शुक्रबार, पुस १८, २०८२

मोटरसाइकल र डोकोको भरमा तरकारी बेचेर जीविका चलाइरहेका धनराज

 |  आइतबार, साउन ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०८२

दाङ- मोटरसाइकलको पछाडि जोडिएका दुई वटा डोको। त्यही मोटरसाइकल र डोकोबाट चलेको छ, दाङ तुलसीपुर उपमहानगरपालिका-४ माथिल्लो हलवारी निवासी धनराज बुढाथोकीको दैनिकी।

National life

उनले मोटरसाइकलमा जोडिएका डोकोमा तरकारी लिएर पुग्छन् गाउँ-गाउँ अनि बजारसम्म। आफैँले उत्पादन गरेको तरकारी विगत १० वर्षदेखि यसरी नै बजारमा बिक्री गर्दै आएको उनले सुनाए।

‘मैले १० वर्ष भयो तरकारीखेती गरेको’ उनले भने, ‘यही तरकारी मोटरसाइकलको पडाडि जोडिएको डोकोमा लगेर बजार बिक्री गर्छु, यसले नै घरखर्च धानेको छ।’

हरेक दिन बिहान ५ बजे उठेर उनले काँक्रा र बोडी गाउँगाउँमा लगेर बेच्छन्। धनराज तरकारी बिक्री गर्न खाद्रे, बनहरी, तल्लो ग्वारखोला, मथिल्लो ग्वारखोला, कपडादेवी, मोतिपुर, राजापुरसम्म पुग्छन्। उनको दैनिकी यसरी नै बितिरहेको छ।

अहिले दैनिक पाँच क्वीन्टल तरकारी र काक्रा बिक्री गर्ने गरेको उनको भनाइ छ। ‘विगतका वर्षमा दैनिक सात/आठ क्वीन्टलसम्म बिक्री गर्थेँ’ उनले भने, ‘यसवर्ष त्यति बजार पाएको छैन, त्यही पाँच क्वीन्टलसम्म बिक्री गर्ने गरेको छु।’

Laxmi sunrise bank

उनले बोडीलाई ५० रुपैयाँ किलोमा बिक्री गर्दै आएका छन् भने काँक्रा एक सय रुपैयाँमा साढे दुई केजी बिक्री गर्छन्। बोडी र काँक्राको सिजन असारदेखि साउनको अन्तिमसम्म रहन्छ। बोडी एक सिजनमा दुई लाख रुपैयाँसम्मको कारोबार हुन्छ भने काँक्रा पाँच लाख रुपैयाँसम्म कारोबार हुन्छ।

यसमा खर्च कटाएर चारदेखि पाँच लाख रुपैयाँसम्म एक सिजनमा आम्दानी हुने गरेको उनले बताए। अब बोडी र काक्राको सिजन सकिनै थालेको भन्दै टमाटरखेती गर्ने तयारी गरेको उनले बताए।

बैशाखमा रोपिएका काँक्राले असार र साउनमा आम्दानी दिने र साउनमा रोपिएको टमाटरले कात्तिकदेखि चैतसम्म आम्दानी दिन्छन्। यसरी वर्षमा दुई सिजनमा तरकारी खेती गरेर आम्दानी लिने गरेको उनकाे भनाइ छ। रासस 

प्रकाशित: Jul 27, 2025| 06:01 आइतबार, साउन ११, २०८२
प्रतिक्रिया दिनुहोस्