गर्न षडयन्त्र कोही गर्छ? यस्ता अभिव्यक्तिलाई एउटा सत्तारुढ दलको अभिव्यक्तिलाई मान्ने कि नमान्ने ? कहिले अरिंगाल भन्नुहुन्छ, हिजोमात्रै मौरी बन्नुपर्छ भएको छ। त्यसकारण उहाँहरुको बोलीलाई नियन्त्रण गर्नुपर्ने सबैभन्दा पहिलो आवश्यकत्ता छ।’
वर्तमान प्रधानमन्त्री ओली हिजो प्रतिपक्षमा हुँदा बोलेका कुरालाई जनताले राम्रै भन्ने गरेपनि अहिले ओली मुलुकको प्रधानमन्त्री भएकोले आफ्नो बोलीलाई नियन्त्रण गर्नुपर्ने उनको सुझाव छ। उहाँ सबै पार्टीको प्रधानमन्त्री हो । अब छिसिक्क घोच्ने काम बन्द गर्नुपर्छ। बोलीमा नम्रता र धैर्यता हुनुपर्छ। संयम भएर बोल्नुपर्छ ।’
नेता केसीले काठमाडौं महानगरपालिकाले मेयर पाएको १८ महिना बितिसक्दापनि अहिलेसम्म महानगरका विकासमा केही परिवर्तन नभएको पनि आरोप लगाए। उनले भने,‘हिजो निर्वाचनको बेला जनतासामू गरेका प्रतिबद्धताहरु खोई त पूरा गरेको ? अब पत्रकाहरुले यस्ता विषयमा अलिक बढि चनाखो भएर आफ्ना समाचार सामाग्रीहरु पस्कनुपर्छ ।’
पत्रकारिता क्षेत्र जीवन्त भएमात्रै लोकतन्त्रको अस्तित्व रहने बताउँदै उनले भने,‘अमेरिकाकै शक्तिशाली राष्ट्रपति निक्सन वाटरगेट स्क्याण्डलका कारण राजिनामा गर्न बाध्य भए। तर अब यहाँ तपाईहरुलाई फोटोपनि खिच्न नपाउने र सामाजिक सञ्जालमा राख्न नपाउने नीति सरकारले अख्तियारी गरेको छ। यो नीतिले हाम्रो सरकार निरंकुशतातर्फ उन्मुख छ भन्ने देखिन्छ।’
आफू विद्यार्थी नेता हुँदाको प्रसंग कोट्याउँदै केसीले भने,‘त्रिवीका उपकुलपति सर्युबहादुर शाक्य हुँदा म नेविसंघको संस्थापक तयारी समितिको सभापति थिएँ, त्यतिवेला भिसी शाक्यको अनुमति नलिईकन प्रहरी त्रिविमा पनि पस्न पाउँदैन थियो । त्यो त पञ्चायत कालमा । उनले थपे, 'अहिले संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई विदेश जाँदा एयरपोर्टबाट बन्धी बनाएर घण्टौंसम्म प्रधानमन्त्री निवासलाई बन्धी गृहको रुपमा परिणत गरियो। योभन्दा लज्जास्पद कुरा अरु के हुन्छ?’
त्यतिमात्रै नभएर वीर अस्पतालबाट डाक्टरलाई अपहरण गरेर गृहमन्त्रालय पुर्याएको बारेमा पनि केसीले आपत्ति जनाए। न्यायाधीशलाई के को आधारमा महाअभियोग लगाउन खोजिएको भन्दै केसीले सरकारलाई प्रश्न गरे। उनले भने,‘अभियोग त हुनुपर्यो नि। उहाँ न्यायाधीशको निम्ति अदालत फर्किदा के को महाअभियोग ?’
सरकारले भ्रष्चाटार सहन्नौं भनेर दिनप्रतिदिन बोल्ने गरेको उल्लेख गर्दै उनले सरकारलाई चूनौति दिँदै भने,‘मेरो सरकारलाई चूनौति छ, ३३ केजी सुन प्रकरण कहाँ पुग्यो? के भैरहेको छ ? त्यो कहाँ छ ? त्यसमा जिम्मेवार को-को छन् ? आग्रह वा पूर्वाग्रहविना जुनुसकै पार्टीको भएपनि जनताको बिचमा ल्याईदिओस्तैं चुप । मैं चुप किन। किनभने लहरो तान्दा पहरो गर्जिन्छ भन्ने भयले यसो गरिएको हो।
अहिलेको सरकारले महँगी र मुल्यवृद्धि भैरहेको सुनाउँदै सरकारले यतातर्फ ध्यान दिनुपर्ने उनले सुझाव दिए।
फरक प्रसँगमा उनले सरकारले बुढीगण्डकी बनाउन गेजुवालाई दिने कुरा आएकोप्रति टिप्पणी गर्दै भने,‘एउटा सरकारले दियो, अर्कोले फिर्ता गर्यो, फ्रिक्वेन्टली यस्तो भैरहेको छ। अहिले फेरी उहाँहरुले दिँदा त्यसको उपदेहिता के छ भन्ने कुरा हो। विकास निर्माणका कुरा पुतली खेलेजस्तो भैरहेको छ। त्यसो गर्नुहुन्न। पछिल्लो समय फाईदाको आधारमा सरकारले निर्णय गरेको छ भन्ने कुरा बाहिर आएको छ।’
त्यसैगरी उनले आफ्नो पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित हुन नेताहरुलाई आह्वान गरेका छन्।
“सरकार वा अन्य पार्टीबाट आएको चुनौतीभन्दा पनि पार्टीभित्र देखिएको गुट, उपगुट अहिलेको मुख्य चुनौती हो, पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन, निर्वाचनमार्फत सामूहिक नेतृत्वमा जानुपर्छ”, उनले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४