शुक्रबार, साउन १, २०८३

किन बद्‍नाम र कमजोर बन्दैछ नेपाल प्रहरी ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ४ असोजमा सुनसरीको भुटाहामा स्थानीय निजी स्कुलका सञ्चालक तथा नेकपा नेता खुर्सिद अन्सारीको गोली हानी हत्या गरियो । घटना हुन नदिन र भइसकेपछि गोली प्रहारमा संलग्न व्यक्तिहरू समात्न असफल भएका कारण घटनास्थल नजिकको प्रहरी चौकीको सेट नै परिवर्तन गरियो ।

१० साउन राति कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरियो । उक्त घटनामा प्रमाण नै नष्ट गर्ने गतिविधि प्रहरीबाटै भएको बताउँदै स्थानीय बासिन्दा आन्दोलित भए । आन्दोलन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी एक किशोरको ज्यान गयो ।

कञ्चनपुरका एसपी, डीएसपी, मुद्दा शाखा हेर्ने निरीक्षक मात्र नभई काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीएसपीसमेत निलम्बनमा परे । कञ्चनपुर प्रहरीको तत्कालीन नेतृत्वले घटना अनुसन्धानमा गम्भीर लापरवाही गरेको ठहर त गृह मन्त्रालयले गठन गरेको समितिले गरिसकेको छ । 

साढे ३३ किलो सुन तस्करी छानविन प्रकरण प्रहरी नै विवादमा परेको पछिल्लो उदाहरण हो । सुन तस्करीको छानविन जुन समूहले उठान गर्‍यो, त्यसैलाई जेल पठाइएको यस प्रकरणबाट प्रहरीको अनुसन्धानको पाटो नै निर्बल बन्ने जोखिम देखिइसकेको छ । जोखिम मोल्दै गरिने अनुसन्धानको विधिमाथि नै त्यस प्रकरणबाट प्रहार भएको छ ।

२१ साउनमा काठमाडौं पेप्सिकोलाका १२ वर्षीय निशान खड्काको हत्यामा संलग्नता आरोपमा अजय तामाङ र गोपाल तामाङको 'इन्काउन्टर' प्रकरण पनि विवादमुक्त हुन सकेन । उक्त इन्काउन्टर नक्कली नभएको बताउँदै गृहमन्त्री रामबहादुर थापा 'बादल'ले नै प्रहरीको बचाऊ गर्नुपर्यो ।

परराष्ट्र सेवामा ३४ वर्ष बिताएका पूर्वराजदूत केशव झा ४ भदौमा काठमाडौं बबरमहलस्थित घरमा ओछ्यानमै हत्या गरिएको अवस्थामा भेटिए । घटनाको एक महिना बितिसक्दा पनि प्रहरीले हत्याको जरो खोतल्न सकेको छैन ।
 
पछिल्ला केही प्रकरणले प्रहरीको क्षमता र कार्यशैलीमाथि मात्र प्रश्नचिन्ह खडा गराएका छैनन्, बहालवाला अधिकृतहरूमा पनि निराशा र असन्तुष्टी बढ्दो क्रममा छ ।

यस्तै, सरुवा र बढुवामा गृह मन्त्रालय हाबी भएको तथा क्षमतावान र योग्य अधिकृतहरूलाई पछाडि पारिएको विषय पनि प्रहरीमा असन्तुष्टीको कारण बन्दै आएको छ । यी केही प्रकरणले प्रहरीको क्षमता र कार्यशैलीमाथि मात्र प्रश्नचिन्ह खडा गराएका छैनन्, बहालवाला अधिकृतहरूमा पनि निराशा र असन्तुष्टी बढ्दो क्रममा छ ।

यिनै सन्दर्भमा नेपाल प्रहरीका केही पूर्वअधिकारीले प्रहरीको कमजोरी र सुधारका उपायबारे नेपाल समयसँग कुरा गरेका छन् । उनीहरूको भनाइ जस्ताको तस्तै -

व्यावसायिक अप्रोच देखिएन
नवराज ढकाल, पूर्वएआईजी


केही महत्वपूर्ण घटनाको अनुसन्धानको परिणाम समयमा दिन नसक्दा प्रहरीमाथि नै प्रश्न उठ्ने अवस्था आयो । प्रहरीले हजारौं घटनाको सफल अनुसन्धान गरेको छ । तर, पछिल्ला केही घटना यस्ता देखिए, जसमा जनचासो बढी छ । यसको भावनात्मक असर बढी पर्यो । र, ती घटना सामाजिक सञ्जाल र सञ्चार माध्यममा पनि 'हाइलाइट' हुनु स्वाभाविकै हो ।

कतिपय घटनाको अनुसन्धानको प्रक्रिया नै लामो हुन्छ । तर, केही त्यस्ता घटना हुन्छन्, जसमा जनता भावनात्मक रूपमा जोडिएका हुन्छन् । त्यस्ता घटनामा चाँडोभन्दा चाँडो परिणाम दिने प्रयास नहुँदा प्रहरीमाथि नै प्रश्न खडा हुन थालेको हुन सक्छ ।

व्यावसायिक अधिकृतहरूको 'अप्रोच' हुनुपर्ने घटनामा त्यस्तो 'अप्रोच' देख्न सकिएन । लामो इतिहास भएको प्रहरी संगठन आफैंमा सक्षम छ । विभिन्न उतारचढावका बावजुद आन्तरिक कानून र व्यवस्थाका लागि प्रहरीले राम्रो परफरमेन्स दिँदै आएको पनि छ । त्यसैले प्रहरीले पहिले के कमजोरी भए र किन यस्तो स्थिति सिर्जना भयो भनेर आफैंभित्र खोजी गर्नुपर्‍यो ।

जनभावना जोडिएका घटनामा सक्षम र व्यावसायिक अधिकृतहरूको टोली बनाएर अनुसन्धान अगाडि बढाउन सक्नुपर्छ । लामो अनुभव बटुलेर संगठनबाट बाहिरिएका अधिकृतहरूको पनि यस्तो अवस्थामा ठूलो भूमिका हुन सक्छ ।

हारेको मानसिकतामा लडाईं जित्न सकिँदैन
विज्ञानराज शर्मा, पूर्वएआईजी


निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीको प्रारम्भिक अनुसन्धान त्रुटिपूर्ण छ । घटनाको ५० प्रतिशत प्रमाण घटनास्थलमा सुरक्षित हुन्छ, जसलाई प्रहरीले सुरक्षित राखी अनुसन्धानलाई अगाडि बढाउनुपर्छ । यस प्रकरणमा गम्भीर अनुसन्धानभन्दा तत्काल परिणाम खोज्ने काम भएजस्तो मैले बुझेको छु । मृतकका अभिभावकको उजुरीलाई समयमै सम्बोधन गर्नुपर्नेमा पीडितमाथि नै दुव्र्यवहार हुनु र घटनास्थलमा  प्रहरीले प्रमाण संकलन नगर्नु एकदमै दुःखद छ । यो विषयमा गम्भीर अनुसन्धान हुनुपर्छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली अनुसन्धानमा दक्ष समूह हो । उसले घटनास्थलमा खटिएका प्रहरीले संकलन गरेका प्रमाणका आधारमा अनुसन्धान गर्दै गर्दा त्यसमा संलग्न अधिकृतलाई नै निलम्बन गर्नुले प्रहरीको मनोबल गिरेको छ ।

हारेको मानसिकतामा लडाईं जित्न सकिँदैन । सीआईबीको टोलीलाई निलम्बन गर्दा प्रहरी अनुसन्धानबाट पछाडि हच्किने खतरा देखिएको छ । विगतमा पनि अनुसन्धान टोलीलाई नै जेलमा हाल्दा प्रहरीको मनोबल खस्केको छ ।

निर्मला पन्त हत्या, पूर्वराजदूतको हत्या र गत बिहीबार सुनसरीको भुटाहामा शिक्षकको हत्या प्रकरणका अपराधी समयमै पक्राउ गर्न नसक्नुले प्रहरीको अनुसन्धान र कारवाहीमाथि नै प्रश्न उठ्नु स्वाभाविकै हो । यसो भन्दैमा प्रहरीको आलोचना मात्र गर्नुभन्दा प्रहरी नेतृत्व तथा सरकारले प्रहरीलाई साधन स्रोत र प्रशिक्षणबाट दक्ष बनाउनेतर्फ तत्काल ध्यान दिनुपर्छ ।

अपराधी उम्कने अवस्था आउनु भनेको नेतृत्वको कमजोरी हो र त्यसले अपराधीको मनोबल उच्च हुँदा आपराधिक क्रियाकलाप बढ्छ । त्यसतर्फ सरकार तथा प्रहरी नेतृत्व समयमै सजग हुनुपर्छ ।

न्यायपूर्ण काममा प्रहरीले जागिरको मतलव गर्नु हुँदैन
प्रतापसिंह थापा, पूर्वएआईजी


नेपाल प्रहरीको मेरुडण्ड भनेकै अनुसन्धान, कमान्ड र अनुशासन हो । प्रहरीको यो मेरुदण्ड नै खलबल्याउने किसिमका हस्तक्षेप प्रहरी नेतृत्व र विभिन्न क्षेत्रबाट हुँदा पछिल्लो समय प्रहरी विवादित बनेको छ । प्रहरीलाई स्वतन्त्र रूपमा काम गर्न प्रहरी नेतृत्वले पनि 'डिस्टर्ब' गर्दा र घटनालाई नजरअन्दाज गर्दा अनुसन्धान घटना जटिलतातर्फ धकेलिन्छ ।

निर्मला पन्त हत्याकाण्डमा पनि यस्तै भएको देखिन्छ । प्रहरीले घटनाका अपराधीलाई ढाकछोप गर्ने कल्पना पनि गर्नु हुँदैन । कुनै अपराधीलाई नियन्त्रण अथवा परिस्थितिजन्य अवस्थामा 'इन्काउन्टर' गर्दा प्रहरीलाई पाप लाग्दैन भन्ने सबैले बुझ्नुपर्छ । निर्मला हत्यामा कसैको संलग्नता रहेको प्रहरीले जानकारी पाएको छ भने जति नै शक्तिशाली रहेछ भने पनि कारवाहीको दायरामा ल्याउनुपर्छ ।

न्यायपूर्ण काममा प्रहरीले जागिरको मतलव गर्नुहुँदैन । विभिन्न समयमा प्रहरीलाई भित्र र बाहिरबाट 'लबिङ' हुन्छ । तर, त्यसलाई घटना अनुसन्धानमा खटिएको प्रहरीले मतलव गर्नुहँुदैन । निर्मला हत्यामा प्रहरीले प्रारम्भिक अवस्थाको मुचुल्काबाट समयमै सत्यतथ्य बाहिर ल्याउन सक्नुपर्छ । लामो समय अनुसन्धान अन्योल हुँदा प्रहरीको छविमै असर पुग्न सक्छ ।

प्रहरीमाथि नियोजित आक्रमण
हेमन्त मल्ल ठकुरी, पूर्वडीआईजी


पश्चिमा मुलुकहरूले नेपाल प्रहरीका विभिन्न एकाइलाई 'ब्ल्याक लिस्टेड' गर्न थालेपछि नै हो, प्रहरीको अनुसन्धान प्रकृयामा प्रहार हुन थालेको । विदेशी आईएनजीओहरूको पैसा खन्याएर प्रहरीको अनुसन्धानलाई कमजोर पार्ने काम शुरु भयो, 'ब्ल्याक लिस्टिङ'बाट । प्रहरी कमजोर हुँदा आफ्ना प्रोजेक्ट लिएर भित्र छिर्न पाउने त्यस्ता आईएनजीओहरूको उद्देश्य देखिन्छ ।

साढे ३३ किलो सुन तस्करीको अनुसन्धान एकातिर जानुपर्नेमा अर्कोतिर मोडियो । त्यतिबेला प्रहरीको अनुसन्धानको 'कोर भ्यालु' मात्र होइन, 'टेक्निक'माथि पनि प्रहार गरियो । अनुसन्धान टोलीमाथि नै प्रहार भयो । यसअघिदेखि नै प्रहरीको अनुसन्धानमाथि भइरहेको आक्रमणको चरम रूप सुन तस्करी अनुसन्धानमा देखियो ।

त्यसपछि प्रहरी पनि हुलको पछाडि लाग्यो । आफूले गरेका गलत काम पनि ठीक छन् भन्ने किसिमबाट जनताको समर्थन खोज्न थाल्यो, प्रहरीले । भीडको पछाडि लाग्दै गर्दा १३ वर्षे किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याजस्ता घटनामा जनताको 'सेन्टिमेन्ट' प्रहरीको विरुद्धमा आउन सक्ने आकलन गर्न सकेन । निर्मलाको हत्याकाण्डले प्रहरीको 'कर्मकाण्ड' नै गरिदियो ।

निर्मला हत्याकाण्डमा बहालवाला प्रहरी अधिकृतहरूले नै कञ्चनपुरको अनुसन्धान टोलीमाथि गाली गर्न थाल्ने अवस्था सिर्जना भयो । मानवअधिकार, नागरिक समाज र आफ्नै मन्त्रालयले पनि आक्रमण गर्न थाले । यसको परिणाम अब प्रहरीहरू अनुसन्धान गर्नै डराउने अवस्था सिर्जना भएको छ । जोखिम नमोली अनुसन्धान पूरा हुन सक्दैन । प्रहरीमा जोखिम मोल्नै डराउने अवस्था आएपछि प्रभावकारिता कमजोर हुन थाल्नु स्वाभाविकै हो । आगामी दिनमा अनुसन्धान गर्न कोही पनि अगाडि नसर्ने अवस्था आउनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।