शुक्रबार, साउन १, २०८३

राष्ट्रकविको दैलोमा राष्ट्रप्रमुख पुग्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-'मेरा छ वटी छोरी छन्, उनीहरु देशमा महिला राष्ट्रपति भएकामा खुशी व्यक्त गरिरहन्छन् ।' सय वर्ष प्रवेशका अवसरमा जन्मदिनको शुभकामना दिन लैनचौरस्थित आफ्नो निवासमा आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले भने, 'मेरो लागि यहाँसम्म कष्ट गर्नुभयो, म धन्य भएँ।' 

शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र चन्द्रदर्शन समारोहको तयारीमा रहनुभएका राष्ट्रकवि घिमिरे आइतबार बिहान पूजापाठ सकेर बिहान साढे आठ बजेदेखि आफ्नी श्रीमती माहाकाली घिमिरेसहित बैठककक्षमा राष्ट्रपतिको प्रतीक्षामा बसे। 

करीब १० मिनेटको भलाकुसारीमा स्वास्थ्य स्थिति र आपसी कुराकानी भएको थियो । राष्ट्रपति भण्डारीले आफूले सय वर्ष पुगेका स्रष्टालाई यसरी शुभकामना दिन पाएको अनुभव हालसम्म नभएको सुनाउँदै राष्ट्रकवि घिमिरेलाई सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको शुभकामना दिइन् । 

निस्कने बेलामा राष्ट्रपतिले राष्ट्रकविले विभिन्न समयमा प्राप्त गरेको सम्मान तथा पुरस्कारका प्रमाणपत्र र ताम्रपत्र राखिएको कक्षको अवलोकन गरिन। कोठाभरि मान्छेभन्दा अग्ला आकारका ताम्रपत्र र सम्मानपत्र सजाइएको थियो । साँघुरो त्यो कोठामा छविकार तस्वीर लिन तँछाडमछाड गरिरहेका थिए । औपचारिक समारोहभन्दा फरक शैलीमा राष्ट्रकविलाई सम्मानभाव व्यक्त गर्न तथा जन्मदिनको शुभकामना दिन राष्ट्रपति भण्डारी घिमिरे निवास पुगेकी थिइन् ।

आफन्तजन, पाठका लागि आमन्त्रित पण्डित, सञ्चारकर्मी र सुरक्षाकर्मीकाका कारण घुइँचो देखिएको घिमिरे निवासमा राष्ट्रपतिलाई घिमिरेका छोराछोरीले स्वागत गरेका थिए । गत वर्षको ९९ औँ जन्मदिनमा राष्ट्रपति भण्डारीले आफ्ना प्रमुख स्वकीय सचिवलाई पठाई शुभकामना दिएकी थिइन। 

लमजुङको मर्स्याङदी गाउँपालिका-६, पुस्तुन बाहुनडाँडामा विसं १९७६ असोज ७ गते जन्मिएका राष्ट्रकवि घिमिरेले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफूले जीवनमा कविता र सिर्जनालाई सँधै पहिलो प्राथमिकता दिँदै आएको बताए।

परिवारका लागि भन्दा सिर्जना र देशका लागि आफ्नो जीवन व्यतित भएको र आफूलाई प्राप्त सम्मान एवं सद्भाव आफ्नो सम्पति भएको उनले बताए । राष्ट्रकवि घिमिरेले भने, 'हामीले हाम्रो शरीर र इन्द्रियलाई अनावश्यकरुपमा चलाउनु हुँदैन । नचाहिने कुरा खाने र नचाहिने कुरा बोल्ने गर्नु हुँदैन । यो भगवानले दिएको शरीरलाई देश र समाजको हितमा प्रयोग गर्नुपर्छ ।' 

कुनै त्यस्तो इच्छा बाँकी छ कि भन्ने जिज्ञासामा राष्ट्रकवि घिमिरेले आफ्नो प्रकाशोन्मुख महाकाव्य 'ऋतम्भरा' का दुई सर्ग लेख्न बाँकी रहेको बताए । घिमिरेका ‘गौरी’ शोककाव्यसहित ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नर किन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । 

मर्स्याङ्दी वाड्यमय प्रतिष्ठानले यो वर्षभरी जन्मशताब्दी मनाउन कविको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायतका कार्यक्रम तय गरेको छ । रथारोहण कार्यक्रम यही असोज २१ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।