काठमाडौं- ४ असोजमा सुनसरीको भुटाहामा स्थानीय निजी स्कुलका सञ्चालक तथा नेकपा नेता खुर्सिद अन्सारीको गोली हानी हत्या गरियो । घटना हुन नदिन र भइसकेपछि गोली प्रहारमा संलग्न व्यक्तिहरू समात्न असफल भएका कारण घटनास्थल नजिकको प्रहरी चौकीको सेट नै परिवर्तन गरियो ।
१० साउन राति कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरियो । उक्त घटनामा प्रमाण नै नष्ट गर्ने गतिविधि प्रहरीबाटै भएको बताउँदै स्थानीय बासिन्दा आन्दोलित भए । आन्दोलन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी एक किशोरको ज्यान गयो ।
कञ्चनपुरका एसपी, डीएसपी, मुद्दा शाखा हेर्ने निरीक्षक मात्र नभई काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीएसपीसमेत निलम्बनमा परे । कञ्चनपुर प्रहरीको तत्कालीन नेतृत्वले घटना अनुसन्धानमा गम्भीर लापरवाही गरेको ठहर त गृह मन्त्रालयले गठन गरेको समितिले गरिसकेको छ ।
साढे ३३ किलो सुन तस्करी छानविन प्रकरण प्रहरी नै विवादमा परेको पछिल्लो उदाहरण हो । सुन तस्करीको छानविन जुन समूहले उठान गर्यो, त्यसैलाई जेल पठाइएको यस प्रकरणबाट प्रहरीको अनुसन्धानको पाटो नै निर्बल बन्ने जोखिम देखिइसकेको छ । जोखिम मोल्दै गरिने अनुसन्धानको विधिमाथि नै त्यस प्रकरणबाट प्रहार भएको छ ।
२१ साउनमा काठमाडौं पेप्सिकोलाका १२ वर्षीय निशान खड्काको हत्यामा संलग्नता आरोपमा अजय तामाङ र गोपाल तामाङको 'इन्काउन्टर' प्रकरण पनि विवादमुक्त हुन सकेन । उक्त इन्काउन्टर नक्कली नभएको बताउँदै गृहमन्त्री रामबहादुर थापा 'बादल'ले नै प्रहरीको बचाऊ गर्नुपर्यो ।
परराष्ट्र सेवामा ३४ वर्ष बिताएका पूर्वराजदूत केशव झा ४ भदौमा काठमाडौं बबरमहलस्थित घरमा ओछ्यानमै हत्या गरिएको अवस्थामा भेटिए । घटनाको एक महिना बितिसक्दा पनि प्रहरीले हत्याको जरो खोतल्न सकेको छैन ।
पछिल्ला केही प्रकरणले प्रहरीको क्षमता र कार्यशैलीमाथि मात्र प्रश्नचिन्ह खडा गराएका छैनन्, बहालवाला अधिकृतहरूमा पनि निराशा र असन्तुष्टी बढ्दो क्रममा छ ।
यस्तै, सरुवा र बढुवामा गृह मन्त्रालय हाबी भएको तथा क्षमतावान र योग्य अधिकृतहरूलाई पछाडि पारिएको विषय पनि प्रहरीमा असन्तुष्टीको कारण बन्दै आएको छ । यी केही प्रकरणले प्रहरीको क्षमता र कार्यशैलीमाथि मात्र प्रश्नचिन्ह खडा गराएका छैनन्, बहालवाला अधिकृतहरूमा पनि निराशा र असन्तुष्टी बढ्दो क्रममा छ ।
यिनै सन्दर्भमा नेपाल प्रहरीका केही पूर्वअधिकारीले प्रहरीको कमजोरी र सुधारका उपायबारे नेपाल समयसँग कुरा गरेका छन् । उनीहरूको भनाइ जस्ताको तस्तै -
व्यावसायिक अप्रोच देखिएन
नवराज ढकाल, पूर्वएआईजी
केही महत्वपूर्ण घटनाको अनुसन्धानको परिणाम समयमा दिन नसक्दा प्रहरीमाथि नै प्रश्न उठ्ने अवस्था आयो । प्रहरीले हजारौं घटनाको सफल अनुसन्धान गरेको छ । तर, पछिल्ला केही घटना यस्ता देखिए, जसमा जनचासो बढी छ । यसको भावनात्मक असर बढी पर्यो । र, ती घटना सामाजिक सञ्जाल र सञ्चार माध्यममा पनि 'हाइलाइट' हुनु स्वाभाविकै हो ।
कतिपय घटनाको अनुसन्धानको प्रक्रिया नै लामो हुन्छ । तर, केही त्यस्ता घटना हुन्छन्, जसमा जनता भावनात्मक रूपमा जोडिएका हुन्छन् । त्यस्ता घटनामा चाँडोभन्दा चाँडो परिणाम दिने प्रयास नहुँदा प्रहरीमाथि नै प्रश्न खडा हुन थालेको हुन सक्छ ।
व्यावसायिक अधिकृतहरूको 'अप्रोच' हुनुपर्ने घटनामा त्यस्तो 'अप्रोच' देख्न सकिएन । लामो इतिहास भएको प्रहरी संगठन आफैंमा सक्षम छ । विभिन्न उतारचढावका बावजुद आन्तरिक कानून र व्यवस्थाका लागि प्रहरीले राम्रो परफरमेन्स दिँदै आएको पनि छ । त्यसैले प्रहरीले पहिले के कमजोरी भए र किन यस्तो स्थिति सिर्जना भयो भनेर आफैंभित्र खोजी गर्नुपर्यो ।
जनभावना जोडिएका घटनामा सक्षम र व्यावसायिक अधिकृतहरूको टोली बनाएर अनुसन्धान अगाडि बढाउन सक्नुपर्छ । लामो अनुभव बटुलेर संगठनबाट बाहिरिएका अधिकृतहरूको पनि यस्तो अवस्थामा ठूलो भूमिका हुन सक्छ ।
हारेको मानसिकतामा लडाईं जित्न सकिँदैन
विज्ञानराज शर्मा, पूर्वएआईजी
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीको प्रारम्भिक अनुसन्धान त्रुटिपूर्ण छ । घटनाको ५० प्रतिशत प्रमाण घटनास्थलमा सुरक्षित हुन्छ, जसलाई प्रहरीले सुरक्षित राखी अनुसन्धानलाई अगाडि बढाउनुपर्छ । यस प्रकरणमा गम्भीर अनुसन्धानभन्दा तत्काल परिणाम खोज्ने काम भएजस्तो मैले बुझेको छु । मृतकका अभिभावकको उजुरीलाई समयमै सम्बोधन गर्नुपर्नेमा पीडितमाथि नै दुव्र्यवहार हुनु र घटनास्थलमा प्रहरीले प्रमाण संकलन नगर्नु एकदमै दुःखद छ । यो विषयमा गम्भीर अनुसन्धान हुनुपर्छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली अनुसन्धानमा दक्ष समूह हो । उसले घटनास्थलमा खटिएका प्रहरीले संकलन गरेका प्रमाणका आधारमा अनुसन्धान गर्दै गर्दा त्यसमा संलग्न अधिकृतलाई नै निलम्बन गर्नुले प्रहरीको मनोबल गिरेको छ ।
हारेको मानसिकतामा लडाईं जित्न सकिँदैन । सीआईबीको टोलीलाई निलम्बन गर्दा प्रहरी अनुसन्धानबाट पछाडि हच्किने खतरा देखिएको छ । विगतमा पनि अनुसन्धान टोलीलाई नै जेलमा हाल्दा प्रहरीको मनोबल खस्केको छ ।
निर्मला पन्त हत्या, पूर्वराजदूतको हत्या र गत बिहीबार सुनसरीको भुटाहामा शिक्षकको हत्या प्रकरणका अपराधी समयमै पक्राउ गर्न नसक्नुले प्रहरीको अनुसन्धान र कारवाहीमाथि नै प्रश्न उठ्नु स्वाभाविकै हो । यसो भन्दैमा प्रहरीको आलोचना मात्र गर्नुभन्दा प्रहरी नेतृत्व तथा सरकारले प्रहरीलाई साधन स्रोत र प्रशिक्षणबाट दक्ष बनाउनेतर्फ तत्काल ध्यान दिनुपर्छ ।
अपराधी उम्कने अवस्था आउनु भनेको नेतृत्वको कमजोरी हो र त्यसले अपराधीको मनोबल उच्च हुँदा आपराधिक क्रियाकलाप बढ्छ । त्यसतर्फ सरकार तथा प्रहरी नेतृत्व समयमै सजग हुनुपर्छ ।
न्यायपूर्ण काममा प्रहरीले जागिरको मतलव गर्नु हुँदैन
प्रतापसिंह थापा, पूर्वएआईजी
नेपाल प्रहरीको मेरुडण्ड भनेकै अनुसन्धान, कमान्ड र अनुशासन हो । प्रहरीको यो मेरुदण्ड नै खलबल्याउने किसिमका हस्तक्षेप प्रहरी नेतृत्व र विभिन्न क्षेत्रबाट हुँदा पछिल्लो समय प्रहरी विवादित बनेको छ । प्रहरीलाई स्वतन्त्र रूपमा काम गर्न प्रहरी नेतृत्वले पनि 'डिस्टर्ब' गर्दा र घटनालाई नजरअन्दाज गर्दा अनुसन्धान घटना जटिलतातर्फ धकेलिन्छ ।
निर्मला पन्त हत्याकाण्डमा पनि यस्तै भएको देखिन्छ । प्रहरीले घटनाका अपराधीलाई ढाकछोप गर्ने कल्पना पनि गर्नु हुँदैन । कुनै अपराधीलाई नियन्त्रण अथवा परिस्थितिजन्य अवस्थामा 'इन्काउन्टर' गर्दा प्रहरीलाई पाप लाग्दैन भन्ने सबैले बुझ्नुपर्छ । निर्मला हत्यामा कसैको संलग्नता रहेको प्रहरीले जानकारी पाएको छ भने जति नै शक्तिशाली रहेछ भने पनि कारवाहीको दायरामा ल्याउनुपर्छ ।
न्यायपूर्ण काममा प्रहरीले जागिरको मतलव गर्नुहुँदैन । विभिन्न समयमा प्रहरीलाई भित्र र बाहिरबाट 'लबिङ' हुन्छ । तर, त्यसलाई घटना अनुसन्धानमा खटिएको प्रहरीले मतलव गर्नुहँुदैन । निर्मला हत्यामा प्रहरीले प्रारम्भिक अवस्थाको मुचुल्काबाट समयमै सत्यतथ्य बाहिर ल्याउन सक्नुपर्छ । लामो समय अनुसन्धान अन्योल हुँदा प्रहरीको छविमै असर पुग्न सक्छ ।
प्रहरीमाथि नियोजित आक्रमण
हेमन्त मल्ल ठकुरी, पूर्वडीआईजी
पश्चिमा मुलुकहरूले नेपाल प्रहरीका विभिन्न एकाइलाई 'ब्ल्याक लिस्टेड' गर्न थालेपछि नै हो, प्रहरीको अनुसन्धान प्रकृयामा प्रहार हुन थालेको । विदेशी आईएनजीओहरूको पैसा खन्याएर प्रहरीको अनुसन्धानलाई कमजोर पार्ने काम शुरु भयो, 'ब्ल्याक लिस्टिङ'बाट । प्रहरी कमजोर हुँदा आफ्ना प्रोजेक्ट लिएर भित्र छिर्न पाउने त्यस्ता आईएनजीओहरूको उद्देश्य देखिन्छ ।
साढे ३३ किलो सुन तस्करीको अनुसन्धान एकातिर जानुपर्नेमा अर्कोतिर मोडियो । त्यतिबेला प्रहरीको अनुसन्धानको 'कोर भ्यालु' मात्र होइन, 'टेक्निक'माथि पनि प्रहार गरियो । अनुसन्धान टोलीमाथि नै प्रहार भयो । यसअघिदेखि नै प्रहरीको अनुसन्धानमाथि भइरहेको आक्रमणको चरम रूप सुन तस्करी अनुसन्धानमा देखियो ।
त्यसपछि प्रहरी पनि हुलको पछाडि लाग्यो । आफूले गरेका गलत काम पनि ठीक छन् भन्ने किसिमबाट जनताको समर्थन खोज्न थाल्यो, प्रहरीले । भीडको पछाडि लाग्दै गर्दा १३ वर्षे किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याजस्ता घटनामा जनताको 'सेन्टिमेन्ट' प्रहरीको विरुद्धमा आउन सक्ने आकलन गर्न सकेन । निर्मलाको हत्याकाण्डले प्रहरीको 'कर्मकाण्ड' नै गरिदियो ।
निर्मला हत्याकाण्डमा बहालवाला प्रहरी अधिकृतहरूले नै कञ्चनपुरको अनुसन्धान टोलीमाथि गाली गर्न थाल्ने अवस्था सिर्जना भयो । मानवअधिकार, नागरिक समाज र आफ्नै मन्त्रालयले पनि आक्रमण गर्न थाले । यसको परिणाम अब प्रहरीहरू अनुसन्धान गर्नै डराउने अवस्था सिर्जना भएको छ । जोखिम नमोली अनुसन्धान पूरा हुन सक्दैन । प्रहरीमा जोखिम मोल्नै डराउने अवस्था आएपछि प्रभावकारिता कमजोर हुन थाल्नु स्वाभाविकै हो । आगामी दिनमा अनुसन्धान गर्न कोही पनि अगाडि नसर्ने अवस्था आउनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४