विराटनगर– मोरङको ग्रामथान–२ झोराहाटको रवि आधारभूत विद्यालय प्रदेश १ कै उत्कृष्ट विद्यालय बनेको छ। बुधबार प्रदेश १ सरकारले १४ जिल्लाका २७ विद्यालयलाई उत्कृष्ट व्यवस्थापन भएका सफल मावि र आधारभूत विद्यालयको सूचीमा राख्दै नगदसहित सम्मानित गरेको छ। ३२ वटा सूचक पूरा गरेका २७ विद्यालयभित्र रवि आधारभूत विद्यालय पनि परेको छ। उसले प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट ९ लाख ७५ हजार नगदसहित ट्रफी प्राप्त गरेको हो।
रवि आधारभूत विद्यालयमा शतप्रतिशत दलित विद्यार्थी अध्ययनरत छन्। कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा अहिले ४१८ जना विद्यार्थी छन्। ३६ वर्षीय प्रधानाध्यापक जितेन्द्र सरदार भन्छन्, ‘हाम्र्रो विद्यालय बाहेक नेपालका कुनै पनि सामुदायिक विद्यालयमा शतप्रतिशत दलित विद्यार्थी छैनन्।’ पाँच वर्षअघि न्यून विद्यार्थी भएकै कारण विद्यालयलाई ‘मर्ज’ गर्नुपर्ने आवाज उठ्न थालिसकेको थियो। विद्यार्थी संख्या वर्षेनी घट्दो क्रममा थिए। विद्यालयमा भौतिक संरचनाको अभाव त छँदै थियो, नेतृत्व गर्ने व्यक्ति पनि नभएपछि गाभिने बाहेक विकल्प पनि थिएन। विद्यालय निमित्त प्रधानाध्यापकको भरमा चल्न सुरु भएको थियो। विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने भन्दा पनि शैक्षिक सुधार गर्नुपर्ने निमित्तको जिम्मेवारी पाएका शिक्षक जितेन्द्र सरदारको सोचका कारण विद्यालय करिब ५ वर्षभित्रमा उत्कृष्ट बन्न सफल भएको छ। सरदारले विद्यालयको निमित्तको नेतृत्व पाएपछि विद्यालय सुधारमा लागे।
एक वर्ष निमित्त र ४ वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारीमा रहेका सरदारले विद्यालयको व्यवस्थापनमा उल्लेख्य सुधार मात्रै गरेनन्, उत्कृष्टभित्र पनि पार्न सफल भएका छन्। शुरुवातका दिनमा भौतिक संरचनाको अभाव, विद्यार्थी संख्या घटेर झण्डै ५० जनाको हाराहारीमा पुग्नु जस्ता कारणले भने उनलाई केही पिरोलेको थियो। तर, उनले आँट गरेर विद्यालयलाई नयाँ रुप दिनुपर्छ भनेर लागि परे। निमित्त प्रधानाध्यापक भएकै अवस्थामा सरदारले विभिन्न सहयोगी निकायसँग सहयोगका लागि अपिल गरे। सोअनुसारको सहयोग पनि पाए। विद्यालयको भौतिक सुधारलाई उनले त्यसपछि अघि बढाउँदै लगे।
एक वर्ष निमित्त र चार वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारीमा रहेका जितेन्द्र सरदारले विद्यालयको व्यवस्थापनमा उल्लेख्य सुधार मात्रै गरेनन्, प्रदेशकै उत्कृष्टभित्र पनि पार्न सफल भएका छन्।
उनी विद्यालयको नेतृत्वमा आएपछि विद्यालयको भौतिक सुधारका लागि विभिन्न दातृ निकायसँग प्रस्तावनासहित पुगे। उनको अभियानमा सुरुमा बहुउद्देश्यीय विकास व्यवस्थापन सेवा नेपाल (एमडीएमएस) साथ दिन तयार भयो। उसले आरसीसी दुई कोठे पक्की भवन, बालबालिका मैत्री र अपांगमैत्री शौचालय र विद्यालयको पुरानो भवन निर्माणमा साथ दियो। विद्यालयमा धमाधम भौतिक संरचना निर्माण हुन थाल्यो। पछि जनप्रतिनिधिहरु अमनलाल मोदी, विजय विश्वास, ग्रामथान गाउँपालिका लगायतको सहयोगबाट विद्यालयमा अहिले सुविधा सम्पन्न भौतिक पूर्वाधारहरु निर्माण भएको छ।
विद्यालयमा भवन निर्माण सुरु भएसँगै प्रधानाध्यापक सरदारले विद्यार्थी संख्या वृद्धि गर्नतर्फ लागे। यसका लागि उनको नेतृत्वमा विद्यालयमा घरदैलो अभियान सुरु भयो। विद्यालयमा राम्रो पढाइ हुने सन्देशसहित बोर्डिङ स्कुलमा पढाइरहेकाहरुले सामुदायिकमा छोराछोरीहरु सार्न थाले। विद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यम सुरु गरियो। स्थानीय स्तरका निजी विद्यालय बराबरको शिक्षा रवि आधारभूत विद्यालयले दिन थालेपछि धेरै अभिभावकले बोर्डिङ छाडेर छोराछोरी ल्याउन थाले। नमुना विद्यालय बनाउने अभियानमा लागेका सरदारले विद्यालयलाई स्थानीय स्तर, जिल्ला हुँदै प्रदेशमै उत्कृष्ट बनाएका छन्।
रवि आधारभूत विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन गर्न थालेसँगै विद्यार्थीको संख्या पनि बढेर गएको उनले बताए। बालमैत्री विद्यालय, बालबालिकाका लागि परामर्श कक्ष, बालबालिका तथा अपांगमैत्री कक्षा कोठा तथा शौचालयको व्यवस्था, अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमणको व्यवस्था विद्यालयले गरेको अध्यक्ष सरदारले बताए। उनले भने, ‘विद्यालयले बाल संरक्षण नीति पनि बनाएको छ।’ विद्यालयका हरेक गतिविधिले विद्यार्थीलाई आकर्षित गरेको उनको भनाइ छ। पठनपाठनदेखि हरेक गतिविधिमा आफ्नो विद्यालय अब्बल रहेको सरदारको दावी छ।
विद्यालय व्यवस्थापनमा उत्कृष्ट भएका प्रदेश १ का २७ विद्यालयका प्रधानाध्यापकमध्ये सरदार सबैभन्दा कान्छा हुन्।
२७ वटा विद्यालयले पूरा गरे सूचक
५ हजारभन्दा बढी सामुदायिक विद्यालय रहेको प्रदेश १ मा १४ वटा मावि र १३ वटा आधारभूत विद्यालयले तोकिएको मापदण्ड पूरा गरेका छन्।
उत्कृष्ट विद्यालयमा मोरङबाट विराटनगर–३ मा रहेको पोखरीया मावि, ताप्लेजुङको फुङलिङ नगरपालिका–४ को भानुजन मावि, पाँचथरको फिदिम नगरपालिका–१ को फिदिम मावि, इलामको देउमाइ नगरपालिका–४ मा रहेको भानुभक्त मावि छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–९ मा रहेको जनता मावि, धनकुटाको सागुरीगढी गाउँपालिका–५ मा रहेको भानु मावि, तेह्रथुमको लालीगुराँस नगरपालिका–२ वसन्तपुरमा रहेको वसन्त मावि, भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ मा रहेको वीरेन्द्र मावि, संखुवासभाको खाँदवारी नगरपालिका–९ मा रहेको मनकामना रत्न अम्बिका मावि, सोलुखुम्बुको सल्यान गाउँपालिका–४ मा रहेको केदार मावि, ओखलढुंगाको मोलुङ गाउँपालिका–२ मा रहेको बरुणेश्वर मावि, खोटाङको जनजागृति मावि र उदयपुरको चौदण्डीगढी नगरपालिका–९ मा रहेको जनता मावि उत्कृष्ट विद्यालयमा सूचीकृत भएका छन्।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ मा रहेको हिमालय आवि, पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ मा रहेको त्रिभुवन आवि, इलामको सूर्योदय नगरपालिका–११ मा रहेको भवानी आवि, झापाको हल्दीवारीमा गाउँपालिका–३ मा रहेको गरमकाली आवि पनि उत्कृष्ट भएका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा रहेको जलदेवी आवि, धनकुटाको चौबिसे गाउँपालिका–३ मा रहेको जनकल्याण आवि, तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ मा रहेको सरस्वती आवि, भोजपुरको भोजपुर नगरपालिका–७ मा रहेको जनसेवा आवि, संखुवासभाको खाँदवारी नगरपालिका–३ मा रहेको लक्ष्मी आवि, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ मा रहेको वासुकी आवि, खोटाङको दिरुम नगरपालिका–१० मा रहेको जाल्पा आवि र उदयपुरको त्रियुगा नगरपालिका–१३ मा रहेको जनप्रेमी आवि स्कूल उत्कृष्ट विद्यालयमा परेका छन्।
सामाजिक विकास मन्त्रालयले उत्कृष्ट हुने माविलाई १४र१४ लाख र आधारभूत विद्यालयलाई प्रतिविद्यालय ७ लाख ५० हजार रुपैयाँका दरले प्रोत्साहन रकम दिएको छ। सम्मानित विद्यालयका प्रधानाध्यापकलाई १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राई, सामाजिक विकास मन्त्री राजन राई, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे लगायतले नगद, शिल्ड र प्रमाणपत्र दिएका थिए।
१४ जिल्ला रहेको प्रदेशमा ५ हजार १३१ वटा सामुदायिक विद्यालय छन्।