काठमाडौं- किर्तीपुरको टियू क्रिकेट मैदानमा जारी पहिलो संस्करणको टि-२० क्रिकेटमा लुम्बीनी अल स्टार्सले लगातार तेस्रो जित दर्ता गराएको छ। आज भएको पहिलो खेलमा लुम्बीनीले पोखरा एभन्जर्सलाई तीन विकेटले पराजित गरेको हो।
जितका लागी पोखराले दिएको १ सय ३४ रनको मध्यम लक्ष्य लुम्बिनीले अन्तिम ओभरको अन्तिम बलमा ७ विकेट गुमाउदै पूरा गर्यो। त्यसका लागि कुशल भुर्तेलले ३९ रन, भान शाल्कविकले अविजित ३१ रन बनाए। त्यस्तै उन्मुक्त चन्दले २२ रन बनाउदा अनिल शाहले १९ रन बनाए। उता पोखराका लागी विपिन खत्री र कुशल मल्लले समान २/२ विकेट लिए। त्यस्तै प्रतिश जिशी,अभिमन्यु मिथुन र जाहिर खानले समान १/१ विकेट लिए।
यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको पोखराले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो। त्यसका लागी कुशल मल्लले ३१ बलमा सर्वाधिक ६१ रन बनाए।
यो जितसंगै लुम्बीनी तीन खेलमा ६ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा कायमै रहेको छ। उता लगातार तेस्रो हार व्यहोरेको पोखरा जितविहिन हुँदै तालिकाको पुच्छरमा रहेको छ।