शुक्रबार, वैशाख १४, २०८१

पुरानै गुँडमा फर्केलान् माधव नेपाल?

चुनावअघि नै नेकपा एस, माओवादी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता गरेर नेपाल समाजवादी केन्द्र गठन गर्ने आपसी समझदारी भएको थियो। जसअनुसार राष्ट्रिय दल बन्न नसकेको बियोगमा रहेको नेकपा एसको टेको उक्त पार्टी बन्नेमा कार्यकर्ताहरु ढुक्क थिए।
 |  मंगलबार, पुस १२, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

मंगलबार, पुस १२, २०७९

काठमाडौं– ‘हामी टेम्पोका चालक होइनौँ, बोइङका दुई पाइलट हौँ’ को ‘सिनेम्याटिक प्रेम प्रस्ताव’बाट सुरु भएको पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीको प्रीति धेरै समय टिकेन। तेस्रो ‘एनिभर्सरी’ पनि मनाउन नपाउँदै ‘ब्रेकअप’ भएपछि दुई प्रेमीले ‘तल्लो स्तर’मा झरेर एकअर्कालाई गरेका ‘निम्छरा’ गाली त्यति थोत्रोफाटो भइसकेका छैनन्, तर दुईजनाको भर्खरै ‘प्याचअप’ भने भएको छ। यो प्याचअपले कांग्रेस उदास छ, एमाले मौलाएको छ।

triton college

माओवादीले धोका दिएपछि रनभुल्ल माधव नेपाल नेतृत्वको नेकपा एस बिचल्लीमा परेको छ। जसकारण गत मंसिर ४ मा सम्पन्न आठौँ आम निर्वाचनमा ‘थ्रेस होल्ड’ पनि कटाउन नसकी राष्ट्रिय दल बन्न नसकेको उक्त पार्टीको अस्तित्व अब के हुन्छ र अध्यक्ष नेपालले के निर्णय लिन्छन् भन्ने धेरैको चासो रहेको छ।

११ पुसमा प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण समारोहमा केपी ओली र माधव नेपाल।

२०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई नेकपा गठन भएको थियो। त्यसअघि नै ओली र प्रचण्डबीच अढाई–अढाई वर्ष सरकार चलाउने सहमति भएको थियो। दुई वर्ष पुगेपछि प्रचण्डले त्यसको तयारी सुरु गरे, तर ओली सत्ता छाड्ने मनस्थितिमा देखिएनन्। त्यहीँबाट सुरु भएको पार्टीभित्रको आन्तरिक कलहकै कारण ओलीले प्रतिनिधिसभा नै विघटन गरिदिए। तर सर्वोच्च अदालतले संसद् विघटनको निर्णय खारेज गरिदियो। यतिमात्रै होइन, उक्त घटनापछि नेकपा पनि फुट्यो र पुरानै दल पुनः अस्तित्वमा आए। त्यसको ६ महिनापछि ओलीले पुनः संसद् विघटन गरे, सर्वोच्चले देउवाको नेतृत्वमा सरकार बनाउन परमादेश दियो। त्यसपछि तत्कालीन एमाले महासचिव माधव नेपालले पार्टी फुटाए, नेकपा एकीकृत समाजवादी गठन गरी अन्य चार दलसँग मिलेर सरकारमा गए। 

नेकपामा विवाद उत्पन्न भएयता, एकअर्कालाई अपराधी करार गर्न अनेक लाञ्छना लगाएका ओली–प्रचण्ड पुनः एक ठाउँमा उभिन्छन् भनेर सम्भवतः एक वर्षअघिसम्म कसैले सोचेको थिएन। तर गत स्थानीय निर्वाचनदेखि नै एकअर्कासँग पुनः सहकार्य गर्नेगरी नेकपा माओवादी केन्द्र र नेकपा एमाले छलफलमा जुटेका थिए। उक्त छलफल गत प्रतिनिधिसभा निर्वाचनअघि मध्यम स्थानमा पुगेकोमा नवनियुक्त प्रधानमन्त्री प्रचण्ड र निवर्तमान प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच ‘प्रधानमन्त्री’ पद तानातानको अवस्थामा पुग्दा घनिभूत बन्न पुगेको थियो। राष्ट्रपति र सभामुखसमेत दिएर जसैगरी प्रधानमन्त्री रिक्त्याउने दाउमा रहेका प्रचण्डको मनोकांक्षा पूरा नभएपछि उनले अन्ततः गठबन्धन नै तोडिदिए। कांग्रेस र नेकपा एससहितको गठबन्धन तोडेर एमाले, रास्वपा, राप्रपालगायत ७ दलका १६९ सांसदको समर्थनमा उनी गत आइतबार प्रधानमन्त्री नियुक्त भए। 

corrent noodles
Metro Mart


प्रचण्ड र माधव नेपाल

चुनावअघि नै आलोपालो प्रधानमन्त्री बन्ने र पहिले प्रचण्डलाई नेतृत्व सुम्पिने सहमति कांग्रेसले गरेको थियो। जसमा कांग्रेसका अन्य नेताहरु पनि तयार भइसकेका थिए। कांग्रेस संसदीय दलको नेतामा रामचन्द्र पौडेलको समर्थन लिनेबेला देउवाले राष्ट्रपतिका लागि पौडेललाई आश्वासन दिँदै माओवादीलाई प्रधानमन्त्री छाड्न सक्ने नरम संकेत गरेका थिए। तर देउवापत्नी तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणाको हठका कारण देउवाले प्रधानमन्त्री छाड्न नमानेपछि गठबन्धन टुटेको उनीनिकट नेताहरुले बताएका छन्। यसको सिधा असर नेकपा एसमा देखिएको छ, ऊ न यता न उताको देखिएको छ। 

चुनावअघि नै नेकपा एस, माओवादी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता गरेर नेपाल समाजवादी केन्द्र गठन गर्ने आपसी समझदारी भएको थियो। जसअनुसार राष्ट्रिय दल बन्न नसकेको बियोगमा रहेको नेकपा एसको टेको उक्त पार्टी बन्नेमा कार्यकर्ताहरु ढुक्क थिए। तर पार्टी एकीकरणको त्यो सम्झौता के हुन्छ भन्ने अन्योल उत्पन्न भएको छ। राजनीतिले नयाँ मोड लिएपछि पनि समाजवादी पार्टी र माओवादीबीच एकताको छलफल जारी छ, नेकपा एसमा भने उक्त विषयमा दुई धार देखिएका छन्। ‘पार्टी एकताका सबै विषय मिलिसकेका छन्, चाँडै नै एकता हुन्छ,’ पार्टी प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भने, ‘माओवादीले एससँग पनि छलफल जारी राखेको छ।’ माओवादी नेकपा एस र समाजवादीसँग सहकार्य गरी बलियो शक्तिको रुपमा संसद्मा देखिन चाहन्छ, त्यसैले पनि माओवादी एकताको पक्षमा सकारात्मक देखिन्छ।



सोमबार मात्रै मन्त्रिपरिषद् गठन गर्नुअघि माओवादी अध्यक्ष दाहालले पनि पार्टी कार्यालय पेरिसडाँडामा नेकपा एसलाई पनि नयाँ गठबन्धनमा ल्याउने प्रयास भइरहेको बिफ्रिङ गराएका थिए। उनले उक्त विषयमा ओली पनि सकारात्मक रहेको संकेत गरेका थिए। आफ्नो पक्षमा दुई तिहाइ पुर्याउने लक्ष्य ओली–प्रचण्डको देखिन्छ। सोमबार प्रचण्डले पार्टी कार्यालयमा गराएको बिफ्रिङबारे जानकारी दिँदै पार्टी उपमहासचिव गिरिराजमणि पोखरेलले नेकपा एस गठबन्धनमा आउने सम्भावना प्रचूर रहेको बताए। उक्त विषयमा एमाले नेतृत्व पनि सकारात्मक रहेको जानकारी उनले दिए।

नेकपा एमाले नेकपा एसलाई पनि गठबन्धनमा भित्र्याउने पक्षमा छलफल भएको एमाले उपाध्यक्ष सुबास नेम्वाङले बताए। उनले सबै दललाई मिलाएर लैजानुपर्ने बताउँदै यस विषयमा छलफल जारी रहेको र नेतृत्वले निर्णय गर्ने बताए। उसो त कुनै समय ‘माधव नेपालको नाम लिएर एकछिन पछि म मुख कुल्ला गर्छुँ’ भन्ने अभिव्यक्ति दिएका ओली नेपालप्रति नरम देखिएको नेताहरु बताउँछन्। गत सोमबार नवनियुक्त प्रधानमन्त्री प्रचण्डले शपथग्रहण गर्दा ओली र नेपालबीच २० महिनादेखिको संवादहिनता पनि तोडिएको थियो। पूर्वप्रधानमन्त्रीका लागि छुट्याइएको आसनमा ओली र नेपालबीच संवाद भएको थियो। 

यता नेकपा एस पनि नयाँ गठबन्धनसँग मिलेर जाने पक्षमा लचिलो नै देखिन्छ, यद्यपि, पार्टीभित्र दुई धार भने देखिन्छन्। नाम नखुलाउने शर्तमा एसका एक नेताले भने, ‘अब बाम एकता गर्नुपर्छ भन्ने र एक्लै हिँड्नुपर्छ भन्ने दुई धार उत्पन्न भएका छन्, यद्यपि औपचारिक निर्णय पार्टीले केही गरेको छैन। उनकाअनुसार अध्यक्ष नेपाल उचित स्थान पाएको खण्डमा बाम एकता गर्ने मनस्थितिमा पुगिसकेका छन्। उसो त माओवादी एमालेसँग मिल्न गएपछि मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा भावुक देखिए पनि त्यति बिचलित देखिएनन्।

यसअघि गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बन्नुपर्छ भन्ने धारमा रहेका उनले भने, ‘कांग्रेसले पनि हामीलाई हेप्यो, माओवादीले पनि हामीलाई हेप्यो। हाम्रो शक्तिलाई अपमान गरे।’ यद्यपि, उनले गठबन्धनले घात गरे पनि चुनावमा साथ पनि पाएको स्वीकारे। देउवा र प्रचण्ड प्रधानमन्त्रीको रस्साकस्सीले नै गठबन्धन टुटेको दाबी उनले गरे। उनको अभिव्यक्तिमा राजनीतिले नाटकीय नयाँ मोड लिए पनि नेकपा एसको लागि पनि सम्भावनाको ढोका खुलै रहेको छनक झल्किन्थ्यो। 



रामकुमारी झाँक्री, जगन्नाथ खतिवडालगायतका नेताहरु बाम एकताका पक्षमा छन्। 

पार्टीसचिव रामकुमारी झाँक्रीले पनि बाम एकता र माओवादीसँग सहकार्यको सम्भावना क्लोज नै नभइसकेको बताइन्। ‘पार्टी बैठक बसेको छैन, आधिकारिक निर्णय हुन बाँकी छ, तर राजनीतिमा सबै सम्भावनाका ढोका खुला हुन्छन्, माओवादी र एमालेसँग एकताको ढोका पनि बन्द भइसकेको छैन,’ उनले नेपालसमयलाई बताइन्। 

ओली–नेपालबीचको तिक्ततापूर्ण सम्बन्ध विस्तारै सुमधुर बन्दै जाँदा पुनः यी दलहरुबीच सहकार्य हुने सम्भावना पनि देखिएको छ। यद्यपि, एमालेसँग सहकार्य गरे पनि पार्टी नै फुटाएका नेपाल पुनः पुरानै घर एमालेमा फर्किन्छन्-फर्किन्नन् भन्ने भने यकिन छैन। जसकारण नेपालको पुरानै घरमा ओत लाग्ने सम्भावना धेरै भए पनि गुँड बसाल्ने अवस्था भने अहिले नै छैन। उसो त, ओलीपछि पार्टी नेतृत्व ताकिरहेका एमालेका नेताहरु पनि नेपाललाई भित्र्याउने पक्षमा नरहेको एमालेका एक नेताले बताए।

प्रकाशित: Dec 27, 2022| 18:59 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...