शनिबार, साउन १२, २०८१

पुनः सहयात्राको सँघारमा रहेका नेतात्रयको 'गाली पुराण'

माधवकुमार नेपाललाई पनि राष्ट्रिय राजनीतिमा अस्तित्व बर्करार राख्न एमालेको ओत आवश्यक बनिसकेको छ। ओली–नेपालको सम्बन्ध सुधार्न प्रचण्ड मध्यमार्गी भूमिकामा छन्। संसद्‍मा सबैभन्दा ठूलो दल बन्ने स्वार्थका साथ ओलीले पनि नेकपा एकीकृत समाजवादीको साथ खोजिरहेका छन्।
 |  बिहीबार, पुस १४, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

बिहीबार, पुस १४, २०७९

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको दाबेदारी कसैगरी नछाडेपछि अन्ततः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेको शरणमा पुगे। एमालेसहित ७ दल र ३ स्वतन्त्र सांसदसमेतको समर्थनमा उनी प्रधानमन्त्री नियुक्त भए। नेकपा विभाजनपछि एकअर्कालाई अनेक लाञ्छना लगाएका केपी ओली र प्रचण्ड एक ठाउँमा उभिइसकेका छन्। 

triton college

माधवकुमार नेपाललाई पनि राष्ट्रिय राजनीतिमा अस्तित्व बर्करार राख्न एमालेको ओत आवश्यक बनिसकेको छ। ओली–नेपालको सम्बन्ध सुधार्न प्रचण्ड मध्यमार्गी भूमिकामा छन्। संसद्मा सबैभन्दा ठूलो दल बन्ने स्वार्थका साथ ओलीले पनि नेकपा एकीकृत समाजवादीको साथ खोजिरहेका छन्। पुनः एक ठाउँमा उभिएर सहकार्य गर्ने संघारमा पुगेका यी तीन नेताले नेकपा विभाजनपछि एकअर्कालाई लगाएका आरोप–प्रत्यारोप भने मानिसको मानसपटलमा ताजै छन््। 

पुनः सहयात्राको संघारमा रहेका ओली, प्रचण्ड र नेपालले बितेका दुई वर्षमा एकअर्कालाई गरेको ‘गाली’ सम्झौं एकैछिन।

प्रचण्डमाथि ओलीका टिप्पणी

‘केही मान्छे मैले रोकेर राख्न सकिनँ। उहाँहरुको जंगली महत्वाकांक्षालाई मैले शान्त गर्न सकिनँ। –२०७७, पुस १७

Metro Mart
vianet

‘एकपल्ट मैले दुई केटाकेटी देखेको थिएँ। एकजना बच्चाको हातमा खेलौना थियो। अर्काेले कस्तो राम्रो ! खेल्न देउ न, हेर्न देउ न भन्दै माग्यो। सोझो हिसाबले उसले दियो। दुइटैले एकछिन मिलेर खेले। एकछिन पछि फेरि अघि खेलौना माग्नेले नै लियो, त्यो बच्चा कस्तो प्रचण्डको डुप्लिकेट रहेछ।’ –२०७७ पुस १८

‘तपाईंहरु सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो। तपाईंहरु सहिद त होइन। अब तपाईंहरुलाई कार्यक्रमहरुमा स्मरण गर्नुपर्ने आवश्यक छैन। खाली तपाईंहरुले धुलो उडाउनुहुन्छ, त्यसमा हामीले पानी छर्किनुपर्छ, त्यत्ति हो।’ – २०७७ पुस १९ 

‘कार्यकारी भन्ने मैले दिएको थिएँ। तर कार्यकारी दिँदा अत्यन्तै उपद्रव मच्चाउनुभयो। मैले कार्यकारी हटाइदिएको छु।’ –२०७७ पुस २९

‘केपी ओलीका छोराछोरी छैनन्, मेरा त छोरीहरु छन्, ज्वाइँहरु छन्, हेर्नैपर्यो, बनाउनैपर्यो। छोरी भएका मान्छेले त मेयर बनाउनैपर्यो, नपुगे मतपत्र च्यात्नैपर्यो। ज्वाइँ छन् अब, घर किनिदिनै पर्यो, घडेरी जोडिदिनैपर्यो, गाडी किनिदिनैपर्यो। लड्ने बेला, ज्यान दिने बेला योद्धाहरु चाहियो, अरुका छोराछोरी चाहियो। आफ्ना छोराछोरी विदेशमा राखेर पढाउने, तर मर्ने बेला मेरा छोराछोरी छन् के गर्ने ?’ –२०७७ माघ ८

‘प्रचण्डले पार्टीलाई पनि झमेलामा हाल्नुहुन्छ, देशलाई पनि झमेलामा हाल्नुहुन्छ। उहाँ त एउटा राष्ट्रिय समस्या हो। उहाँ त एउटा राष्ट्रिय समस्या हो, आफू जहाँ गयो उहीँ विभाजन गर्ने, कसैलाई पनि मिल्न नदिने। उहाँलाई देश बनाउनु त छैन।’ –२०७८ वैशाख १३


‘कांग्रेस, प्रचण्डको कार्यकर्ता हो। माओवादी पार्टी भनेको प्रचण्ड एण्ड कम्पनी हो। त्यसले कुनै पार्टीकै रुप लिएको छैन। प्रचण्ड एण्ड कम्पनी ! युद्धमा मरेकाको सालिक, नामै छैन नि। महान् जनयुद्ध स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दै कांग्रेसको पछिपछि हिँडेको छ। जनवाद ल्याउँछु के के भनेको, कहाँबाट कहाँ पुग्यो। युद्धमा मर्नेको केही छैन, जाँड खाएर मर्नेको सालिक !’ –२०७९ साउन २८

‘यो सरकार अलच्छिना छ। स्याङ्जामा बिजुली, दाइसाइँला नाउँडाँडामा बास भनेजस्तै चितवनमा घर बनाइयो दाइसाइँला गोरखामा बास ! चितवनबाट भागेर गोरखा, जित्ने अवस्था रहेन र त्यहाँ पनि मान्छे कुटेर घाइते बनाउन थाले। प्रचण्ड परिवारको घेराभन्दा बाहिर जानै सक्दैनन्। सहिदका परिवारलाई थाहा छ प्रचण्ड को हुन्, वैशाखी टेकेर हिँडेकालाई थाहा छ, विस्तारामा छटपटाइरहेकालाई थाहा छ, गौर हत्याकाण्डका घाइतेलाई सोध्नुस् प्रचण्ड को हुन्?’ –२०७९ कात्तिक २८ 

‘प्रचण्ड कतै पनि एक ठाउँ टिक्नै सक्दैनन्। चितवनबाट भागेका प्रचण्डलाई गोरखामा कांग्रेसले भोट माग्दैछ। प्रचण्ड जन्मिए कास्कीको ढिकुरपानीमा, राजनीति गरे दिल्ली र नोयडामा, अनि चुनाव लडे रोल्पामा। त्यहाँबाट भागेर काठमाडौं आए, त्यहाँबाट पनि भागेर सिरहा पुगे। त्यहाँबाट चितवन आए। अब चितवनबाट पनि भागेर अहिले गोरखा पुगेका छन्। एक पटकभन्दा दुई पटक मुख देखाइसक्नु हुन्न, भागि जान्छन्।’ –२०७९ मंसिर १

ओलीमाथि प्रचण्डका टिप्पणी

‘म त सोझो मान्छे। राजनीतिक स्थायित्व होस् भनेरै एकता गरियो, ओलीजी त तीन वर्ष पनि नपुग्दै निरंकुशताको एजेन्टको भूमिकामा पो देखिनुभयो। ओली त श्री ३ महाराज बन्न खोज्नुभयो। उहाँ आफैंमा मै पार्टी, मै राज्य, मै देश हुँ भन्ने प्रवृत्ति हाबी भयो। त्यस्ता निरंकुश र तानाशाही प्रवृत्तिका मानिस सम्मानका पात्र हुँदैनन्, इतिहासका लागि बाधक हुन्छन् र इतिहासले हुत्याएर आफैं फाल्दछ।’ – २०७७ माघ १५

‘केपी ओलीले होइन नक्सा बनाएको, म पनि त्यही पार्टीको अध्यक्ष थिएँ। कोही भ्रममा नपर्नुहोला। मसमेत अत्यधिक बहुमतले यो नक्सा बनाउनुपर्छ भनेर लागेपछि बाध्य भएर बनाएको हो। केही समयपछि चुच्चे नक्साको विषयमा आत्मसमर्पण गरेका छन्। ओली त कायर हुन्, चुच्चे नक्सा ल्याउनै चाहँदैनन्।’ –२०७९ कात्तिक २३

‘ओलीजीले थाइल्याण्ड, इटाली, रोमबाट यति महँगा महँगा सामान ल्याएर त्यहाँ थुपारेको रहेछ हेर्नुस्। त्यो देख्दा अरु त अरु शेरबहादुर देउवाले जिब्रो टोक्नु भा’छ रे। नुहाउनका लागि ल्याएको अरबौं, करोडौंको छ। अस्ति हामीले कुराकानी गर्यौं गठबन्धनमा। यो कुरा त जनतालाई थाहा हुनुपर्यो। अरबौंको सामान विदेशबाट ल्याउने प्रधानमन्त्री र म जिन्दगीभर प्रधानमन्त्री हुन्छु भन्ने देख्ने प्रधानमन्त्रीलाई नेपाली जनताले चिन्नपर्यो र आउने चुनावमा के सजाय दिनुपर्ने हो जनतालाई नै फैसला गर्न दिनुपर्यो। यो कुरा अझ बिस्तारै आउँदैछ के के सामान भन्ने कुरा। –२०७८ कात्तिक १२ 

‘केपी प्रवृत्ति घातक छ। मलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीबाट आयो भने पनि म अस्वीकार गर्छु। अहिले नै भन्दिन्छु म। केपी ओलीले जुन प्रवृत्ति देखाउनुभयो, त्यो सबै परिस्थितिमा उनको प्रस्तावमा म प्रधानमन्त्री हुन्नँ। मेरो तर्फबाट यो गठबन्धन टुट्न हुँदैन।’ –२०७९ कात्तिक ३०

‘ओली नेपाली राजनीतिका खलनायक हुन्। हुन त पोहोर दनक दिएकै हो। बालुवाटारबाट बालकोट पुर्यायौं। तर अझै दनक पुगेको छैन।’ –२०७८ चैत २

‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनीतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो।’ –२०७८ पुस १

‘ओली अहिले पनि लाज पचाएर भाषण गर्दै हिँडेको देख्छु। मलाई त अनौठो लाग्छ। हामीले दुई तिहाइको सरकार र प्रधानमन्त्री बनाएका थियौं। उनले पार्टी र सरकार पनि बचाउन सकेनन्। अहिले के भनेर भोट माग्न गएका हुन्, उनले नेपाली जनतालाई उल्लू ठानेका छन्।’ –२०७९ कात्तिक २०

‘जतिबेला हामी लोकतान्त्रिक गणतन्त्रको प्रक्रियामा अघि बढ्दै थियौं, त्यतिबेला यो देशमा अहिलेका ठूला भन्ठान्ने केही नेताहरु नेपालमा गणतन्त्र सम्भव छैन, गणतन्त्र आउँछ भन्नु र गोरुगाडा चढेर अमेरिका जाने एउटै कुरा हो भन्थे। ती मान्छे अहिले पनि जिउँदै छन्। ती मान्छेहरु अहिले पनि गणतन्त्रविरोधी नै छन्। अहिले पनि गोरु गाडाकै सिद्धान्तमा छन्। समावेशी र समानुपातिकता, देशका दलित, महिला, आदिवासी, मधेसी, जनजाति, उत्पीडित, महिलाले मौलिक अधिकार पाएको राज्यमा प्रतिनिधित्व भएको तिनीहरुलाई पचेको छैन। तिनीहरु यो संविधान उल्ट्याउन चाहन्छन्, गणतन्त्र उल्ट्याउन चाहन्छन्।’ –२०७८ चैत ५

ओलीमाथि नेपालका टिप्पणी

‘आम जनताले भन्दैछन्– केपी ओलीलाई धिक्कार छ। पशुपतिनाथले पनि भन्दै होलान्, केपी ओलीलाई धिक्कार छ। उनको पाप बत्ती बालेर कसैले पनि धोइपखाली गर्न सक्दैनन्।’ – २०७७ माघ २७

‘ओली विकृत प्रवृत्तिकै कारण नेकपा एकता विफल भयो। हाल आएर एमाले पनि विभाजन गर्नुपर्ने अवस्था आयो। उनी कम्युनिष्टका नाममा कलंक मात्रै हुन्। आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृत्ति उनमा देखियो।’ –२०७८ भदौ ३

‘केपी ओली एक नम्बरको गफाडी, महागफाडी। पानीजहाज चल्यो, घरघरमा ग्यासको पाइपलाइन जोडियो, हावाबाट बिजुली निकालियो र रेल कुद्यो कि? यस्तै हावादारी गफ दिएर समृद्ध नेपाल र सुखी नेपाली कदापी बन्न सक्दैन। केपी ओली जस्ता गफाडीको पछाडि लागेर देश बन्दैन। हत्यारा, बलात्कारी, भ्रष्टाचारी र प्रतिगमनकारी शक्तिहरुको जमातको रुपमा रहेको ओली नेतृत्वको एमालेले मुलुकको अवस्था भताभुंग पार्यो। यी कुरा सुधारेर अघि बढ्नुपर्ने चुनौती पाँचदलीय गठबन्धनको काँधमा आएको छ।’ –२०७८ कात्तिक १६ 



‘कमरेड प्रचण्डको टाउकामा चढेर अग्लो हुने सोच रहेछ। प्रचण्डको पिठ्युँलाई सिँढीको रुपमा प्रयोग गरेर अग्लो हुने योजना रहेछ। पाार्टी एकतापछि उनले पार्टीलाई हेप्न थाले। हाम्रो अपमान भयो। दम्भी, अहंकारी, खराब प्रवृत्तिको प्रतिगमनको नाइकेलाई बालकोट पुर्यायौं। बालुवाटारबाट बालकोट पुग्दा पनि भुक्न छाडेको होइन। विचराको त्यो हालत, बालकोट पुग्नेबित्तिकै भुक्नुपर्ने। कोही डाक्टर हनुुहुन्छ भने उपचार गर्दिनुस्।’ –२०७८ पुस २४ 

‘ओली सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन्। राप्रपासँग साँठगाँठ गर्न खोजेका छन्। विदेशीहरुको दलाली गर्ने पार्टीसँग तालमेल मिलाउन खोजिरहेका छन्। किनभने उनी दक्षिणपन्थी शक्ति हुन्। दक्षिणपन्थीहरु दक्षिणपन्थी शक्तिसँग मिल्छन्।’ –२०७८ चैत ११

‘मेरो उपस्थितिले केपी ओलीको सातो गइरहेको छ नि। सातो जाओस्। केही मतलब छैन। ओलीको कब्जामा रहेको, उनको प्राइभेट कम्पनीमा रुपान्तरण भएको कथित नेकपा एमाले हाम्रो सबैभन्दा पहिलो प्रतिद्वन्द्वी पार्टी बन्न पुगेको छ। उसले हामीलाई शत्रु घोषणा गरेको छ। हाम्रो अनुहार पनि हेर्दिन भनेको छ। तर, कस्तो संयोग, नेपाली कांग्रेसको कार्यक्रममा अनुहार हेर्दै जानुपरेको छ। रमाइलो भा’छ।’ –२०७८ पुस ६ 

‘केपी ओलीको मैले बखान गर्न जरूरी छैन। हजार जिब्रो भएका नागले व्याख्या गर्न सक्दैनन्, मैले कसरी गर्न सक्छु? ओली त बयलगाडा दर्शनका प्रवर्तक हुन्, बयलगाडा चढेर अमेरिका जानु र नेपालमा राजतन्त्र फालेर गणतन्त्र ल्याउने उस्तै उस्तै कुरा भनेर गणतन्त्र विरोधी व्यक्ति। आज गणतन्त्र विरोधीसँग साँठगाँठ गर्दैछन्।’ –२०७९ वैशाख २२

‘एमालेसँग जाने कल्पना नै गर्न सकिँदैन। जुन पार्टीले हाम्रो अस्तित्व स्वीकार गर्दैन, जसले हामीलाई अपराधी घोषणा गरेको छ, जसले हामीलाई देशद्रोही भनेको छ, त्यस्ता नेताप्रति कुनै किसिमले पोजिटिभ कुराको प्रचारप्रसार कसैले पनि नगर्नुहोला। गर्नुहुन्छ भने कुरा बिग्रन्छ, म क्लियर गर्न चाहन्छु, त्यस्ता कुराहरूमा लाग्न जरुरी पनि छैन।’ –२०७९ भदौ ३

‘ओली सुध्रिनेवाला छैनन्। नयाँ तानाशाह र हिटलरको जन्म भएको जस्तो छ। होसियार रहनुहोस्। उनले बहुमत ल्याए भने देश छोडेर भाग्नुपर्छ। उनीसँग प्रतिगामी शक्तिसँग साँठगाँठ छ। इतिहासको रच्छानमा फालिएको शक्तिसँग उनको साँठगाँठ छ।’ –२०७९ कात्तिक ४ 

‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौं। टक्कर दिएपछि अहिले केपी ओली बहुलाएको, बर्बराएको, के के उटपट्याङ कुरा गरिरहेका छन्। यो त संकलन गर्नुपर्छ। आज उनले चुनावमा गरिरहेको खर्च हेर्नुस् त, अर्बौं अर्ब कहाँबाट ल्याए? उनको पार्टीमा पैसा फल्ने रुख छ? आम्दानीको श्रोत के हो? लुट र भ्रष्टाचार हो। अहिलेको निर्वाचनमा पैसाको खोलो बगाएका छन्।’ –२०७९ कात्तिक २४ 

नेपालमाथि ओलीका टिप्पणी

‘खिया लागेको दुइटा नटबोल्ट के खुस्किएको थियो, पार्टी त गतिका साथ अगाडि गयो। असली र नक्कली भन्न यो बरमझियाको बुढाको पेडा पसल हो? हामीले बनाएको हो पार्टी, हामी निवेदन हाल्न जान जरुरी छैन। भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने?’ – २०७७ पुस १८ 

‘एउटा तिल्के गोरु थियो। त्यो गोरुले अर्को गोरु देख्नै नहुने। झम्टी हाल्ने, सिंगौरी खेल्ने। भुइँ खोस्रिने, हुक्का गर्ने। अनि, त्यसको फ्वाँ–फूँ देखेर अरु डरााउने। एकदिन अलिक नटेर्ने खालको बहर गोरु परेछ, घ्याप्प जुधेको। बुढो तिल्के गोरुको सिङ भाँचिदियो। तिल्केलाई रिस त उठ्यो होला, सिङ भाँचिएकोमा। तर, जुध्न सकेन। यी तिल्केहरु पनि त्यस्तै हुन्। यिनले फाँफुँ गर्दै गर्छन्, फुक्लिएको सिङ लिएर हिँड्दै गर्छन्।’ – २०७७ माघ १२

‘जुन निर्लज्जता माधव नेपालको नेतृत्वमा प्रदर्शन भयो, यस्तो दुनियाँमा रेकर्ड छैन। बस्न मन छैन भनेर इमान देखाउँछन्, म एमालेको वरिष्ठ नेता भन्दै सही गरेर लाजमर्दो गरी जाँदैनन्।’ –२०७८ जेठ ९


‘पार्टी फुटाउने, सरकार गिराउने, प्रदेश–प्रदेशमा एमालेको सरकार बन्न नदिने, बनेकोलाई गर्न नदिने। त्यस्ता खालका कुलंघार नेताहरु यस पार्टीमा जन्मिए। लामो समयसम्म मधुकैटभले जस्तो दुःख दिएर, कमलको फूल हल्लाएर, सूर्य चिह्नलाई धक्का दिएर, हँसिया हथौडालाई धुजाधुजा पारेर, हाम्रो यात्राको बाटोमा खाल्डाखाल्डा खनेर लामो समय दुःख दिएर, अस्तिका दिन त पुर्जा लिए क्यारे दलको कस्तो बुद्धि होला !’ –२०७८ भदौ १२

‘एमाले कहीँ छ भने त्यसलाई हटाउने काममा माधव नेपाल लागेका छन्। जताततै नेपालले पार्टी सिध्याउने काम गरे। उनी त अब कुहिएको फर्सीभन्दा खत्तम भइसके। एउटा कुपात्रले कुलको नास गर्छ। उनी एमालेका कुपात्र हुन्। –२०७८ भदौ २२

‘पिलो निचोर्दैमा शरीरको वजन घट्दैन। माधव नेपाललगायत केही व्यक्तिले पार्टी छाड्दैमा एमालेलाई घाटा हुँदैन। माधव नेपाललाई कमरेड भन्न सकिन्न।’ –२०७८ भदौ २९

‘माधव नेपालजीको सम्बन्धमा त मलाई खास टिप्पणी नै गर्नुपर्ने छैन। किनकि उहाँ प्रचण्डको एउटा मामुली कार्यकर्ता हो। उहाँ कार्यकर्ता हुन जानुभएको छ। मलाई पदको लोभ छैन (माधव नेपालको लबजको नक्कल गर्दै)। म अरुजस्तो पदलोलुप होइन। तर मलाई उधारो हुँदैन। नगद चाहिन्छ। उधारो म पत्याउँदिनँ। हाताहाती चाहिन्छ। नगद के रहेछ भनेको त द्वितीय अध्यक्ष !’ –२०७७ पुस १५

‘अब माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाउँ छैन। खराब माल बाहिरिएपछि, बिकाउ माल बाहिरिएपछि एमाले एक ढिक्का हुनेछ। माधव नेपाललाई अब के देखेर जनताले भोट हाल्छन्? प्रचण्डलाई के देखेर भोट हाल्छन् ?’–२०७८ साउन ६ 

प्रकाशित: Dec 29, 2022| 20:50 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...