शनिबार, साउन १२, २०८१

होला २२ औं पटक वाम एकता?

वाम एकताकै लागि एमाले, नेकपा एस र माओवादीका दोस्रो तहका नेताहरुले पनि पहल गरिरहेका छन्। माओवादीसँग आलोपालो सरकारका लागि सहमतिपछि नेताहरुले एकताको बहस पनि अघि बढाएका हुन् भने यता नेकपा एसलाई पनि जोडेर जानुपर्ने धारणा उनीहरुको छ।
 |  आइतबार, पुस १७, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

आइतबार, पुस १७, २०७९

काठमाडौं– २००६ साल वैशाख १० गते भारत कोलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशीलाई समेटेर  पुष्पलालले गठन गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २०१७ पछि चोइटिँदै–टुक्रिँदै दर्जनौं भागमा विभाजित भयो। २०१७ पछि निरन्तर टुक्रिने क्रममा रहेको नेकपा २०७५ मा भने शक्तिशाली कम्युनिष्ट पार्टी बन्यो।

triton college

उसो त वाम शक्तिबीचको यो जुट र फुट इतिहासमा नौलो थिएन, त्यसअघि टुट्दै–फुट्दै स–साना दलमा विभाजित हुँदै झण्डै अवसानको संघारमा समेत पुगेको थियो। सर्वप्रथम ०१७ सालमा राजा महेन्द्रले कू गरेपछि कम्युनिष्ट नेताहरु दुई कित्तामा विभाजित भएका थिए। पुष्पलाल, मोहनविक्रम सिंह, मनमोहन अधिकारी, तुलसीलाल अमात्य लगायतका नेताहरु कूको विरुद्धमा उभिँदा केशरजंग रायमाझीले महेन्द्रको १७ सालको कूको स्वागत गरेका थिए। पछि उनी दरबारिया बने। त्यसअघि पनि पार्टीमा अन्तरविरोधहरु देखिए पनि त्यही पहिलो विष्फोट थियो।

त्यसपछि फुटैफुटको इतिहास बोकेको नेकपाले बारम्बार जुटको प्रयास पनि गरेको थियो। साढे चार वर्षअघि माओवादी र एमालेबीच एकता हुनुभन्दा पहिले २० पटक वाम एकता भइसकेकोमा उक्त एकता २१ औं पटकको थियो। ०७५ जेठ ३ गते ठूला दुई कम्युनिष्ट शक्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई नेकपा गठन भयो। संसद्मा एमाले १२१ र माओवादी ५३ सिट रहेकोमा जुटपछि नयाँ पार्टीको १७४ सिटसहित ६४ प्रतिशत जनमतसहितको शक्तिशाली कम्युनिष्ट सरकार बनेको थियो।

तर उक्त एकता लामो समय टिक्न भने सकेन र पुरानै दल अस्तित्वमा आए। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो प्रधानमन्त्रीको ‘शक्ति स्वार्थ’का रुपमा भएको उक्त एकता चुँडियो। नेकपा विभाजन भएर पुराना दुई दल पुनः स्थापित मात्रै भएनन्, वरिष्ठ नेता माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरे। यसरी लामो समयपछि बनेको शक्तिशाली कम्युनिष्ट दल तीन ध्रुवमा विभाजन भयो। विभाजनपछि तीन दलका अध्यक्षदेखि कार्यकर्तासम्मले एकअर्कामाथि गरेका टिप्पणी हेर्दा सहजै पुनः नेकपा ब्युँतिन्छ भन्ने कल्पना कसैको थिएन। तर चुनावपछि पाँचदलीय सत्ता गठबन्धन तोडेर एमालेसहितका ७ दलको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि पुनः वाम एकताको सम्भावना पनि ब्युँतिएको छ। दलहरुले बाम एकताका लागि पहल सुरु गरेका छन्।

चुनावअघि माओवादी, नेकपा एस र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता गरी नेपाल समाजवादी केन्द्र गठन गर्ने भद्र सहमति भएको थियो। सोहीअनुरुप वाम एकताको पहिलो प्रयासका रुपमा यी तीन दलबीच एकता गर्ने प्रयास सुरु भएको हो, जसमा एकताका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पनि जोडिन आइपुगेको छ। माओवादी र नेसपाबीच एकताका लागि सबै विषयमा सहमति भइसकेको छ। नेसपाका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भने, ‘माओवादी र नेसपाबीच सबै विषयमा सहमति जुटिसकेको छ, चाँडै एकता हुन्छ।’ उनले एकताका लागि जसपा र नेकपा एससँग पनि छलफल चलिरहेको जानकारी दिए।

Metro Mart
vianet

एकताका लागि माओवादी, नेकपा एस र जसपाका अध्यक्षत्रय प्रचण्ड, नेपाल र यादवबीच विभिन्न चरणमा छलफलसमेत भएको छ। यही पुस १३ गते हात्तीवनमा प्रचण्डले आफ्ना एक आफन्तको घरमा नेपाललाई भेटेका थिए। उक्त भेटमा प्रचण्डले विषम परिस्थितिका कारण गठबन्धन तोडेर एमालेसहितका दलसँग गठबनधन गरेको बताएका थिए। भेटमा प्रचण्डले सरकारलाई समर्थन गर्न नेपाललाई अनुरोध गरेको नेकपा एसका सहप्रवक्ता दामोदर अर्यालले बताए। उनका अनुसार भेटमा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन प्रस्तावसहित एकताका लागि पनि अनुरोध गरेका थिए। 

यस्तै, पुस १५ गते नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल र जसपा अध्यक्ष यादवबीच भेट भएको थियो। उक्त भेटमा पनि एकता गरेर अघि बढ्ने छलफल भएको थियो। जसपाका एक नेताका अनुसार उक्त भेटमा झलनाथले नै पहिले यादवसँग एकता गरेर अघि बढ्ने प्रस्ताव गरेका थिए। एकताकै लागि एमाले, नेकपा एस र माओवादीका दोस्रो तहका नेताहरुले पनि पहल गरिरहेका छन्। माओवादीसँग आलोपालो सरकारका लागि सहमतिपछि नेताहरुले एकताको बहस पनि अघि बढाएका हुन् भने यता नेकपा एसलाई पनि जोडेर जानुपर्ने धारणा उनीहरुको छ। केही दिनअघि एमालेका नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले पनि नेपाललाई भेटेर सहकार्यका लागि अनुरोध गरेका थिए।

नेकपा एसको शनिबारदेखि जारी स्थायी कमिटी बैठकमा पनि वाम एकताको विषयले प्रवेश पाएको छ। स्थायी कमिटी सदस्यहरुले एमालेलगायतका दलसँग एकता गर्ने वा नगर्ने भन्ने विषयमा धारणा राखेका थिए। गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा ‘थ्रेसहोल्ड’ कटाउन नसकेर राष्ट्रिय दल बन्नबाट वञ्चित भएको नेकपा एसका अधिकांश नेताले बैठकमा अन्य दलसँग एकता गर्नुपर्ने धारणा राखेका छन्। यद्यपि, केही नेताहरुले भने पार्टी पुनर्गठन गर्नेगरी राष्ट्रिय अभियान चाल्नुपर्ने धारणा पनि राखेको बैठकमा सहभागी एक नेताले बताए। 

पार्टी उपमहासचिव गंगालाल तुलाधरले बैठकमा मुख्यगरी सरकारलाई समर्थन, सरकारमा सहभागी र पार्टी एकताका सम्बन्धमा छलफल भएको जानकारी दिए। यसअघि नै सरकारलाई समर्थन गर्ने संकेत नेकपा एसले देखाइसकेकोमा बैठकमा सरकारमा पनि सहभागी हुनुपर्ने धारणा पनि देखिएका छन्। तुलाधरले भने, ‘प्रधानमन्त्री र अध्यक्षज्यूबीच अनौपचारिक कुराकानी भए पनि औपचारिक रुपमा सरकारमा सहभागी हुन भनेर प्रस्ताव आएको छैन। बैठकमा औपचारिक प्रस्ताव नआएसम्म निर्णय गर्न नहुने धारणा आएका छन्।’

अर्थात्, औपचारिक प्रस्ताव आएको खण्डमा नेकपा एस सरकारमा जान तयार देखिन्छ। सरकारमा सहभागी हुनका लागि माधव नेपालले राष्ट्रपतिको ‘बार्गेनिङ’ गरेको टिप्पणी पनि माओवादी वृत्तमा हुँदै आएको छ। वााम एकताका लागि माओवादी र एमालेका नेताहरुले सक्रियता बढाइरहेका बेला नेकपा एसको स्थायी कमिटी बैठकमा पनि सदस्यहरु एकताका लागि सकारात्मक देखिएका हुन्।

प्रकाशित: Jan 01, 2023| 16:51 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...