विराटनगर– प्रदेश १ प्रदेशसभाको प्रथम अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले पुस १७ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्।
नवनिर्वाचित प्रदेशसभा सदस्यले सोमबार शपथग्रहण गरिसकेका छन्। नयाँ सांसदले शपथग्रहण गरेलगत्तै प्रदेश सरकारले सोमबार प्रदेशसभाको अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो। त्यही सिफारिसका आधारमा प्रदेश प्रमुख खापुङले पहिलो संसद अधिवेशन आह्वान गरेका हुन्। संविधानको धारा १८३ को उपधारा १ बमोजिम नयाँ संसदको पहिलो अधिवेशन आह्वान गरिएको छ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना सांसद छन्।