राजनीतिलाई सम्भावनासँगै फोहोरी खेलको रूपमा पनि परिभाषित गरिन्छ। नेपालको सन्दर्भमा दोस्रो भनाइ बढी चरितार्थ हुने गरेको पाइन्छ। नेपालमा सत्ता प्राप्तिका लागि नेताहरूले विभिन्न सम्झौता गर्ने र तोड्ने गरेको लामै श्रृङ्खला छ। एकछिनअघि एउटा अडानमा रहेका नेताहरू छणभरमै बोली फेर्न पछि पर्दैनन्। पुस १० गते पनि नेपाली राजनीतिमा केही त्यस्तै अप्रत्यासित दृष्य देखिए। नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी संयुक्त रूपमा तीनै तहको चुनावमा होमिएका थिए। चुनावपछि पनि गठबन्धनलाई नै निरन्तरता दिने भद्र सहमति थियो। तर, कांग्रेस र माओवादीभित्रको सत्ता नेतृत्व लिने तीव्र आकांक्षाले अनपेक्षित रूपमा गठबन्धन टुट्यो।
हेर्दाहेर्दै केही घन्टाकै अन्तरालमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुनः प्रधानमन्त्री बन्ने सपना टुट्यो। क्षणभरमै सत्ता राजनीतिको ‘इपिसेन्टर’ बालुवाटारबाट बालकोट सर्यो। प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्रीलगायत सबै पद प्राप्तिबाट ठूलो दल कांग्रेस टाढा रहन पर्ने अथवा प्रतिपक्षमा बस्नुपर्ने अवस्था सिर्जना भयो। लोकतान्त्रिक–बाम गठबन्धन एकाएक कसरी फुट्यो र बाम एवं उदीयमान शक्ति एकै ठाउँमा कसरी आए भन्ने प्रश्न अहिले व्याप्त छ? कांग्रेसलाई बालुवाटारमा कुनै खिचडी पाकिरहेको आशंका नभएको होइन। त्यही आशंकाकै कारण कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासपात्र विमलेन्द्र निधिलाई बालकोट नपठाएका पनि होइनन्। तर, विमलेन्द्रले पनि बालकोटमा पाकिरहेको खिचडीबारे खासै भेउ पाउन सकेनन्। त्यसैले फर्किएर आएर देउवालाई आश्वस्त पारे। प्रचण्डसँग पनि भेटे। तर, बालकोटमा पस्किनमात्रै बाँकी रहने गरी खिचडी पाकिसकेको रहेछ। देउवाका विश्वासपात्रले उक्त कुराको भेउ नपाउँदा प्रचण्डलाई अन्तिमसम्म कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि गलाउन रणनीति लिएको देखिन्छ। रणनीति फेल भयो र प्रचण्ड बालकोट हुइँकिए। आखिर भएको के रहेछ? कांग्रेस कहाँ चुक्यो र प्रचण्ड भूमिकालाई कसरी लिएको छ भनेर नेपाली समयका लागि यज्ञराज जोशीले प्रवक्ता डा. प्रकाशशरण महतसँग गरेको कुराकानीः
पछिल्लो एमाले–माओवादी समीकरणलाई कांग्रेसले कसरी लिएको छ?
नेपाली कांग्रेसले प्रचण्डको भूमिकालाई अनपेक्षित रूपमा लिएको छ। स्वाभाविक रूपमा कांग्रेस नेतृत्वको गठबन्धन अगाडि बढ्नुपर्थ्यो। कांग्रेसले ठूलो दलको हैसियतमा नेतृत्व दावी गर्नु स्वाभाविकै थियो। कांग्रेस कार्यसम्पादन समितिको बैठकले सभापति देउवाको नेतृत्वमा गठबन्धको सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो। त्यो नहुँदाको स्थितिमा पनि यही गठबन्धलाई अगाडि बढाउनेमा कांग्रेस प्रतिवद्ध थियो। त्यो हुन सकेन। अहिले बनेको गठबन्धन राजनीतिक रूपमा अपवित्र छ। राजा चाहिन्छ, राजा फर्काऊ भन्नेहरू पनि त्यही छन्। राजा चाहिन्न भन्नेहरू पनि त्यही छन्।
संघीयता चाहिन्छ भन्नेहरू त्यही छन्, संघीयता हुनुहुन्न भन्नेहरू पनि त्यही छन्। यो शुद्ध सत्ता स्वार्थका लागि बनेको गठबन्धन हो। ‘नो नट अगेन’ नारा घन्काएर युवाहरूको महत्वाकांक्षा हामी पूरा गर्छौं, पुरानो नेतृत्व सबै बढार्नुपर्छ भन्नेहरू पनि त्यही छन्। पुरानै अनुहारलाई नेतृत्व स्वीकारेर उनीहरू सरकारमा सहभागी भएका छन्। यसले उनीहरूको पनि सत्ता प्राप्तिका लागि बाहिर एउटा नारा दिएर सत्तामा पुग्ने चरित्र उदाङ्गो भएको छ। यी सबै प्रवृति एउटै ठाउँमा उभिँदा आफ्नै विरोधाभासले यो सरकारको आयु धेरै हुने देखिँदैन। किनकि यो सरकार महत्वाकांक्षीको जमात जस्तो छ।
पहिले नै चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री दिने भन्ने गठबन्धनको बीचमा कुनै सहमति भएको थियो?
थिएन, थिएन। त्यस्तो केही पनि थिएन। सल्लाह गरेर अघि बढ्ने भन्ने थियो। कांग्रेसकै नेतृत्वको गठबन्धनले चुनावमा राम्रो परिणाम ल्याएको अवस्थामा सरकारमा हाम्रो दाबी स्वाभाविकै देखिन्थ्यो। किन दाबी गर्यो? यो अनुचित भयो भन्ने खाले हल्ला फैलाएर जनतामा भ्रम फैलाउने काम भइरहेको छ।
संवैधानिक हिसावमै कुरा गर्ने हो भने कुनै दलको बहुमत नरहेको अवस्थामा ठूलो दलको हैसियतमा सत्ता दाबेदार कांग्रेस नै हो। संवादका माध्यमबाट कुनै निश्कर्ष वा सहमतिमा पुग्ने कुरा फरक थियो। त्यसका लागि कांग्रेस गठबन्धनभित्र खुला र इमानदार थियो। अनि सबैभन्दा ठूलो पार्टीले दाबी नगरे कसले गर्ने? हामीले समझदारीका आधारमा अन्तिम समय ल तपाईंले नै नेतृत्व लिनुहोस् भनेर प्रचण्डलाई भनेकै हो। तर, उहाँले वैकल्पिक रुपमा आफ्नो तयारी गरिसक्नु भएको रहेछ।
कांग्रेसको लचिलोपनलाई प्रचण्डले हतियार बनाउनुभयो, जुन राजनीतिक बेइमानी थियो। जनताको नजरमा कम्युनिस्टहरूको विचार भन्ने चीज जनतालाई भ्रममा पार्ने हतियार रहेछ भन्ने उदाहरण प्रचण्डजीले फेरि पनि पुष्टि गरिदिनुभएको छ।
दुई ध्रुव जस्ता कांग्रेस र माओवादी एक ठाउँ उभिए। कांग्रेसले कार्यकर्तालाई कारबाहीको चेतावनी दिँदै माओवादीलाई भोट हाल्न लगायो। अहिलेको प्रचण्ड भूमिकालाई कसरी लिनुभएको छ?
प्रचण्डजीले त्यसरी छोडेर जानु हुँदैन थियो। ओलीबाट मैले धेरै पाठ सिकिसकें। यही गठबन्धनलाई अघि बढाउँछु भन्दै हिँड्नुभएको थियो। म प्रधानमन्त्री भए पनि नभए पनि यही गठबन्धनलाई कायम राख्नुपर्छ, संविधानको रक्षा नै मूल विषय हो भन्नु भएको थियो। हाम्रो नारा नै ‘संविधानको रक्षा, स्थायित्व र समृद्धि’ थियो। अहिले उहाँका लागि त्यो विचार गौण भयो। जसरी पनि म बन्नुपर्छ भन्ने भाव हाबी भयो। जनताको नजरमा कम्युनिस्टहरूको विचार भन्ने चीज जनतालाई भ्रममा पार्ने हतियार रहेछ भन्ने उदाहरण प्रचण्डजीले फेरि पनि पुष्टि गरिदिनु भएको छ।
तपाईंहरूले कांग्रेसले प्रधानमन्त्री छाड्नु हुँदैन भनेर नेतृत्वलाई दबाब दिनुभएको थियो रे, हो?
होइन, त्यस्तो होइन। उहाँलाई नदिने कुरा कसैले गरेको थिएन। हाम्रो आशय ठूलो दलको हैसियतमा पहिले कांग्रेसले नेतृत्व लिएर दुई वर्षपछि उहाँलाई दिनुपर्छ भन्ने थियो। मान्दै नमानेको अवस्थामा उहाँलाई नै पहिलो चरणमा प्रधानमन्त्री दिएरै भए पनि कांग्रेस नेतृत्वकै गठबन्धनलाई अगाडि बढाउनुपर्छ भन्ने थियो। कांग्रेसले बोलेपछि बोल्यो हो। कम्युनिस्टहरूको जस्तो दोभाषे कुरा गर्न हामीलाई आउँदैन। हामीले हाम्र्रो नेतृत्वसँग कहिले पनि माओवादीलाई जनताको नेतृत्व गर्न दिनु हुँदैन भनेका थिएनौं। त्यो हाम्रो चरित्र पनि होइन। हाम्रो जस्तो मुलुकमा अहिले संविधानको सफल कार्यान्वयन गर्ने समृद्धिको यात्रालाई अगाडि बढाउनु पहिलो प्राथमिकता हो।
नेपालको जिम्मेवार पार्टी कांग्रेस नै हो। कांग्रेस फेरि सत्तामा आउँछ र जनतालाई आसा भरोसा दिलाउँछ। यो सत्तामा पुग्नका लागि भ्रमको खेती गर्नेहरूबाट विकास र समृद्धि सम्भव छैन।
कुनै एक दलको बहुमत नभएको अवस्थामा गठबन्धनमा सबैका कुरा सुनेर सम्मानजनक स्थान हुने गरी अघि बढ्नुपर्छ भन्नेमा हामी सजग थियो। हाम्रो धैर्यता, सावधानीले नै तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको हो। हामीले हिजो पनि कम्युनिस्टहरूले जस्तो एकअर्कालाई गाली गरेनौं, आज पनि गर्दैनौं। त्यो कांग्रेसको संस्कारभित्र पर्दैन। कांग्रेसमा कसैले पनि प्रचण्डलाई नेतृत्व दिनु हुँदैन भनेको थिएन। सबैले गठबन्धनलाई जोगाएर नै अगाडि बढाउनुपर्छ भनेका थियौं। प्र्रचण्डजी कसको कुन प्रलोभनमा परेर त्यसरी जानुभयो भन्नेमा हामी नै अनविज्ञ छौं। हामीले तपाईंले नै नेतृत्व गर्नुस् भन्दा पनि उहाँले छोडेर जानुभयो। त्यो गर्नु हुँदैन थियो।
प्रचण्ड बालुवाटारबाट बालकोट पुगेको केही समयमै सबै समीकरण बदलियो। के ओली–प्रचण्ड पहिले नै नेतृत्वका लागि सहमत भइसकेका थिए? कांग्रेसले त्यो चाल किन पाएन?
घटनाक्रमले त्यस्तै देखायो। त्यो नभए सबै दलहरू अचानक आधा–एक घण्टाभित्र जुटेर नयाँ समीकरण बन्नु सम्भव थिएन। पहिले नै त्यो तयारी रहेछ। हामी विश्वासमा चल्ने पार्टी हौं। गठबन्धनमा इमानदार थियौं। कहाँ के चाल भइरहेको छ र हामीले पनि चाल खेल्नुपर्छ भन्नेमा लागेनौं।
त्यसो भए प्रचण्डले चुनाव जित्नमात्र कांग्रेससँग सहकार्य गरेको परिभाषाका रूपमा पनि बुझ्न सकिन्छ?
यसलाई जसरी पनि विश्लेषण गर्न सकिन्छ। तर, मूल कुरा हामीले जुन खालको प्रतिवद्धता गरेका थियौं, त्यसबाट प्रचण्डजी बाहिर जानुभयो। उहाँ त्यसरी बाहिर जानु हुँदैन थियो। मुलुकको समृद्धिका लागि हामी उहाँलाई नेतृत्व दिनुपर्छ, गठबन्धन जोगाउनुपर्छ भन्नेमा लचिलो नै थियौं।
कांग्रेसले यो सरकारको आयु कति देख्छ?
अहिले यति आयु, त्यति आयु भनेर तोक्नुभन्दा पनि जुन विरोधाभासपूर्ण किसिमबाट यो बनेको छ, विचार कहीँ कतै मिल्दैन। सबैले आफ्नो पद र कुर्सीका लागि हानथाप गरिरहेका छन्। यो पाए बस्छु नत्र बस्दिनँ भन्ने विभिन्न दलका धारणा सार्वजनिक भइरहेका छन्। यी कुरा हेर्दा प्रचण्ड सरकारको आयु धेरै लामो होला जस्तो लाग्दैन। कति चल्छ चल्दैन, समय देखाउला।
गठबन्धन जोगाउन नसकेको भन्दै पार्टीभित्रै सभापतिको विरोध भइरहेको छ नि?
कांग्रेसभित्र दुई खाले प्रवृति छ। एउटा जे भए पनि नेतृत्वको आलोचना गर्नुपर्छ भन्ने छ। अहिले प्रचण्डलाई नै दिएको भए अरु सबै पाइन्थ्यो। सबै बिगारे भनेर आलोचना गरिरहेका छन्। प्रचण्डलाई नै दिएको भए पनि उनीहरूले किन दिएको? प्रचण्डको पुच्छर किन बनेको? हाम्रो यस्तो संख्या हुँदा पनि किन प्रचण्डलाई मानेको? भन्थे। के त्यत्तिकै लागि गठबन्धन बनेको हो भनेर झन् ठूलो आलोचना गर्थे। त्यसैले एउटा प्रवृति नेतृत्वलाई खुइल्याइरहनुपर्छ भन्ने छ। त्यो राम्रो होइन। तिनीहरूको मुख केही गरी थुन्न सकिँदैन।
अर्को, स्वाभाविक रुपमा पार्टीप्रति चिन्ता गर्ने जमात छ। पार्टीले नेतृत्व लिएको भए हुन्थ्यो, प्रचण्डलाई नेतृत्व दिएर गठबन्धन जोगिएको भए हुन्थ्यो भन्ने सकारात्मक कोणबाट समीक्षा गर्ने वर्ग पनि छ। उनीहरूको चिन्तालाई पार्टीले गम्भीरतापूर्वक लिन्छ। कतिपय पार्टीकै पदाधिकारीबाट गैरजिम्मेवार कुरा आउनुलाई हामीले अनौठो रूपमा लिएका छौं। जिम्मेवार पदमा बसेर पार्टीको पक्षमा माहौल सिर्जना गर्नुको साटो हामीलाई निमन्त्रणा आएन भन्दै विरोधाभाषपूर्ण अभिव्यक्ति दिएको सुनियो। सबैको विषयको समीक्षा पार्टीले गहन रूपमा गर्ला।