चितवन- चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन्। निकुञ्जका खोरमा ५ वटा बाघ छन्।
निकुञ्जको मुख्यालय कसरामा ३ वटा र सौराहामा २ वटा बाघ खोरमा छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सौराहामा मेघौली र कुमरोजबाट मानिसलाई आक्रमण गरेपछि उद्धार गरिएका बाघ राखिएको हो।
कसरामा बाँकेबाट २ वर्षअघि ल्याएको एउटा बाघ छ।
देवनगर र माडीबाट ल्याइएका २ बाघ छन्। ती बाघ ८ वर्षदेखि १५ वर्षसम्मका रहेका तिवारीले जानकारी दिए। यसवर्ष माडीमा १ जनालाई बाघले आक्रमण गरेपछि उद्धार गरी ल्याइएको हो। अन्य बाघ अघिल्ला वर्ष ल्याइएका हुन्।
यस आर्थिक वर्षमा हात्तीले २ र गैंडाले १ जनालाई आक्रमण गरी ज्यान लिएका छन्। निकुञ्जमा थप बाघ राख्नका लागि खोर बाँकी छैनन्। कसरामा रहेको एउटा पुरानोलाई खोर मर्मत गरिँदैछ। खोरमा बाघ थपिए विकल्पको खोजी गर्नुपर्ने हुन्छ।
तिवारीले पश्चिम चितवनको मेघौलीमा हात्तीले मान्छे मारेपछि सोही क्षेत्रमा घाइते बाघ रहेको अनुमानमा खोजी कार्य जारी राखिएको बताए। त्यहाँ बाघ भेटिएमा राख्नका लागि पुरानो खोर मर्मत हुँदैछ। बाघको संख्या निकुञ्जमा बढेसँगै समस्यामा परेका बाघ पनि बढेका हुन्।
सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघको संख्या १२८ छ। पर्सा राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या ४१ छ। देशभर बाघको संख्या ३५५ छ।
उनका अनुसार सन् २०२२ मा गरिएको एक सर्वेक्षणमा निकुञ्जभित्र १ वर्ग किलोमिटरमा ९९ दशमलव ६ वटा आहाराको घनत्व रहेको पाइएको थियो, जुन राम्रो मानिन्छ। विगतका तुलनामा आहाराको घनत्व बढेको उनको भनाइ छ।
बाघको पहिलो रोजाइँ जरायो हुने गर्छ। समग्र मृग प्रजाति बाघको आहारा हो। जरायोसँगै लगुना, रतुवा जस्ता वन्यजन्तु बाघले सिकार गर्दछ। ती वन्यजन्तु नपाएमा बाघले बँदेल समेत खाने तिवारीको भनाइ छ। घाइते र नरभक्षी वन्यजन्तु बढेपछि निकुञ्जको देवनगरस्थित वरण्डाभार वनमा व्यवस्थित ठाउँ निर्माणको तयारी गरिएको छ।
खुला चिडियाखानाका रूपमा विकास गरेर घाइते र नरभक्षी बाघ, गैंडा, हात्ती जस्ता वन्यजन्तुलाई त्यहाँ राख्ने तयारी गरिएको छ। सर्वसाधारणलाई टिकट लिएर अवलोकन गराउदा त्यसको आम्दानीले वन्यजन्तु पाल्न सकिने हुँदा सोहीअनुरूप काम अघि बढाइएको हो।
हाल सो ठाउँमा कार्यालय भवन बनाइएको छ। क्रमशः खुल्ला खोर बनाउने योजना रहेको तिवारीले बताए। निकुञ्जले अहिले खोरमा राखिएका प्रत्येक बाघलाई दैनिक ५ किलो मासु खुवाउँदै आएको छ।