हो, उनी बहुमूल्य छन्। मोतीभन्दा पनि बहुमूल्य। तर उनलाई मानिसहरु मोती भनेर चिन्छन्। उनको छालाको रंग उनलाई चिन्ने नाममा पनि प्रयोग गरिएको छ। त्यसैले उनलाई भनिएको होला ‘कालो मोती।’ आजभोलि त फुटबलमा रंगभेद धेरै देखिने कुरा हो। ६० वर्षअघि झन् त्यो कति धेरै थियो होला। त्यसमाथि अल्पसंख्यक र गरिब समुदायबाट विश्वकै स्टार फुटबलर बन्दासम्म पेलेको कथा धेरै मानिसको लागि प्रेरणाको स्रोत हो।
बाँकी कुरा जे हुन्, उनले जसरी फुटबललाई नचाए, लाग्थ्यो– फुटबल उनकै लागि आविष्कार भएको हो। निःसन्देह धेरै फुटबल कमेन्टेटरहरुले सुन्दर तरिकाले फुटबललाई पोस्टमा पुर्याउने कलाले भरिएका व्यक्ति भनेर पेलेलाई चिनाउने गरेका छन्।
बिजुलीजस्तै पेलेको दौड र कला त जुनसुकै गोलकिपरलाई मात खुवाउने थियो। जसले उनलाई जन्मभूमिमा राष्ट्रिय हिरोको रुपमा मात्र स्थापित गरेन, विश्व खेल जगतकै नायक बने उनी। मैदानबाहिर पनि उनले अथक क्याम्पियन गरे। समाजका सिमान्तकृत र सुविधाबाट वञ्चित मानिसका लागि पेलेले काम गरिरहे।
युवा स्टार पेले
एट्सन आरान्तेस दो नासिमेन्तो सन् १९४० को अक्टोबर २३ मा ब्राजिलको दक्षिण पूर्वी सहर ट्रेस कोराकोसमा जन्मिएका थिए। उनको जन्मदर्ताले भने उनको जन्म २१ अक्टोबरमा भएको जनाउँछ। तर पेलेले त्यसलाई गलत भएको बताउँदै आएका थिए। ‘ब्राजिलमा हामीलाई यो कुराप्रति गम्भीर चासो रहँदैन,’ उनले भनेका थिए।
थोमस अल्वा एडिसन एक आविष्कारक र वैज्ञानिक हुन्। एडिसनकै नामबाट उनको नाम जुराइएको थियो। यस विषमा उनको तर्क थियो– उनीभन्दा केही समय अघिमात्र घरमा बिजुली आइपुगेको थियो। पछि उनका अभिभावकले एडिसनबाट आई वर्ण नै हटाइदिए। उनको नाम ‘एड्सन’ बन्यो।
सापेक्ष गरिबीमा उनी जन्मिए, त्यस्तैमा हुर्के–बढे। स्थानीय क्याफेहरुमा आंशिक काम गरेर उनले परिवारलाई गुजारा गर्न सघाउँथे। यस्तैमा फुर्सदको समयमा उनका पिताले उनलाई फुटबल खेल्न सिकाए। तर परिवारले फुटबल किन्न भन्दा खाना किन्नै उचित ठान्थ्यो। लगाएर फाल्ने बेला भएका मोजा उनका हात लाग्थे। उनले बलको तारतम्य गोडासँग कसरी मिलाउने भनेर त्यहाँका गल्लीहरुमा सिके।
साधारण ‘पेले’
यो स्कुलमा भयो, जब उनका साथीहरुले उनलाई पेले भनेर बोलाउन थाले। तर पेलेलाई र उनका कुनै साथीलाई पनि यो नामको अर्थबारे थाहापत्तो थिएन। उनले चाहिँ नाम मन पराएनन्। पोर्चुगिजमा यस्तरी केटाकेटीसँग पो कुरा गरिन्छ। उनले त्यतिबेला त्यस्तै सोचे।
आफ्नो टिनएजको सुरुमा उनले स्थानीय एमेच्योर खेलाडीसँग खेल्न थाले। उनको क्षेत्रमा घरभित्र खेलिने फुटबल भर्खर प्रचलनमा आउँदै थियो। त्यस्तो मैदान केहि फरक रहन्छ।
‘यो त माछा पानीमा पौडिएजस्तै हुने रहेछ,’ उनले पछि भनेका थिए, ‘घाँसे मैदानमा भन्दा यो फुटबल धेरै छिटो हुन्छ। साँच्चै नै चाँडै सोच्नुपर्ने हुने रहेछ।’ त्यसपछि उनले बाउरु एथ्लेटिक क्लबको जुनियर टिमलाई तीन पटकसम्म युवा च्याम्पियनसिपमा लिड गरे। त्यसमा त उनी उज्ज्वल भविष्य बन्न सक्ने खेलाडीको क्षमता देखाउन सफल भएका थिए।
सन् १९५८ मा उनका प्रशिक्षक वाल्देमर डि ब्रिटोले उनलाई सान्तोषको पोर्ट सिटी अभ्यासको लागि लगे, जुन एक व्यावसायिक क्लब थियो। ब्रिटो भने उनको कला र क्षमता देखेर यसअघि नै विश्वस्त भइसकेका थिए। उनले नै सान्तोषको निर्देशकलाई पेले संसारकै उत्कृष्ट हुनसक्ने बताएका थिए।
जब पेले १५ वर्षका मात्र थिए, उनले सान्तोषमै सम्झौताको अवसर पाए। त्यसका लागि उनले त्यहाँ गरेको प्रदर्शन नै काफी थियो।
शीर्ष गोलकर्ता
एक वर्षपछि उनी सान्तोषको सिनियर टिमका लागि छनोट भए। डेब्यूमै जीवनको पहिलो व्यावसायिक फुटबल गोल गरे। उनले गरेका १२ सयभन्दा धेरै गोलको यात्रा त्यहिँबाट सुरु भएको हो। त्यसलगत्तै उनी सुरुआति ११ मा पर्न थालेका थिए। पहिलो वर्ष नै लिगको सर्वाधिक गोलकर्ता बने।
व्यावसायिक खेल सुरु गरेको १० महिनामात्र भएको थियो, पेलेलाई राष्ट्रिय टिममा बेलाइयो। अर्जेन्टिनाविरुद्धको डेब्यु खेलमा ब्राजिलले २–१ को हार बेहोरेको दिन पेलेले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थिए। अर्जेन्टिनाविरुद्धको त्यो गोल १६ वर्षे खेलाडी पेलेले नै गरेका थिए। जसले गर्दा उनी अन्तर्राष्ट्रियमा गोल गर्ने सबैभन्दा युवा खेलाडी बने।
घुँडाको चोट लागेपछि उनले विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गर्न पाउने हो वा होइन भन्ने ठूलो शंका पैदा भयो। यद्यपि उनका साथीहरुले पेलेलाई छनोट गर्नका लागि टिमलाई दबाब दिन थाले। त्यसपछि विश्वकपको पहिलो खेल सोभियन युनियनविरुद्ध खेले।
ह्याट्रिक
भन्नैपर्छ– उनी विश्वकपमा गोल गर्ने सबैभन्दा सानो उमेरका खेलाडी बने। क्वार्टरफाइनलमा वेल्सलाई घर पठाउने क्रममा उनले त्यो गोल गरेका थिए। सेमिफाइनलमा ब्राजिलले फ्रान्सलाई २–१ ले लिड गरिरहेको थियो। पेलेले दोस्रो हाफमा गएर ह्याट्रिक गरेर खेललाई बिनादबाब आफ्नो पोल्टामा पारे।
फाइनलमा दुई गोल गरेपछि स्विडेनलाई हराउँदै ब्राजिलले १९५८ को विश्वकप ५–२ गोलले जितेको थियो। पेलेले जीवनको पहिलो विश्वकप जितेको क्षण हो त्यो। ब्राजिल फर्किएका पेलेले साउ पाउलो शीर्ष डिभिजन लिग जित्न सान्तोषलाई सहयोग गरेका थिए। त्यो सिजन पनि उनी निःसन्देह शीर्ष गोलकर्ता बने। त्यसको चार वर्षपछि युरोपले च्याम्पियन बेन्फिकाविरुद्ध सनसनीपूर्ण जित उनको टिमले निकालेको थियो।
लिस्बनमा पेलेको ह्याट्रिकमा बेन्फिका हारेपछि पोर्चुगिज गोलकिपर कोस्टा परेराले उनलाई सम्बोधन गरेका थिए। ‘म महान् फुटबलरलाई रोक्ने कोसिसका लागि आएको थिएँ,’ उनले भनेका थिए, ‘उनलाई रोक्ने मैले केही गरी पनि सकिनँ।’
राष्ट्रिय सम्पत्ति
सन् १९६२ को विश्वकप भने पेलेका लागि दुखद्् बन्यो। सुरुवातकै खेलमा उनलाई चोट लागेपछि विश्वकपका बाँकी खेल गुमाउन पुगे। तर विश्वककै ठूलो र धनी क्लबको आँखामा पेले आइसकेका थिए। उनलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेड, रियल मड्रिड हरदम प्रयास गरिरहेका थिए। किनभने उनी यसअघि नै विश्वभरीका फुटबल आँखामा छाइसकेका थिए।
आफ्नो देशका महान् खेलाडी विदेश खेल्न जाने कुरा सुनेर पेलेलाई ब्राजिल सरकारले राष्ट्रिय सम्पत्ति घोषणा गरिदियो। यसो गर्नेमा त्यहाँका राष्ट्रपति अघि थिए। जसले उनलाई विदेश जानबाट रोक्यो।
यता, सन् १९६६ को विश्वकप पेले र ब्राजिलकै लागि दुखान्तपूर्ण रह्यो। उनी विपक्षीको टिमको तारो बने र उनीमाथि लगातार फउल भइरह्यो। खासगरी पोर्चुगल र बुल्गेरियाको खेलमा उनलाई चोट लाग्यो। यस्तै कारणले ब्राजिल पहिलो चरणबाट माथि जानै सकेन। त्यसमाथि पेलेले आफ्नो चोटका कारण उत्कृष्ट खेल देखाउन सकेनन्।
दुःखको कथा लिएर घर फर्किएको वर्ष उनको क्लब सान्तोष पनि खस्किँदो थियो। र, पेलेले राम्रो खेल्न सकिरहेका थिएनन्।
गौरवशाली टिम
सन् १९६९ मा पेले ३० वर्ष पुग्दै थिए। उनले आफूलाई अर्को वर्ष हुने मेक्सिको विश्वकपको लागि तयार गर्नुपर्ने थियो। तर त्यहि वर्ष उनी वामपन्थी समुदायतर्फ झुकाव राखेको भन्दै सरकारले उनको अनुसन्धान गर्न लगायो। तर उनले विश्वकप खेलेर चार गोल पनि गरे। यो नै विश्वकपमा उनको अन्तिम उपस्थिति रह्यो। त्यो विश्वकपमा उपस्थिति जनाएको ब्राजिलको टिमलाई इतिहासकै सबैभन्दा उत्कृष्ट टिम मानिन्छ।
विश्वकपको सबैभन्दा चर्चित कुरा यो बन्यो कि, उनको हेडर गोलपोस्टमा छिर्नै लागेको के थियो– इंग्ल्यान्डका खेलाडीले बल पछि तान्दै बचाएका थिए। यसलाई शताब्दीकै उत्कृष्ट बचाउका रुपमा पनि बयान गरिन्छ।
यसका बाबजुद फाइनलमा इटलीलाई ४–१ ले हराएपछि ब्राजिल र पेलेले तेस्रो विश्वकप जितेका थिए। यसरी तीन विश्वकप जित्ने एक्ला खेलाडी बने पेले, जसको फाइनलमा उनले गोल गरे।
उनले अन्तिम खेल चाहिँ सन् १९७१ को जुलाई १८ म युगोस्लाभियाविरुद्ध खेले। ब्राजिली क्लब फुटबलबाट त्यसको तीन वर्षपछि संन्यास लिएका थिए। यद्यपि दुई वर्षपछि उनले अमेरिकाको न्युयोर्क कसमसबाट पनि फुटबल खेलेका थिए। उनले गर्दा अमेरिकाको फुटबलमा प्रतिस्पर्धाको स्तर निकै माथि पुगेको थियो।
एम्बासडर
सन् १९७७ पेलेको पूर्व क्लब सान्तोषले पेलेको संन्यासलाई यादगार बनाउन कसमससँग खेलको आयोजना गरेको थियो। पूरा टिकट बिक्री भएको त्यो खेलमा पेलेले दुवै टिमबाट एक–एक हाफ खेलेका थिए।
यसअघि नै विश्वका सबैभन्दा धेरै तलब पाउने खेलाडीका रुपमा चर्चित पेलेले संन्यासपछि पनि उस्तै रकम आम्दानी गरे। उनी अभिनयमा पनि डुबे र स्केप भिक्ट्री भन्ने फिल्ममा स्याल्वीस्टेर स्टालोन र मिचेल कैनसँग अभिनय गरे। उनको नाम पछिसम्म पनि ठूलो फिगरको रुपमा थियो। त्यसैले त ठूला कम्पनी उनीसँग जोडिन चाहन्थे।
समाजसँग उनको नाता झन् प्रगाढ बन्दै गइरहेको समय सन् १९९२ मा पेले संयुक्त राष्ट्रसंघको परिस्थितिक पद्धति र वातावरण दूतका रुपमा नियुक्त भए। पछि युनेस्को गुडविल दूत पनि बने। पाँच वर्षपछि उनले अनररी नाइट कमान्डरको उपाधि ब्रिटिस सरकारबाट पाएका थिए।
ब्राजिलका राष्ट्रपति फर्नान्डो हेनरिक कार्दोसोले खेलकुद मन्त्री बनाएपछि पेलेले ब्राजिली फुटबलमा हुने भष्टाचार उन्मूलन नै गरेका थिए। पेलेले उतिबेला बनाएको नियमले फुटबललाई मोडर्न बनाएको विश्वास गरिन्छ। तर उनले युनेस्कोको आफ्नो काममा भ्रष्ट नीति अपनाएको आरोप परेपछि पेलेले राजीनामा दिएका थिए।
त्यसपछि सन् २०१६ मा रियो दे जेनेरियोमा सम्पन्न भएको ओलम्पिकमा महत्वपूर्ण भूमिका निर्वाह गरे। सन् २०१२ को लन्डन गेम्समा उनलाई रियो ओलम्पिक हस्तान्तरण गरिएको थियो।
पेलेको वैवाहिक जीवन भने सामान्य रहेन। उनले १९६६ मा रोजमेरी डोस रिइस बोल्बीसँग विवाह गरे। दुई छोरी र एक छोरा भएपछि सन् १९८२ मा डिभोर्स भयो। जब पेलेको नाम मेडेल र फिल्मस्टार छुछासँग जोडियो, त्यसपछि उनले दोस्रो विवाह गायिका एसिरिया लेमोस सेक्सिाससँग गरे। उनीहरुका जुम्ल्याहा छोरी भए। तर यो जोडी पनि पछि छुट्टियो। सन् २०१६ मा उनले मर्सिया सिबेले ओकीसँग विहे गरे, जो एक जापानी व्यवसायी थिइन्। ती व्यापारीसँग उनी पहिलो पटक सन् १९८० मा भेटेका थिए।
दाबी त यस्तो पनि छ कि, उनको अफेयरबाट अर्को सन्तान पनि जन्मिएको थियो। तर पेलेले त्यो कुरा अस्वीकार गर्दै आए। पछिल्लो समयमा पेलेको जीवन सामान्य रहेन। ्युमर, क्यान्सरको सामना गरेपछि उनको शरीर स्थिर रहेन। अघिल्लो वर्षको सेम्टेम्बरमा मात्र उनको कोलोनमा रहेको ट्युमरको शल्यक्रिया गरिएको थियो। त्यसपछि उनले मृत्युको एक वर्ष पहिलेबाट केमोथेरापी लिँदै आइहेका थिए। यस्तो अवस्थामा पनि उनले राम्रो व्यवहार देखाउँथे। गएको नोभेम्बर २०२२ मा पनि उनले समर्थकलाई इन्स्टाग्राम पोस्टमा ठट्टा गरेका थिए। जतिबेला उनी मासिक चेकअपमा थिए।
कतार विश्वकपमा एक भवनमा गेट वेल सुन पेले लेखिएको थियो। त्यो हेरेर उनले आयोजक कतारलाई धन्यवाद दिएका थिए।
विश्व ब्रान्ड
फुटबलमा ज्ञान र रुचि नभएकाले पनि पेलेलाई चिन्ने गरेका छन्। उनी हरेकजसो स्कुले बालकको कथा बन्ने गरेका छन्। एकपटक उनको नामलाई लिएर ठट्टा गरिएको थियो। विश्वमा तीनमात्र अन्तर्राष्टिय ब्रान्ड रहेका छन्। ती हुन्– जिसस, कोकाकोला र पेले।
ती दुर्लभ फिगरमध्ये एक हुन् पेले जसले आफ्नो खेललाई विश्वभर चिनाउन सहयोग गरे। तर पछिल्लो समयमा हिपको शल्यक्रियापछि उनी त्यसलाई जित्न सक्ने अवस्थामा पुग्न सकेनन् र ह्विलचेयरमा मात्र डुल्न सक्ने भए। उनी हिँड्न नसक्ने भएका थिए।
उनको जीवनको सफलताका दिनहरुमा उनले जितेका उपाधि र उनको कौशलले लाखौं–करोडौं मानिसलाई खुसी दिएको छ। उनको कौशलले धेरैको सम्मान जितेको छ। हंगेरीका स्ट्राइकर फेरेन्स पुस्करले त पेलेलाई खेलाडीको दर्जामा राख्न अस्वीकार गरे। उनले पेले खेलाडीभन्दा माथिको पात्र भएको बताएका थिए।
अनि नेल्सन मण्डेला ती एक व्यक्ति थिए जसले पेलेलाई सबैभन्दा उत्कृष्ट तरिकाले समेटेका थिए– उनी खेलेको हेर्नु भनेको मानिसको असाधारण अनुग्रहको साथमा बच्चाको आनन्द हेर्नु थियो।
- बीबीसीबाट अनूदित