वीरगञ्ज–प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पार्टी संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा सहभागी छ । फोरमका अध्यक्ष उपेन्द्र यादव नेपाल सरकारका उपप्रधानमन्त्री र स्वास्थ्य मन्त्री हुन् ।
तर, आफ्नै पार्टी सहभागी रहेको सरकारले प्रदेश असफल बनाउन तर्फ लागेको राउतको आरोप छ । मुख्यमन्त्री राउतले संघीय सरकार प्रदेश सरकारलाई असफल बनाउनतर्फ उद्त रहेको बताएका छन् ।
‘संघीय सरकारको असहयोगका कारण सोचे अनुसार काम गर्न सकेका छैनौं,’ आइतबार बीरगंजमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा राउतले भने,‘भर्खर जन्मेको बच्चालाई बढी स्याहार गर्नुपर्ने हो, प्रदेश सरकारलाई संघीय सरकारले त नचाहेर जन्मेको बच्चालाई जस्तो व्यवहार गरिरिहेको छ ।’
संघीय सरकारले आवश्यकता अनुसारको कर्मचारीसमेत नदिएको उनको गुनासो छ । ‘आम जनता प्रदेश सरकार सञ्चालन भएको देख्छन्, गाडी घोडा अगाडी पछाडी देखिन्छ । तर हामीले चाहेको जति कर्मचारी पाउन सकेको छैनौं,’ राउतले भने,‘हामीले काठमाडौंका थर्ड क्लास भनिएका कर्मचारी पाएका छौं । उनीहरुलाई कसरी काम गर्नेबारे कुनै ज्ञान छैन् ।’
‘बजेट कार्यान्वयन गर्न सयन्त्र चाहिन्छ, कार्यालय र कर्मचारी चाहिन्छ । हामीलाई दिइएको छैन् । ५० प्रतिशतभन्दा कम कर्मचारी प्रदेशमा खटिएका छन्,’ राउतले भने ।
जिल्लाको संरचना प्रदेशलाई हस्तान्तरण गर्न भनेपनि हालसम्म कुनै सुनवाई नभएको राउतको आरोप छ । विभिन्न असहयोगका वावजुद प्रदेश सरकार आफ्नै सपना बोकेर अगाडी बढिरहेको राउतले बताए ।
प्रदेश सरकारको काम तलब भत्ता खाने, गाडीमा घुम्ने मात्रै हो भन्ने जस्तो भान जनमानसमा पारेर असफल बनाउने षडयन्त्र भइरहेको राउतको भनाइ थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४